३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अर्बको सम्पति दान दिएका डोमालाल राजवंशीका सन्तान सुकुम्बासी


६ माघ २०७४, शनिबार  

0
Shares

DANBIR-KA-SANTAN

बिर्तामोड ६, माघ / बिर्ताबजारबाट दक्षिण–पश्चिममा डोमालाल राजवंशीले देवीगुठीलाई दान दिएको जग्गाको मूल्य अहिले झण्डै एक अर्ब पुगेको छ । तर, उनै डोमालालका सन्तान भने सुकुम्बासी बनेका छन् ।
डोमालालका दुई छोरा गजेन्द्रसिंह, देवेन्द्रसिंह र छोरी ढापु राजवंशीमध्ये देवेन्द्र पहिल्यै देखि बेपत्ता छन् । गजेन्द्रको पनि मृत्यु भइसकेको छ । गजेन्द्रका दुई छोरा छविलाल र भीमबहादुर हजुरबुबाले गुठीलाई दान दिएकै जग्गामा सुकुम्बासीका रुपमा फुसका छाप्रा बनाएर बसेका छन् । डोमालालका नातिले ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका छन् ।
छविलाल पाइडल रिक्सा कुदाउँछन् । कहिलेकाहीँ साइडमा मजदुरी समेत गर्छन् । भीमबहादुर पनि ज्याला मजदुरी नै गरेर परिवारको गर्जो टार्छन् । ‘यो सबै हजुरबुबाले गुठीलाई दिएको जग्गा भन्छन्’, माघको चिसोमा आंगभरि कपडासमेत नलगाई पाइडल रिक्सा कुदाएर घर पुग्दै गरेका ४० वर्षीय छविलालले बुधबार साँझ आफ्नै झुपडीबाट दायाँबायाँको जग्गा देखाउँदै भने, ‘यो सबै हजुर बुबाले दान दिएको भन्छन् तर हामी सुकुम्बासी बनेका छौँ ।’
फुपू ढापुसहित आफू र दाजुलाई तत्कालीन अनारमनी गाविसले १० कठ्ठा जग्गा देखाइदिएको र अहिलेसम्म सोही स्थानमा बस्दै आएको उनले सुनाए । आफूहरु बसोबास गरेको ठाउँको धनीपूर्जा समेत नभएको बताउँदै उनले भने, ‘अहिले दुई लाख रुपैयाँ धुरले यहाँको जग्गा बिक्री हुन थाल्यो । अब त हामीलाई धनीपूर्जा पाउने आस पनि हराइसक्यो ।’
भावि पुस्ता पनि सुकुम्बासी हुनेमा उनले दुखेसो गरे । ‘हामीले त दुःख पायौँ पायौँ हाम्रा छोरा नातिले पनि सधैँ दुःख नै पाउने भए, बाजेले दान गरे पनि सन्तानले सुकुम्बासी बन्नुप¥यो’, छविलालले भने ।
डोमालालले देवीगुठीलाई दिएको जग्गा २०५४ सालमा राजगुठीको नाममा लाने निर्णय भयो । त्योसँगै भूमाफियाले गुठीको जग्गा हडप्ने योजना बनाए । अहिले गुठीको नाममा रहेको जग्गा व्यक्तिको नाममा लगिएको आफूहरुले पनि सुनेको भन्दै छविलालले आक्रोश पोखे । ‘हाम्रा हजुरबुबाले गुठीलाई दिएको जग्गा अहिले केही मान्छेहरुले आफ्नो नाममा पारेका छन् भन्ने सुनेका छौँ’, उनले भने, ‘हामी सुकुम्बासी छौँ, हाम्रा पूर्खाले दिएको जग्गामा अरुले रजाइँ गर्न खोज्दै छन् ।’
डोमालालले गुठीलाई दिएको जग्गामध्ये करिब दुई बिघामा रंगशाला निर्माण गरिएको छ । जसको नाम नै डोमालाल राजवंशी रंगशाला राखिएको छ । अरु केही जग्गामा सुकुम्बासीले बसोबास गरेका छन् भने केही जग्गा खाली छ । हजुरबुबाको नाममा निर्माण भएको रंगशाला चर्चित बन्दै गएकोमा खुसी व्यक्त गर्दै छविलालले भने, ‘रंगशाला राम्रो बनोस् तर डोमालालका सन्तान हामी विस्थापित भएका छौँ, हाम्रो बारेमा पनि सोचियोस् ।’
रंगशालामा ठूल्ठूला प्रतियोगिता भएको स्मरण गर्दै उनले भने, ‘फुटबल भएको बेला एक पटक माला लगाइदिए, त्यो बाहेक केही थाहा छैन ।’ छविलालका चार जना छोराछोरी छन् । उनकी श्रीमती काजल राजवंशी पनि साइडमा मजदुरी गर्छिन् । ज्याला मजदुरी गरेर छोराछोरीलाई स्कूलसम्म पठाउने गरेको बताउँदै काजलले बाउबाजेको सम्पत्ति हुँदाहुँदै सुकुम्बासी हुनुपर्दा दुःख लागेको बताइन् । उनले अरु केही नभए पनि आफू बसेको दुई कठ्ठा जमिनको धनीपूर्जा दिनुपर्ने माग गरिन् ।

सजिलो खबरबाट

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार  ४ : ११ बजे