४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

मानव र प्रकृतिबीचको सम्बन्ध गाँस्ने सिरुवा पर्व


३० चैत्र २०७२, मंगलबार  

0
Shares

भनिन्छ, सभ्यता र संस्कृति अलग– अलग हुन् । मन हाम्रो संस्कृति हो भने लुगा हाम्रो सभ्यता हो ।  फेरि मनभित्रबाटै  प्रेरित भएको अभिव्यक्ति नै सभ्यता हो । हाम्रो समाजमा अलग–अलग समुदायको आ–आफ्नै संस्कृति र रहनसहन छ । तर सभ्यता भने एउटै । सम्रगमा भन्दा हाम्रो संस्कृति फरक भए पनि हाम्रो सभ्यता एउटै छ । समाजशास्त्रीहरु भन्ने गछर्न । संसारमा कुनै पनि समुदायको वा जातिको दुई किसिमबाट अध्ययन हुन सक्दछ । एउटा भौतिक र अर्को अभौतिक । भौतिक कुरा सभ्यतासंग जोडिएको हुन्छ  तर अभौतिक भने मनसंग जोडिएको हुन्छ । समुदायमा अनेकौ संस्कृति मिलेर नै सभ्यता बनेको हुन्छ । यसलाई अझ स्पष्ट भन्नुपर्दा हामी नेपाली हौं, नेपाली हाम्रो सभ्यता हो । यिनै सभ्यताको क्यानाभासमा विविध संस्कृति बोकेका आदिवासीहरुको रङ पोतिएका हुन्छन् ।
नेपाल विभिन्न जात–जाति, भेषभूषा, संस्कृति र भाषभाषी भएको सुन्दर एवम सम्पन्न देश हो । एक –अर्काबीचमा संस्कृति, भाषा, चाडपर्वहरु मिसिएर एउटा अनौठो राष्ट्रिय रंग बन्न पुगेको छ । जसरी एउटा चित्रकार क्यानाभासमा मिसिएको विविध रंगहरुलाई मिलाएर एउटा जिउदो जाग्दो तस्वीर बनाउँछ । त्यस तस्वीरलाई जीवित राख्न वा सन्तुलनमा राख्न विविध रंगहरुको आ–आफ्नै भूमिका रहन्छ ।
उद्यौली–उभौली पर्वको नाम सुन्नेवितिकै हामीले यहाँका जानजाति लिम्बु राई आदि समुदायलाई सम्झन्छौं । त्यस्तै सोह्राई पर्वको नाम सुन्नेवितिकै सन्थाल समुदायलाई, माघी भन्नेवितिकै थारु समुदाय सम्झन्छौं । त्यसरी नै सिरुवा पर्वको प्रसंग कोट्याउनेवितिकै हामी राजवंशी, ताजपुरिया, गन्गाई, थारुलगायत समुदायलाई सम्झन्छौ ।
यी समुदायको वर्ण र भेषभूषाले हाम्रो आँखा अगाडि एउटा आफ्नै किसिमको तस्वीर ल्याएर उभाइदिन्छ अर्थात यसो भनौं सिरुवा राजवंशी, ताजपुरिया, गन्गाई थारु समुदायको सांस्कृतिक पर्व हो । जो रंग, पानी र हिलोसंग सम्बन्धित छ ।  सिरुवा नेपाली राष्ट्रिय सांस्कृतिक रंगहरुमध्येको एउटा अलग पहिचान बोकेको पर्व हो । त्यसकारण राज्यले यस्ता राष्ट्रिय सांस्कृतिक पहिचान बोकेको पर्वहरुलाई जगेर्ना गर्नु पर्दछ । तर जगेर्ना गर्ने बहानामा वैशाख १ गते एक दिन सार्वजनिक विदा दिएर आफ्नो कर्तव्य पुरा भएको ठान्दछ । जबकि यो पर्व तीन दिन सम्म मनाइने गरिन्छ । यो पर्व तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई थारु, माझीलगायतका आदिवासीहरुको  सबैभन्दा ठुलो सांस्कृतिक एवं ऐतिहासिक  पर्व हो । यो महान पर्वलाई राज्य तवरबाट संरक्षण र सम्बर्धन गर्नुपर्छ नकि पर्व नै मनाउन नदिने गरी  तीन दिनलाई एकदिनमा छोट्याई संकुचित भावनाबाट उद्यत रहि राज्यले विभेदकारी नीति लिएको यो समुदाय ठान्दछ ।
