
बिर्तामोड, १४ भदौ । नेपाल प्रेस युनियन झापा शाखाको जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया पटक–पटक स्थगित भएको भन्दै युनियनका बहुसंख्यक सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
कुल १३४ सदस्य रहेको नेपाल प्रेस युनियन झापाको अधिवेशनमा नेतृत्व चयनका विषयमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै सदस्यहरूले लोकतान्त्रिक विधिबाट निर्वाचन गराउन माग गरेका हुन्।
शनिबार दमकस्थित एक होटलमा सुरु भएको अधिवेशन नेपाली कांग्रेसका जिल्ला नेताहरूको दबाबका कारण बिना सूचना स्थगित गरिएको आरोप केही युनियनकर्मीले लगाएका छन्। त्यसपछि आइतबार बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा दिउँसो १ बजे अधिवेशन सुरु गरी अपराह्न ४ बजेदेखि ६ बजेसम्म मतदान गर्ने निर्वाचन समितिले सूचना जारी गरेको थियो। तर, निर्धारित समयमा पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेन।

युनियनकर्मीहरूका अनुसार कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदमा मात्रै निर्वाचन हुन बाँकी थियो। अन्य सबै पदमा निर्विरोध चयन प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा तीन पदका लागि मात्र निर्वाचन गराउनुपर्ने थियो। तर, निर्वाचन प्रक्रियामा पटक–पटक हस्तक्षेप भएपछि निर्वाचन स्थगित भएको उनीहरूको भनाइ छ।

अध्यक्ष पदका प्रत्यासी अर्जुन राजवंशीको चुनावी माहोल बलियो बनेपछि अर्का प्रत्यासी राजेन्द्र गौतमलाई जिताउन नसकिने निष्कर्षमा पुगेर निर्वाचन रोकिएको आरोप पनि केही सदस्यले लगाएका छन्। उनीहरूले कुनै विवाद नरहेको अवस्थामा निर्वाचन स्थगित गरिनु लोकतान्त्रिक संस्थाको गरिमा र प्रतिष्ठामाथिको आघात भएको बताएका छन्।
कांग्रेसका नेताहरूको इशारामा निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया स्थगित गर्न दबाब दिएको आरोपसमेत केही युनियनकर्मीले लगाएका छन्। यद्यपि, यस विषयमा सम्बन्धित व्यक्तिहरूको औपचारिक धारणा सार्वजनिक भएको छैन।
निर्वाचन नगराई राजेन्द्र गौतमलाई अध्यक्ष बनाउने विषयमा जिल्ला पार्टी कार्यालयमा एक उम्मेदवारसहित छलफल भएको दाबीसमेत युनियनका केही सदस्यले गरेका छन्। निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले त्यसरी लोकतान्त्रिक प्रक्रिया नै समाप्त गर्ने गरी निर्णय गर्न अस्वीकार गरेपछि मतदान प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको उनीहरूको भनाइ छ।
निर्वाचन समितिका अधिकृत लक्ष्मण कुमार लुइटेलले पार्टीबाट निर्वाचन प्रक्रिया रोक्न निर्देशन आएपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन्। लुइटेलले आफूहरू नेपाल प्रेस युनियनको विधानबमोजिम नै निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा रहेको भए पनि पार्टीबाट निर्वाचन प्रक्रिया रोक्न भनिएपछि स्थगित गर्न बाध्य भएको बताए।उनले भने, – ‘हामीले विधानबमोजिम नै निर्वाचन प्रक्रिया अघि बढाउन चाहेका थियौँ। तर पार्टीबाट निर्वाचन प्रक्रिया रोक्न भनेपछि स्थगन गर्न बाध्य भयौँ।’
नेपाल प्रेस युनियन झापामा यसअघि पनि निर्वाचनमार्फत नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै सदस्यहरूले यसपटक पनि लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। युनियन कांग्रेसको शुभेच्छुक संस्था भए पनि संगठनको आन्तरिक निर्वाचन प्रक्रियामा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
उम्मेदवारहरूले समेत पार्टी नेतृत्वलाई निर्वाचनको वातावरण बनाउन र लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्न दिन आग्रह गरेका छन्। युनियनकर्मीहरूले संगठनभित्र टिकेप्रथा लागू गर्ने र राजनीतिक हस्तक्षेप निरन्तर हुने अवस्था आएमा संगठन बलियो नहुने प्रतिक्रिया दिएका छन् ।
यसअघि नेपाल प्रेस युनियनको गठबन्धनले नेपाल पत्रकार महासंघमा लगातार चार कार्यकाल नेतृत्व गरेको दाबी गर्दै सदस्यहरूले लोकतान्त्रिक अभ्यासको पक्षमा युनियनले उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि ध्रुव ढकालले संगठनको विधानबमोजिम निर्वाचन समितिले प्रक्रिया अघि नबढाएका कारण हाललाई निर्वाचनको कार्य अघि बढाउन नसकिएको बताएका छन्। ढकालले निर्वाचन समितिबाट भएको ‘मिस अन्डरस्ट्यान्डिङ’का कारण आइतबार बिहान निर्वाचनको कार्यतालिका प्रकाशित गरिएको भए पनि उक्त कार्यतालिका अनुसार निर्वाचन कार्य अघि बढाउन नसकिएको स्पष्ट पारे। उनका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउँदा संगठनको विधान र निर्धारित प्रक्रिया पालना गर्नुपर्ने भएकाले हालको अवस्थामा निर्वाचन स्थगित भएको हो।
निर्वाचन स्थगनसँगै अब मतदान कहिले हुने भन्ने विषय अन्योलमा परेको छ। निर्वाचन समितिले नयाँ मिति सार्वजनिक नगरेसम्म युनियन झापाको नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ। निर्वाचन स्थगनको कारण र आगामी निर्वाचन मितिबारे निर्वाचन समितिको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।








