१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१ कित्ता सेयर किनबेच सम्भव, पहिलो परिक्षण सफल


२२ पुस २०७३, शुक्रबार  

0
Shares

काठमाडौं , २२ पुस / नियमित (आइतबार देखि बिहीबार हुने) कारोबारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने तयारी गरिरहेको नेप्सेले पहिलो परिक्षण सफल भएको बताएको छ ।

‘हामीले गरेको पहिलो परिक्षणले यसरी कारोबार गर्न सम्भव भएको देखाएको छ, हामीले सिमित किनबेच निर्देशन मात्र परिक्षण गरिएकोले किनबेच व्यापक हुँदा कसरी काम गर्छ भन्ने अन्तिम परिक्षण बाँकी छ,’ नेप्सेका एक अधिकारीले बताए ।

वाइसीओ प्रालिलाई एक महिनाभित्रमा यस्तो व्यवस्था गर्ने र त्यसको परिक्षण पश्चात् यसलाई कार्यान्वयनमा ल्याउन मंसिर अन्त्यमा नेप्सेले निर्देशन दिएको थियो । हालसम्म दोस्रो बजारमा एक पटकमा न्युनत्तम १० कित्ता सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था छ । त्यस्तै १ देखि ९ कित्तासम्मको सेयर किनबेच अडलट कारोबारको रुपमा शुक्रवार मात्र गर्न सकिन्छ । प्रायः सेयर स्वामित्व हस्तान्तरणमा नमिलेका यस्ता कारोबार मात्र यो दिन हुने गरेको छ । तर अब लगानीकर्ताले नियमित कारोबारमा १ कित्ता सेयरको समेत माग गरेर ब्रोकर कँहा किनबेच आदेश दिन सक्ने छन् ।

पहिलेजस्तो कागजी रुपमा रहेको सेयर कारोबार हुन बन्द भएको र डिम्याट सेयर (विद्युतीय अभिलेख/अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै यस्तो व्यवस्था गरिएको हो । अहिले बजारमा सबैभन्दा महंगो गुनिलिभर नेपालको शेयर मूल्य ३० हजारमाथी रहेको छ । यो कम्पनीको १० कित्ता शेयर किन्न पनि कम्तिमा लगानीकर्तासँग ३ लाख रुपैयाँ हुनै पर्दथ्यो । अब यो व्यवस्थापछि लगानीकर्ताले ३० हजार रुपैयाँ बोकेर गएरमा पनि सेयर पाउन सक्ने अवस्था बन्ने छ ।

हुनतः अहिले बजारमा १०/१० कित्ता सेयर कारोबार गरेर पनि चलखेल गर्ने परिपाटी छ । यो सीमाभन्दा कम कित्ता शेयर कारोबार गर्ने सुविधाले बजार थप अस्थिर हुन सक्ने अनुमान पनि गरिएको छ । तर नेप्सेले यसमा कडाई गर्ने र मूल्य प्रभावित नहुने गरि यस्तो व्यवस्था मिलाइने जानकारी दिएको छ ।
अहिले सामुहिक लगानी कोषका इकाइ कारोबार गर्दा पनि न्युनतम १ सय इकाइ हुनै पर्ने प्रावधान छ । यसमा नेप्सेले भने हालसम्म सीमा घटाउने वा नघटाउनेमा कुनै सोच बनाएको देखिदैन ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ९ : ५४ बजे