मुलुकमा संविधानसभा सम्पन्न भएपश्चात हामी शान्तिकामी नेपाली नयाँ संविधानको आकाशमुनी छौं । यस ऋतुमा बोट–विरुवाहरुमा पलाएका पालुवाहरुले सिरुवा पर्वको आभाष दिलाइरहेका छन् । यही आभाषलाई साकारोक्ति नयाँ साल २०७३ ले गर्नेछ  भनेर हामी नेपाली आशावादी मात्र होइन, विश्वस्त पनि छौं । यति मात्र कहाँ हो र π नेपाली सभ्यताको विविध सांस्कृतिक रंगहरुमध्ये रंगमय, उल्लासमय पर्व सिरुवा आजदेखि नयाँ वर्ष संगै हरेक नेपालीको घर आगनमा टेक्दैछ ।  सिरुवा पर्वको उपलक्ष्यमा तीन दिनसम्म पानी, माटो र रंग खेल्दै धुमधामसंग मनाइने ऐतिहासिक महत्व बोकेको सिरुवा यहाँका आदिवासी राजवंशीलगायत तराइका विभिन्न जातजातिकले मनाउने गर्दछन् । झापा, मोरंग र सुनसरी जिल्लामा परापूर्वकालदेखि बसोबास गर्दै आएका  राजवंशी, ताजपुरिया, गन्गाई मेचे, माझी, थारुलगायतका आदिवासी जातिहरुको वस्तीहरुमा सिरुवा पर्वको रौनक बढेको छ । यो विशेषगरी ३ दिनसम्म मनाइन्छ । आज वैशाख १ गते पानी सिरुवा – यो दिन एक अर्कामा पानी छ्यापाछ्याप गरी मनाइन्छ । वर्षको दु:ख कष्टलाई धोई पखाली नयाँ वर्षको वर्षभरि शरीर ठण्डा र शितल रहोस भनी कामना गरिन्छ । यसैदिन राति जडिबुटि खोजेर ल्याई कसैले नदेख्ने गरी आतरचातर घरको चारै किल्लामा पूजापाठ गरिने चलन छ । वर्षभरि कुनै पनि शत्रुले परिवारको कुनै पनि सदस्यमाथि वैरभाव नराखोस् भन्ने कामना गरिन्छ ।
दोस्रो दिन अर्थात हिलो छ्यापाछ्याप गरी खेलिने यस दिनलाई काद सिरुवा भनिन्छ । यसो गर्नाले माटोको शरीर अन्नत माटोमै विलीन हुने भएकोले शरीरलाई कुनै प्रकारको रोगव्याधी नलागोस् भन्ने कामना गर्दैं काद सिरुवा खेलिन्छ । यो दिन घरको कूलदेवतालाई पूजापाठ पनि गर्ने गरिन्छ । सबेरैदेखि केही पनि नखाई घरमुलीले पूजापाठ गर्ने चलन रहेको छ । तेस्रो दिन बैशाख ३ गते । यो दिन एक अर्कामा रंग र अविर दली रंग सिरुवा खेल्ने गरिन्छ । गाउँका ठूलाबडा तथा साथी भाई मिली नववर्षको शुभकामना आदानप्रदान गर्दै रंग र अविर खेली आपसमा खुशीयाली साटासाट गर्ने गरिन्छ ।
पर्वमा विशेष प्रकारका खानेकुराहरु पनि खाने गरिन्छ । पर्वको पहिलो दिन सातसागी (सातवटा तरकारीबाट बनाइएको परिकार खाने गरिन्छ । यो परिकार अघिल्लो वर्षको अन्तिम दिन पकाएर नयाँ वर्षको पहिलो दिन खाने गरिन्छ । त्यस्तै घुम्नीमुरी (भुजा र चना), खेसरीको दालबाट बनाइएको बोरी र माछामासु खाने गरिन्छ । यसैगरी सिरुवा पर्वमा गाउँका महिलाहरु मिलेर भेजेखेली गीत गाउँगाउँमा गाउने गर्दछन् । यसरी भेजीखेली गीत खेली संकलन गरिएको चामल, पैसालगायतका सामग्री घाटोसरीसहित नयाँ वर्षको पहिलो दिन नजिकको खोलामा गएर पुजापाठ गरी बगाउने गरिन्छ ।
पानी, माटो र रङ्ग खेली मानव शरीर र प्रकृतिबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका दर्शाउने दर्शन बोकेको सिरुवा सम्पूर्ण नेपालीहरुको महान उत्सवको पर्व बन्न सकोस् । बसुदैव कुटुम्बको भावना प्रदत्त गर्ने सिरुवा नेपाली राष्ट्रिय संस्कृतिको पानामा सगर्व यसले ठाउँ पाओस् यही छ सिरुवा पर्वको शुभकामना ।

आत्माराम राजवंशीkado siruwa 12

प्रकाशित मिति : ३० चैत्र २०७२, मंगलबार  ३ : ३९ बजे