१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संविधान संशोधन गर्ने तयारी


२५ भाद्र २०७३, शनिबार  

0
Shares

गौरीगंज २५, भाद्र / कांग्रेस र माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणअघि नै मधेसवादी दलसँग सहमति गरी संविधान संशोधन पक्रिया अघि बढाउने गृहकार्य थालेका छन्।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग अनौपचारिक वार्ता गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएर मात्रै दिल्ली भ्रमण हुने आश्वासन दिलाएका हुन्। उनीहरूले चार विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताएका हुन्।

बैठकपछि तमलोपा अध्यक्ष ठाकुरले नागरिकता, भाषा, राष्ट्रिय सभा र सीमांकनबारे हुन लागेका संविधान संशोधन प्रस्तावबारे सत्तारूढ दलले आफूहरूलाई जानकारी दिएको बताए। ‘सीमांकनबारे विगतकै राजनीतिक संयन्त्रमार्फत अघि बढ्ने वा नवलपरासीदेखि बर्दियासम्मको प्रदेश निर्माण वा अरू कुनै विकल्पबारे खुला रहने कुरा गर्नुभयो,’ ठाकुरले भने, ‘यसबारे पर्सि फेरि बैठक गरी सहमतिको कोसिस गर्ने उहाँहरूको भनाइ छ। हामीले छलफल गरौंला भनेका छौं।’

यसअघि ११ बुँदे मागपत्र पेस गरेको मोर्चाले सीमांकन मुद्दालाई बटमलाइन मानेको छ। स्रोतका अनुसार राष्ट्रियसभा सदस्य जनसंख्याको आधारमा निर्वाचित गर्नेगरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारूढ दलको तयारी छ। मोर्चाले व्यवस्थापिकामा पनि सोही अनुसार प्रतिनिधित्व हुने माग गरिरहेका बेला बीचको बाटो खोजिएको हो। प्रतिपक्षी एमालेसँग पनि यसबारे कुराकानी गरी सहमतिको कोसिस गर्ने प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो।

त्यस्तै विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरी आएको अवस्थामा अंगीकृत नागरिकको अधिकार के हुने भन्नेबारे अझै छलफल गरी सम्बोधन गर्नेबारे शुक्रबार पनि कुराकानी भएको थियो। नयाँ संविधानअनुसार बन्ने संघीय कानुनले त्यसबारे व्यवस्था गर्ने भनिए पनि मधेसवादी दलले त्यसो गरिए अनिश्चय र विभेद हुन जाने जिकिर गरेका छन्। मधेस आन्दोलनकारीलाई आश्वस्त पार्ने गरी प्रस्ताव ल्याउने प्रधानमन्त्री निकट स्रोतले बतायो। केन्द्रीय भाषा र राज्यको भाषालगायत विषमा पनि बैठकमा कुरा भएको थियो।

साढे ६ बजे सुरु बैठकमा देउवा भने ढिलो गरी पुगेका थिए। गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरालगायत बैठकमा सहभागी थिए। मोर्चा प्रतिनिधिसँग संविधान संशोधन प्रस्तावबारे यो साता तीनपल्ट बालुवाटारमै कुराकानी भइसकेको छ। दाहाल प्रधानमन्त्री चुनिएयता मोर्चा प्रतिनिधिसँग अनौपचारिक गरी झन्डै दर्जनपल्ट कुराकानी भइसकेको छ। गृहमन्त्री निधिले दुई दिनभित्र गर्ने थप गृहकार्य परिणाममुखी बने आइतबार बालुवाटारमा बस्ने तय गरिएको मोर्चासँगको बैठक निर्णायक बनाउने प्रधानमन्त्रीको योजना रहेको उनको सचिवालयले जानकारी दियो।

‘मधेसी युवालाई तालिम चाहियो’
सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एक लाख मधेसी युवालाई सीपमूलक तालिमको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्। शुक्रबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र दिन गएका महतोले दाहालको आसन्न भारत भ्रमणका क्रममा सामेल गर्ने एजेन्डाको विषयमा ज्ञापनपत्र बुझाएको बताए।

‘मैले उहाको भारत भ्रमण सफल रहोस् भनी शुभकामना दिएँ,’ महतोले भने, ‘त्यस क्रममा समावेश गर्नुपर्ने नेपाल–भारतबीच चिसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रूपले पछाडि पारिएका मधेसी युवाका लागि ‘स्किल डेभलपमेन्ट प्रोग्राम’ समावेश गर्न माग गरें।’

उनले रोजगारी दिनुको साटो सीपमूलक कार्यक्रम अघि सारिए, सीपवान् युवाले आफैं रोजगारी गर्न सक्ने भन्दै प्रधानमनत्रीको ध्यानाकर्षण गराएको जानकारी दिए। ज्ञापनपत्रमा महतोले तराई–मधेस हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्गलगायतका राष्ट्रिय महत्वका योजनाहरू कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीले ज्ञापनपत्र बुझदै सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताए। दुई देशीय हित र सम्बन्धमा आफ्नो भ्रमण केन्द्रित रहने भन्दै उनले मधेसी मोर्चालगायत सबैको साथ चाहिने जवाफ दिएका थिए।

प्रकाशित मिति : २५ भाद्र २०७३, शनिबार  ९ : ४२ बजे