१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कडा आन्दोलन गर्ने राजेन्द्र महतोको चेतावनी


१८ चैत्र २०७२, बिहिबार  

0
Shares

rajendara

मोरङ १८,  चैत्र /  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैशाखदेखि गरम प्रकृतिको आन्दोलन हुने बताएका छन् । ‘अब नरम प्रकृतिको आन्दोलनलाई सरकारले सुनेन,’ पार्टीको तीनदिने विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘अहिले न बन्द छ न हड्ताल छ, न त नाकाबन्दी नै, यो सहज अवस्थालाई सरकारले उपयोग गरेन त्यसैले बैशाखदेखि गरम प्रकृतिको आन्दोलन हुन्छ ।’

गरम प्रकृतिको आन्दोलन गर्ने भएपनि अब नाकाबन्दी भने नगर्ने उनले स्पष्ट पारे ।‘अब नाकाबन्दी शाकाबन्दी गर्नुभन्दा अगाडि एकहजार पटक सोच्नुपर्छ,’ महतोले भने, ‘काठमाडौंमा चिया खाएर नाकाबन्द हुँदैन् जुन कुरा मोर्चाको नाकाबन्दीमा देखियो ।’

उनले सरकारलाई दबाब दिन गरिएको नाकाबन्दीको दबाब सरकारलाई नपुगी जनता नै पीडित भएकाले नाकाबन्दी गर्नुको अर्थ नरहेको बताए । आन्दोलनको क्रममा गरिएको नाकाबन्दी ‘ताला लागल वा फाटक खुलल बा’ अर्थात ताल्चा लागेको तर ढोका खुलेकै जस्तो भएकाले सरकारलाई दबाब पुगन नसकेको महतोले बताए ।  बैशाखदेखि हुने आन्दोलनको स्वरुप मोर्चाको बैठकले निर्धारण गर्ने तथा सरकार र सिंहदरवारलाई अत्यधिक दबाब दिने खालको आन्दोलन हुने महतोले स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्माओली सित आफ्नो कुनै व्यक्तिगत रिसिइवी नरहेको महतोले स्पष्ट पारे । उनले भने, ‘केपी ओलीसित मेरो कुनै व्यक्तिगत झगडा छैन्, उनी नरम रुपमा कुरा गर्दा हामी नरम हुन्छौ उनी अनापसनाप र गरम कुरा गर्दा हामी उनीभन्दा बढी गरम हुन्छौं ।’ मधेसको हरेक कुरालाई भारतसित जोडेर हेर्ने प्रवृत्ति त्याग गर्नुपर्ने महतोले बताए । ‘मधेसको जुनसुकै कुरालाई भारतीसित जोड्ने, मधेसीलाई भारतीय देख्ने प्रवृत्ति अन्त हुनुपर्छ,’ उनले भने, ‘मधेसीलाई भारतीय भन्न थालियो भने नेपाली को हो त ?’

भारत नेपालको असल छिमेकी भएको बताउँदै महतोले नेपालमा भएका अधिकार प्राप्तिको हरेक आन्दोलनमा भारत नेपाली जनताको साथमा उभिएको र मधेस आन्दोलनका क्रममा पनि त्यही भएको बताए । ‘भारतबाट जबजब स्वतन्त्रताको लडाई भयो नेपाली जनताले साथ दिए, नेपालमा जबजब अधिकार प्राप्तिको आन्दोलन हुन्छ भारत नेपाली जनतासित उभिन्छ,’ महतोले भने, ‘मधेस आन्दोलनमा हिजो पनि भारतीय जनताले सहयोग गरे भोलि पनि सहयोग गर्छ ।’

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता सन्तोष मेहताले सोमबारदेखि बुधबारसम्म चलेको तीनदिने राष्ट्रिय कार्यसमितीको बैठकको निर्णय सुनाएका थिए । सद्भावना बैठकले मधेसी मोर्चाद्वारा अगाडि सारिएको ११ बुँदे माग तत्काल सम्बोधन हुनुपर्ने, आन्दोलनको अवधिमा लगाइएका मुद्धा फिर्ता लिनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने, आन्दोलनमा दमन गर्ने उपर कारवाही र पीडितलाई न्याय तथा क्षतिपूर्तिका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने माग गर्ने निर्णय गरेको छ ।

यस्तै आमहड्तालको अवधिको राजश्व छुट, कर मिनाहा, ब्याज छुट, विलम्व शुल्क छुट गर्नुपर्ने माग समेत बैठकले गरेको छ । यसैगरी वर्षायाम सुरु भइसक्दा पनि सरकारले भूकम्प पीडतलाई राहत दिन नसक्नु लज्जास्पद कार्य भएको भन्दै तत्काल राहत प्रदान गर्न बैठकले माग गरेको छ ।

यसैगरि तराईका जिल्लाका अग्नी पीडतलाई पनि राहत प्रदान गर्न माग गरेको छ ।

यस्तै सद्भावनाले पार्टीको छैठो महाधिवेशन ०७३ साल चैतमा गर्ने निर्णय गरेको छ । आगामी असोजसम्म सक्रिय सदस्यता वितरण गर्ने, कार्तिक र मंसिरमा गाउँ अधिवेशन, पुसमा क्षेत्रीय र माघमा जिल्ला अधिवेशन गर्दे चैतमा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीको लेवी प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । मासिक रुपमा क्षेत्रीय सदस्यले ५०, जिल्ला सदस्यले एक सय, केन्द्रीय सदस्यले २ सय र केन्द्रीय पदाधिकारीले ५ सय रुपैयाँ लेवी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महासचिव मनिष सुमनले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७२, बिहिबार  ११ : २० बजे