११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन


१९ आश्विन २०७५, शुक्रबार  

0
Shares

Jut-mills

विराटनगर १९, असोज १९ / ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ । यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ ।

दोस्रो चरणमा जुटको बोरा र तेस्रो चरणमा जुटको कपडा उत्पादन गर्ने उद्देश्यका साथ पुनः एक पटक जुट मिल सञ्चालन गरिएको हो । मिलका वेस्टेज क्वालिटी कन्ट्रोल इञ्चार्ज सुचेन्द्र झाले १३ दिनमा ४ टन सुतली उत्पादन भएको र २० टन जुट मिलमा ‘प्रोसेसिङ्ग’मा रहेको बताए ।

‘‘धेरै दिनदेखि बन्द रहेको मिल मर्मतपछि राम्ररी सञ्चालन हुन अझै केही समय लाग्छ । भदौ २६ गतेबाट परीक्षणका लागि सञ्चालन गरिएको मिल शनिबारदेखि दैनिक डेढ टन सम्म उत्पादनको लक्ष्यका साथ सञ्चालन भएको छ,’’ मिलका अध्यक्ष बसन्त बनले भने ।

उनका अनुसार दैनिक ६ टन जुटको सुतली उत्पादनका लागि आवश्यक जनशक्ति लगायतको लागत अनुमान तयार गरिएको छ । यसअघि मिल सञ्चालनका लागि खरिद गरिएको ६० टन जुटबाट अहिले मिल सञ्चालन गरिएको झाले बताए । मिलमा अब २० टन जति जुट मात्रै बाँकी रहेको उनको भनाइ छ ।

‘‘मिलभित्र मात्रै अहिले ५४ जना प्राबिधिक र मजदुरले काम गरिरहेका छन् । दैनिक ६ टन उत्पादनका लागि थप २ सय जना मजदुर र प्राबिधिक आवश्यक हुन्छ,’’ उनले भने, ‘‘जुट ब्याचिङ्ग आयल १ सय लिटर, पी फोर्टी ७ सय ५० ग्राम, बबिन क्यारियर २ हजार ४ सय र स्पेयर पार्टस आवश्यक हुन्छ ।’’

मिल सञ्चालनका लागि पूँजी आवश्यक हुन्छ र त्यो लगानी गर्ने बेला भइसकेको झाको भनाइ थियो । ‘‘मिलमा सुतली उत्पादनका लागि मेशिनहरु राम्रो अबस्थामा आइसके, त्यसैले अब धमाधम लगानी गरेर जुट, जुट ब्याचिङ्ग आयल, बबिन क्यारियर र स्पेयर पार्टस ल्याउनु पर्छ,’’ उनले भने, ‘‘अहिले चलिरहेको अबस्थामा मिल चल्न सक्दैन तर लगानी भयो भने तत्काल ५ हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँछन् ।’’

मिलका सुपरभाइजर मुरारीप्रसाद लुइँटेलले मिलमा पुरानो र नयाँ गरी दुई वटा संरचना रहेकोमा पुरानो मिल सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘‘ पुरानो मिलमा रहेका सबै मेशिन दैनिक २४ घण्टा सञ्चालन भए १८ टन उत्पादन हुन्छ । तर, अहिले ३ वटा स्प्रिङ्ग मेसिन दैनिक ८ घण्टा मात्रै चलिरहेका छन् । एउटा स्प्रिङ्गले २४ घण्टामा १ टन उत्पादन हुन्छ । तर, अहिले ३ वटा ८ घण्टा चलाएर १ टन उत्पादन थालेका हौं ।’’

मिल सञ्चालक समितिका अध्यक्ष बसन्त बनले धेरै दिनदेखि बन्द रहेको मिल सञ्चालनमा देखिएको चौतर्फी समस्यालाई एक– एक गरेर समाधान गर्दै अहिले सुतली भए पनि उत्पादन थालिएको बताए । ‘अहिले मेशिनलाई राम्रो अबस्थामा ल्याउनका लागि मात्रै पालैपालो मेशिनहरु चलाएर दैनिक १ टन सुतली उत्पादन भइरहेको छ ।’’

उनले भने, ‘‘अबको दुई हप्ताभित्रमा मिलको उत्पादन ६ टन पुर्याउने व्यवस्थापनमा लागेका छौं ।’’ बनले जुट, बबिन क्यारियर, स्पेयर पार्टस, जुट ब्याचिङ्ग आयल र पी फार्टी सप्लायर्ससँग छलफल भएको र उनीहरुले तत्काल सम्पूर्ण सामग्री नियमति आपूर्ति थाल्ने दावी गरे । उनीहरुलाई तत्काल आफैले केही भुक्तानी दिने र उत्पादन भएको सुतली बिक्री गरेर बाँकी भुक्तानी गर्दै जाने योजना रहेको उनले बताए ।

