१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुलाकी सडक मधेसको ‘लाइफ लाइन’ – भट्टराई


९ बैशाख २०७३, बिहिबार  

0
Shares

वैशाख ९, बारा /  पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई मधेस सशक्तिकरण अभियानअन्तर्गत यहाँका गाउँ गाउँ चहार्दै मधेस दौडाहा गरिरहेका छन् ।

सप्तरीको भारदहबाट गत बैशाख ३ देखि एक हप्ते दौडाहामा रहेका उनी मधेसको राणाकालीन पूर्व-पश्चिम हुलाकी सडक हुँदै यात्रा गरिरहेका छन् । यस क्रममा उनले सार्वजनिक कार्यक्रममा हुलाकी सडक मधेसको ‘लाइफ लाइन’ भएको बताएका छन् ।

दौडाहा सिलसिलामा बारा आइपुगेका भट्टराईले भने, ‘पहाडी शासकको चपेटामा हुलाकी सडक परेको छ, भारतीय सीमा आसपास भएर कञ्चनपुरदेखि झापासम्म पुगेको यो सडक पिच नभएकोले मधेसको विकास हुन सकेन । राज्यले सधैं विभेद गर्दै आएको छ ।’

उनले भने, ‘आफू प्रधानमन्त्री तथा अर्थमन्त्री छँदा ६ वटा ठूला आयोजना प्राथमिकतामा राखेको थिएँ, जसमध्ये हुलाकी सडक पनि थियो । तर बजेटमा पार्न नदिई ‘फास्टट्रयाक’ काम गर्न दिएन । यो सडक तत्काल पिच हुनुपर्छ ।’

एक अर्को प्रसङ्गमा उनले भने, ‘मधेसी समुदाय नेपाल स्थापनाका संस्थापक रहेको इतिहास छ । इतिहासको कुनै कालखण्डमा मधेस अलग देश थिएन ।’ उनका प्रेस संयोजक रामरिझन यादवले कपिलवस्तुमा बैशाख ११ गते पुगेर यात्रा टुंगिने बताए । उनका अनुसार मधेस यात्राको क्रममा पूर्वप्रम भट्टराईको खुट्टा सुनिएको छ, धुलोले निकै सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  ७ : २३ बजे