३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

फोरम लोकतान्त्रिक महाधिवेशन आजदेखि


२० बैशाख २०७३, सोमबार  

0
Shares

विराटनगर २०, वैशाख / सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो ।

तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । सहिद मैदानमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र जैन भवनमा हुनेछ ।

महाधिवेशनमा देशभरका ४२ भन्दा बढी जिल्लाबाट दुई हजार पाँच सय प्रतिनिधि तथा पाँच सय पर्यवेक्षकको सहभागिता रहने उक्त पार्टीका सांसद पवनकुमार सारडाले बताए ।

महाधिवेशनका एजेन्डा तय गर्न आइतबार दिनभर केन्द्रीय समिति बैठक बसेको थियो । एजेन्डा र प्रस्तावलाई अन्तिम रूप दिन साँझ आठ बजेदेखि फेरि केन्द्रीय समिति बैठक बसेको थियो । महाधिवेशनले पार्टीको विधान पारित गर्नेछ । यस्तै, केन्द्रीय समितिले अन्तिम रूप दिने राजनीतिक र सांगठनिक प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरिने उपाध्यक्ष जितेन्द्र देवले बताए । हाल पार्टीको संरचनागत स्वरूपमा केन्द्रीय कार्यालय, राजनीतिक समिति र केन्द्रीय समिति छन् । सयवटा भ्रातृ संगठन रहेको पार्टीले जनाएको छ । वडा, गाउँ र नगर समिति तथा क्षेत्रीय र जिल्ला समिति तल्ला संरचना छन् । महाधिवेशनले पार्टीको संरचनालाई संघीयताको स्वरूपसँग मिल्ने गरी बनाउने जनाइएको छ ।

सांगठनिक स्वरूपअनुसार साधारण सदस्य र सक्रिय सदस्य तल्लो तहमा छन् । हाल ८० हजारभन्दा बढी सक्रिय सदस्य रहेको र उक्त संख्या बढ्ने क्रममा रहेको दाबी उक्त पार्टीको छ । पार्टीलाई राष्ट्रिय स्वरूप दिइने भएपछि विभिन्न पार्टीबाट प्रवेशको संख्या बढेको उपाध्यक्ष मोहम्मद मोसिम सिद्दिकीले बताए ।

मधेसकेन्द्रित दलका रूपमा चिनिएको पार्टीलाई मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व समेटदै बृहत् रूप दिने उद्देश्यले महाधिवेशनबाट नाम परिवर्तन गर्ने सम्भावना छ । नाम टुंगो भइनसकेको स्रोतले जनायो ।अध्यक्ष गच्छदारले आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि त्यसको संकेत गरे । ‘पार्टीलाई हिमाल, पहाड, मधेस सबै ठाउँमा स्वीकार्य बनाउने गरी नाम राख्ने भन्ने सल्लाह छ,’ उनले भने । परिवर्तन, संशोधन या हालकै नामलाई राखेर अघि बढ्ने भन्ने देशभरका प्रतिनिधिको सल्लाहमा टुंगो लाग्ने गच्छदारले बताए ।
संविधान जारी गर्ने बेलाको अन्योलपूर्ण अवस्थामा आफ्नै प्रयासमा १६ बुँदे सहमति गरी मुख्य दललाई एक ठाउँ ल्याएको प्रसंग उल्लेख गदै गच्छदारले अब पनि सहमतिबाटै समस्या समाधान गर्नुपर्नेमा आफूहरूको जोड रहेको बताए ।

उपेन्द्र यादव नेतृत्वको पार्टीबाट अलग भई बनेको फोरम लोकतान्त्रिकसँग हाल १४ सांसद छन् । पहिलो संविधानसभाबाट चुनिएका ५२ मध्ये विभाजनपछि गच्छदारतर्फ २८ सांसद थिए भने बाँकी २४ यादव समर्थक थिए । संविधानसभाको दोस्रो चुनावपछि उक्त पार्टीका १० समानुपातिक र चार प्रत्यक्ष निर्वाचितसहित १४ सांसद छन् ।

प्रकाशित मिति : २० बैशाख २०७३, सोमबार  ९ : २७ बजे