पहिलो चरणमा पुरानो मिललाई पूर्ण क्षमतामा सञ्चालन गरेर दैनिक १८ टन सुतली उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘‘अहिले पहिलो चरणमा सुतली उत्पादनसँगै जुट मिलको जीर्ण भवनलाई मर्मत र बोरा उत्पादन गर्ने मेशिनको मर्मत गर्दै राम्रो अबस्थामा ल्याउने काम मात्रै गर्छौ’’ उनले भने, ‘‘दोस्रो चरणमा जुटको बोरा उत्पादन थाल्छौं र बोरा उत्पादन सुरु भएपछि नयाँ मिललाई जुटको कपडा उत्पादन गर्ने गरी ‘अपग्रेडिङ्ग’ गर्छौ । तेस्रो चरणमा भने कपडा उत्पादन गर्ने लक्ष्य छ ।’’

बनले यी तीन चरणको काम पुरा गर्न सबैको सहयोग आवश्यक भएको बताए । ‘‘म एकलैले गरेर जुट मिल चल्दैन र यसमा सबैको सहयोग आवश्यक छ,’’ उनले भने, ‘‘मिलमा बाँकी रहेको सम्पूर्ण मेशिन चल्ने प्राबिधिक अडिटले देखाइसकेकोले मिल सञ्चालनमा शंका गर्ने ठाउँ छैन ।’’ उनले मिल सञ्चालनमा सरकारी अनुदान नलिने दाबी गरे । मिलमा आवश्यक कच्चा पदार्थलगायतका मेशिनरी पार्टस उत्पादन तथा बिक्री गरेर र कामदारको तलब, भौतिक संरचना र मेशिनहरुको मर्मत आन्तरिक स्रोत जुटाएर व्यवस्थापन गर्ने बनको दावी छ ।

यसअघि मिल सञ्चालनको नाममा पहिलाका सञ्चालक समितिहरुले सरकारबाट ऋण सहयोग ल्याउँदै खाएको इतिहास छ । जुन समितिले ऋण ल्याउन सकेन त्यसले मिलमा भएको बहुमूल्य मेशिन, पार्टस, सालको काठ, गोदामलगायतको संरचना बिक्री गरेर हिनामिना गरेको पाइएको पूर्व कर्मचारीहरु बताउँछन् । हालसम्ममा मिलको १ अर्ब भन्दा बढीको सम्पति हिनामिना भइसकेको उनीहरुको भनाइ रहेको छ । उनीहरुले सुतली उत्पादन गरेर विराटनगर जुट मिल चल्न नसक्ने बताए ।

जुट मिलका जानकार स्थानीय जोगिन्द्र साहले मिल नियमित चल्नेमा शंका व्यक्त गरे । ‘‘मिल सञ्चालक समितिमा नै विवाद रहेकोले पाटन उच्च अदालतमा अहिले मुद्दा चलिरहेको छ,’’ उनले भने । यसका साथै मिल सञ्चालनका लागि ८–९ करोड रुपैया लगानी तत्काल आवश्यक भएपनि लगानीको स्रोत नभएको साहले बताए ।

मिलमा कार्यरत कर्मचारी र मजदुरहरुले पनि मिल सञ्चालनको प्रमुख कारक पूंँजी लगानीलाई नै मानेका छन् । उनीहरुले मिलमा तत्काल लगानीको आवश्यकता रहेको तर अध्यक्ष बनले लगानी नगरिरहेको जनाए ।
मिलको ७ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष बनको पक्षमा डा. इन्दिरा पराजुली र देबचन्द्र चौधरी छन् भने विपक्षमा मुकुन्द नेपाल र फूलकुमार लालबानी छन् । दुबै समूहको छुट्टाछुट्टै बैठक बस्न थालेपछि आधिकारिकताको विवाद पाटन उच्च अदालतमा पुगेको छ । सरकारद्वारा मनोनित किशोर शाहीको पदावधी समाप्त भएकोले एक सदस्य पद रिक्त रहेको छ ।

मिलमा हालसम्ममा ५ अर्ब भन्दा बढी रुपैयाको दायित्व तिर्न बाकी रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६–०६७ सम्म दिएको १ अर्ब ९ करोड ६३ लाख १३ हजार ९ सय ८१ रुपैया सहुलियत ऋण ब्याज सहित अहिले १ अर्ब ७२ करोड १३ लाख ६१ ह्जार १ सय ५७ रुपैया पुगेको छ । मिल आधुनिकीकरणका लागि एसियाली विकास बैंकले दिएको १ करोड ४८ लाख ४० हजार ऋण बढेर ५ करोड ७० लाख ३९ हजार ५ सय १७ रुपैया पुगेको छ । – बारखरी

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  ८ : ४५ बजे