१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विदेशबाट फर्केकालाई १० लाख कर्जा लिन आह्वान


९ मंसिर २०७५, आइतबार  

0
Shares

farkiyeka-kamdar

काठमाडौं ९, मङ्सिर / सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म कर्जा लिन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गराउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म सरल कर्जा लिने सरकारी अभियानमा सहभागी हुन यस्तो आह्वान गरेको हो ।जसका लागि अहिले बोर्डले सूचना जारी गरी स्वदेशमै स्वरोजगार हुन इच्छुक कामदारलाई आगामी पुस मसान्तभित्र तोकिएको ढाँचामा फाराम भरी निवेदनसहित बोर्डको सचिवालयमा सूचीकरण हुन आह्वान गरेको जनाएको छ । सरकारले अभियानमा सहभागी हुनेलाई जम्मा दुई प्रतिशत ब्याजमा सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

बोर्डले आगामी पुस मसान्तसम्म निवेदन पेस गर्न वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई आग्रहसमेत गरेको छ । बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले सरकारले चालू आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा व्यवस्था गरेअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न खोज्नेहरूलाई लक्षित गरी सरकारले आगामी पाँच वर्षका लागि यस्तो सहुलियत कर्जा उपलब्ध गराउन लागेको बताए । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वीकृत भई कार्यान्वयनमा आएसँगै नेपाल राष्ट्र बैंकले गत ११ कात्तिकमा बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको जानकारी गराउँदै उनले सोहीअनुसार सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई यस्तो कर्जा उपलब्ध गराउन लागेको बताए ।

बोर्डका प्रवक्ता सुवेदीका अनुसार यस्तो कर्जामा सहभागी हुनेहरूले आफ्नो व्यवसाय परियोजना धितो राखेर कामदारले ऋण पाउनेछन् । कम्तीमा पनि ६ महिना विदेश बसेको र स्वदेश फर्किएको तीन वर्षभित्र आफूलाई आवश्यक सहुलियत कर्जा लिई सक्नुपर्नेछ । विदेशबाट फर्किएकाहरूले आफूले सिकेको ज्ञान र सिपका आधारमा फारम भरी निवेदन पेस गर्नु पर्नेछ । उनले उद्यमशीलता बढाउन, आत्मनिर्भर अर्थतन्त्र बनाउन र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजारीको आकर्षण बढाउन सरकारले बढीमा १० लाखसम्म सहुलियत कर्जा दिन लागेको बताए । राजधानी दैनिकले खबर लेखेकाे छ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  २ : ४६ बजे