३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दर्ता नभएका विद्यालय बन्द गर्न माग


८ बैशाख २०७३, बुधबार  

0
Shares

बिर्तामोड  ८,   वैशाख /  शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य हुनु पर्नेमा जोड दिँदै दुईवटा दिद्यार्थी संगठनले सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

अखिल क्रान्तिकारी र नेविसंघ झापाले बिभिन्न माग राख्दै जिल्ला शिक्षा कार्यालय झापामा बुधबार ज्ञापनपत्र बुझाएको हो । ती संगठनका जिल्ला नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेललाई भेटेर ज्ञापनपत्र बुझाइएको छ ।

क्रान्तिकारीका अध्यक्ष रवी बस्नेत र नेविसंघका कार्यबाहक सभापति राजेन्द्र उप्रेतीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा शुल्क निर्धारण मापदण्ड विपरित हरेक वर्ष झै बढाइएको शुल्क फिर्ता नगर्नेको दर्ता खारेज गर्नु पर्ने, बिना नक्सा भवन निर्माण गरी जोखिमका साथ विद्यालय सञ्चालन गर्ने र भूकम्प प्रतिरोधि भौतिक संरचना नभएका शैक्षिक संस्थालाई कारवाही गर्नुपर्ने, बिना दर्ता सञ्चालित निजी विद्यालय बन्द गर्नु पर्ने माग राखिएको छ ।

त्यस्तै अनावश्यक रुपमा निजी विद्यालय खोल्ने कार्य तत्काल रोक्नु पर्ने, सामुदायिक विद्यालयमा पढ्न चाहने विद्यार्थीलाई प्रवेश परिक्षा लिई पढ्नबाट बञ्चीत गराउने कार्य तत्काल रोक्नु पर्ने माग अघि सारिएको छ । निजी विद्यालयले सरकारको शैक्षिक नियमावली, निर्देशिका र शुल्क निर्धारण मापदण्ड विपरित खुलेआम आर्थिक शोषण गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सरकारको गैर जिम्मेवार रबैयाका कारण विद्यार्थी, अभिभावक पीडित रहेको क्रान्तिकारीका प्रदेश नम्बर १ का संयोजक महेन्द्र भट्टराईले बताए । उनले शैक्षिक क्षेत्रको बेथितिलाई अन्त्य गर्न सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाइएको स्पष्ट पारे ।

ज्ञापनपत्र बुझ्दै लुइटेलले गैर कानुनी रुपमा सञ्चालित विद्यालय तत्काल बन्द गर्ने प्रतिबद्धता जनाएको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७३, बुधबार  ११ : ३६ बजे