३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आदिवासी नेतृत्वहरु राप्रपाबाट किनारा लाग्दै


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

tek narayan
झापा / झापा क्षेत्र नं ३ का चिरप्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेन दुवैजना यतिखेर आदिवासी समुदायको मत तान्न लागिपरेका छन् । बहुसंख्यक ती समुदायले सहयोग नगरे चुनाव जित्न गाह«ो पर्ने बुझेर कांगे्रसका उम्मेद्वार सिटौला र बाम गठबन्धनका तर्फबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङदेन आदिवासी समुदायलाई फकाउन ब्यस्त छन् ।
झापाको ३ नम्बर क्षेत्र छोड्न नमान्ने दुवैजनाले आदिवासीहरुलाई भोट ब्यांक बनाएर राजनीति गर्दै आएका छन् । बिगतमा जसले जे भन्यो त्यही मानेका सोझासीधा आदिवासीहरु यसपटक भने मन नपर्ने दल र तिनका उम्मेद्वारको खुलेर बिरोध गर्न थालेका छन् । खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसका उम्मेद्वार लिङदेनका कारण धेरै आदिवासीहरु सकिएपछि उनीहरु त्यसको बिरुद्धमा उत्रिएका हुन् । पञ्चायतकालमा राप्रपामा आदिवासी राजबंशीहरुकै बर्चस्व रहेको थियो ।स्वर्गीय गोपालचन्द्रसिंह राजबंशी, टेकनारायण राजबंशी लगायतका हस्तीहरुले राप्रपा स्थापना गरेका थिए ।झापामा पार्टी चलाउने उनीहरु नै थिए । तर अहिले एकपछि अर्को गरी आदिवासी नेतृत्वहरु राप्रपाबाट किनारा लाग्दै गएका छन् । राप्रपाको जिम्मेवार तहमा बसेर पार्टीलाई महत्वपूर्ण योगदान दिने टेकनारायण राजबंशी,रोहित राजबंशी, तुलाराम राजबंशी जस्ता आदिवासी हस्तीहरु यतिबेला राप्रपाबाट अलग छन् । समान कथा ब्यथा भएका सबैको एउटै बुझाई छ— राप्रपा अब हाम्रो पार्टी रहेन ।लिङदेनले नै आफूहरुको राजनीति समाप्त पारिदिएको उनीहरुको आरोप छ ।
युवा संगठनमा लागेर २०२८ सालदेखि राजसंस्था र हिन्दु राज्यको पक्षमा राजनीति थालेका संस्थापक सदस्य टेकनारायण यतिबेला राप्रपा भन्दा बाहिर छन् । २०४४ सालमा उनी जिल्ला पञ्चायतको सभापति र त्यसपछि सहायक श्रम तथा यातायात मन्त्री बनेका थिए ।राप्रपाको केन्द्रीय समितिमा रहेर काम गरेका टेकनारायण पार्टी छोडेर यतिबेला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीमा लागेका छन् ।शाहीकालको अन्त्य भएर लोकतन्त्र बहाली पश्चातको पहिलो संबिधानसभा निर्वाचनको कठिन घडीमा उनले पार्टीको उम्मेद्वार बनेर चुनाव लडेका थिए ।
सत्ता र कुर्सीको लागि तत्कालीन राप्रपाले हिन्दु राज्य र राजसंस्थाको एजेण्डा छोडेपछि आफूले पार्टी परित्याग गरेको टेकनारायणले बताए ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खोल्न महत्वपूर्ण योगदान दिएका टेकनारायणले आदिवासी जनजाति समुदायको भोटको आश गर्ने लिङदेनले त्यो समुदायको लागि कुनै पनि काम नगरेको दावी गरे । उनले भने— आदिवासी जनजाति समुदायको लागि काम गर्नु परको कुरा लिङदेनले उनीहरुको पक्षमा बोलेको पनि छैन । लिङदेन आदिवासी जनजातिको हित बिपरित आरक्षण बिरोधी भएको उनको भनाई छ ।
त्यस्तै राप्रपा स्थापना गर्ने काममा रोहित राजबंशी र उनका पिता गोपालचन्द्रसिंह राजबंशीको पनि ठूलो हात थियो ।राप्रपाका संस्थापक गोपालचन्द्र पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको उपाध्यक्ष , सहायक कृषि मन्त्री र सहायक उद्योग मन्त्री बनेका थिए । गोपालचन्द्रको निधनपछि उनका छोरा रोहितले बिडो सम्हाले ।राप्रपाको संस्थापक सभापति भएर उनले झापामा पार्टी संगठन बिस्तार गरेका थिए ।पार्टीलाई सुदृढ बनाउँदै उनी तत्कालीन महेशपुर गाविसको अध्यक्ष र जिल्ला विकास समितिको उपसभापति बनेका थिए ।राजबंशी समुदायप्रतिको ब्यबहार राम्रो नभएकाले आफैले खोलेको पार्टी छोड्नु प¥यो—उनले गुनासो गरे । लिङदेनले दोस्रो संबिधानसभाको निर्बाचनमा समानुपातिक सिट पहिला आफूलाई दिन्छु भनेर पछि अरुलाई बिक्री गरेको उनको आरोप छ ।राप्रपा छोडेर अहिले राप्रपा प्रजातान्त्रिकमा लागेका रोहितले मान्छे चिनेर भोट हाल्न आफ्नो समुदायलाई आव्हान गरेका छन् ।
त्यसैगरी राप्रपाको जिल्ला सचिव चलाएका महेशपुरकै तुलाराम राजबंशी पनि पार्टी छोडेर नेपाली कांगे्रसमा लागेका छन् ।आदिवासी जनजाति समुदायले उठाउँदै आएको संघीयता,समावेशीता र समानुपातिकको मागलाई कुण्ठित पारेपछि आफूले राप्रपा छोडेको तुलारामले बताए ।प्रजातान्त्रिक पद्धति बिपरित राप्रपामा ब्यक्तिवादी प्रवृति हावी भएको उनको आरोप छ । तुलाराम २०६४ सालमा सद्भावना पार्टी छोडेर राप्रपामा लागेका थिए ।शुरुमा राप्रपा वडा कमिटीको सभापति,महेशपुरको गाउँ सभापति र त्यसपछि उनी जिल्ला सचिव बनेका थिए ।राजबंशी समाज बिकास समितिका संस्थापक सचिव समेत रहेका तुलारामले राप्रपामा राजबंशीहरुलाई प्रयोग मात्रै गर्ने गरिएको दावी गर्दै सोचेर भोट हाल्न आफ्नो समुदायलाई आव्हान गरे । जाति र समुदायको हित नहुने देखेर केही महिना अघि मात्र संचारकर्मी इन्द्रसिंह राजबंशीले जिल्ला प्रवक्ताको पद परित्याग गरेका थिए ।त्यस्तै नारायण राजबंशीले पनि क्षेत्रीय अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा स्वीकृत नगरी थामथुम गरेर राखिएको एक कार्यकर्ताले बताए ।
भmापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी आदिवासीहरुको बसोबास क्षेत्र नं ३ मा रहेको छ । त्यहाँ ५७ हजार १६ पुरुष र ५७ हजार ५ सय ७० महिला गरी १ लाख १४ हजार ५ सय ८६ जना मतदाता रहेका छन् ।त्यसमध्ये ४० प्रतिशत आदिवासीहरु रहेको अनुमान गरिएको छ ।

rohit + tularam

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ९ : ४३ बजे