१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजधानी केन्द्रीत आन्दोलन गर्दै गठबन्धन


८ बैशाख २०७३, बुधबार  

0
Shares

काठमाडौं– मधेस केन्द्रित आन्दोलन गर्दै आएको मधेसी दलहरुको संयुक्त गठबन्धन ‘संघीय गठबन्धन’ले अब राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ ।

स्रोतका अनुसार २७ दल सम्मिलित गठबन्धनले आगामी जेठ १ गतेदेखि राजधानीकेन्द्रित सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । तराई केन्द्रित आन्दोलन गर्दा सरकार र तीन दलबाट कुनै सुनुवाई नभएको भन्दै गठबन्धनले अब उपत्यका केन्द्रित आन्दोलन गर्न लागेको एक नेताले बताए । ती नेताका अनुसार बैशाखभरी पनि गठबन्धनका विभिन्न किसिमका दवावमुलक कार्यक्रम हुनेछन् । जसअनुसार आज  बिहिबार गठबन्धनले राजधानीको र्याडिसन होटलमा विदेशी कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैछ । यस्तै १५ गते जिल्लाका सिडियो मार्फत प्रधानमन्त्रीलाई आफूहरुको मागबारे ज्ञापनपत्र बुझाइने छ भने २१ देखि २७ सम्म सम्पूर्ण सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने कार्यक्रम रहेको छ । यद्यपी गठबन्धनको शुक्रबार बस्ने बैठकले आन्दोलनका कार्यक्रमबारे औपचारिक निर्णय गर्ने ति नेताले बताए । उनका अनुसार आन्दोलनका कार्यक्रम तय गर्नका लागि एक समिति समेत गठन गरिएको छ । समितिमा २७ दलका एक–एक प्रतिनिधि रहेको स्रोतका भनाई छ ।
गठबन्धनको आजको बैठकबाटै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएपनि सो कार्यक्रम पर्सीसम्मका लागि पर सारिएको गठबन्धनका नेता शरदसिंह भण्डारीले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूहरुको आन्दोलन जारी रहेको र अब आन्दोलनलाई राष्ट्रव्यापी बनाउन लागिएको बताए । ‘मधेस केन्द्रित आन्दोलन गर्दा क्षेत्रीयतावादीको आरोप लगाइयो र राज्यबाट सुनुवाई पनि हुन सकेन’, उनले भने, ‘राज्यलाई दवाव दिने उद्देशयले अब उपत्यकालाई केन्द्रित गर्दै राष्ट्रव्यापी आन्दोलन गर्न लागेका छौं ।’
फरक प्रसंगमा उनले आफूहरुको आन्दोलन वर्तमान केपी ओली नेतृत्वको सरकार ढाल्को लागि नभएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ बैशाख २०७३, बुधबार  ११ : ५८ बजे