२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

दसैंको दक्षिणा कसरी गर्ने सदुपयोग ? दक्षिणा दिने प्रचलन कसरी आयो ?



काठमाडौं / अहिले देशैभर नेपाली हिन्दुहरुको महान चाड दसैंको माहोल चलिरहेको छ । दसैं भन्ने बित्तिकै राम्रो नाना, मीठो खाना, मान्यजनबाट आर्शिबाद र टीका–दक्षिणा भन्ने सबैको मानस्पटलमा आउने गर्छ ।  सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड दसैं पनि हो । चाडवाडमा दक्षिणा अब हाम्रो परम्परा नै भइसकेको छ । दक्षिणाको रकम मोजमस्तीमा मात्र खर्च गर्नु गलत हुनजान्छ । तसर्थ, दक्षिणाको उपयोग फजुल खर्चमा भन्दापनि बचत गर्ने सोच राखेर गर्न सकेमा भोलिको जीवन सरल बन्नेछ ।

विशेषगरी दसैंमा छोरीचेली, ज्वाँइ, भान्जाभान्जी तथा साना साना केटाकेटीहरुलाई दक्षिणा स्वरुप पैसा दिने चलन छ । अझ नयाँ बेहुला–बेहुलीले दसैंमा दक्षिणा स्वरुप अझ बढी पैसा आर्जन गर्दछन् । दसैंमा प्राप्त दक्षिणा खर्च गर्ने अनेकौ तरिकाहरु हुनसक्छन् । जसरी खर्च गर्नलाई अनेक तरिका छन् । त्यसैगरी दक्षिणाको सदुपयोग गर्नका लागि पनि थुप्रै उपायहरु अवलम्बन गर्न सकिन्छ । थोरै लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ। चाहना भएमा दसैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराको अनभिज्ञता तोड्न जरुरी छ । 

नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दसैं पनि एक हो तर दसैंमा खर्च मात्र होइन दक्षिणा बापत थोरै थोरै आम्दानी समेत हुने गर्छ । बालबालिका तथा युवालाई कुरा बुझाउन सकेको खण्डमा सानो दक्षिणाले पनि भविश्यमा बचत बानीसँगै जुगाड गर्ने बानी बसाउन सकिने जानकारहरु बताउँछन् ।

धेरैले दक्षिणाको सही सदुपयोग गरेको पाइन्न । दसैंको दक्षिणाले तास खेल्ने, मनोरन्जनका सामान किन्ने, घुम्ने, चलचित्र हेर्ने, लुगा, फोन लगायतका सामान खरिद गर्ने गरेका छन् । दसैंमा दक्षिणा स्वरुप पाएको पैसा सही ठाउँमा सदुपयोग गर्न सकियो भने थोरै पैसाले पनि भविष्यलाई सहज बनाउन सक्छ ।

दक्षिणाको सदुपयोग कसरी गर्ने ? के के मा गर्न सकिन्छ थोरै थोरै लगानी ? 

सेयरमा लगानी गर्ने

दसैंको दक्षिणाको रकम लगानी गर्ने सबैभन्दा सरल र सजिलो क्षेत्र भनेको सेयरमा लगानी हो । यसमा प्रौढ तथा युवापुस्ताले मात्र नभइ साना साना नानीहरुले दसैँमा पाएको थोरै पैसालाई उनीहरुको भविष्यका लागि सेयरमा लगानी गर्न सकिन्छ । जसका लागि बालबालिकाको नाममा डिम्याट खाता खोलेर सेयर प्राथमिक तथा दोस्रो बजारमा पनि लगानी गरिदिन सकिन्छ । सेयर बजारमा लगानी गर्नका लागि ठूलो पुँजी चाहिन्छ भन्ने छैन् सानो सानो रकमबाट पनि सेयर बजारमा लगानी गर्न सकिन्छ । बालबालिकाले पाएको दक्षिणाबाट सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सकिन्छ । यसका लागि सानो रकम अर्थात् एक हजार रुपैयाँ भए पनि पुग्छ । धितोपत्र बोर्डमा झण्डै १० महिनादेखि अध्यक्ष नियुक्त नहुँदा अहिले धेरै कम्पनीहरुको आइपीओ रोकिएको अवस्था छ । दसैंपछि अध्यक्ष नियुक्त भएमा धमाधम नयाँ कम्पनीहरुको आइपीओ निष्कासन हुने अवस्था पनि रहेको छ । यसकारण दसैंको दक्षिणा सेयर बजारमा लगानी गर्ने उपयुक्त हुनसक्छ ।

बैंकमा बचत गर्ने

सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो । त्यसैले दक्षिणाको रकम बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबनेपनि बिस्तारै जम्मा गर्दे गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ । दक्षिणाको पैसा सदुपयोग गर्ने अर्को सजिलो उपाय बैंकमा बचत गर्ने नै हो । आजकल सबैजसो व्यक्तिको बैंक खाता हुन्छ । नभएमा पनि एकैदिनमा सजिलै बैंक खाता खोल्न सकिन्छ ।बालबालिकामा पैसाको महत्व खासै हुदैन । चाडवाडमा पैसा पाए पनि खर्च केमा गर्ने भन्ने ज्ञान नहुँदा फजुल खर्च गर्ने संभावाना बढि हुन्छ । यसर्थ बालबालिकाको दसैंको दक्षिणा अभिभावकहरुले बाल बचतको रुपमा बैंकमा पैसा जम्मा गर्न सकिन्छ । अहिले प्राय सबै जसो बैंकहरुले बाल बचत, नारी बचतजस्ता विभिन्न आर्कषक व्याजदर सहितका अफरहरु पनि सार्वजनिक गरिरहेका छन् । जस अर्न्तगत बालबालिकको छुट्टै बचत खाता खोलेर पनि दक्षिणा बचत गरिदिन सकिन्छ । यसले भविष्यमा ब्याज मात्र पाइदैन, बालबालिकामा बचत गर्ने बानीको विकास पनि हुन्छ ।

जीवन बिमा

त्यस्तै दशैंमा जम्मा भएको रकमबाट बिमा गर्न पनि सकिन्छ । जीवनको बीमा पछिल्लो समयमा अपरिहार्य बन्दै गएको छ । बिमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने पनि छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ । त्यसैले दसैंपछिको अवधिलाई बिमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैंमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ । दसैंको दक्षिणालाई विशेषगरि बालबालिकाको लागि उपयुक्त कम्पनीको जीवन बिमा पोलिसि खरिद गर्न सकिन्छ । जसले जीवन बिमा हुनुको साथै बचत बढ्ने र जोखिम घटाउन सहयोग गर्नेछ। दसैं दक्षिणालाई विशेष त बालबालिकाको बिमा पोलिसिमा खर्चनु उपयुक्त समय हुनसक्दछ । दसैंमा आउने दक्षिणा, जन्मदिनमा आउने दक्षिणा लगायत उनिहरुले बेला–बेला पाउने रुपैयाँ बचाउने हो भने अभिभावकको आयस्रोत बलियो नभए पनि बिमा गर्न समस्या हुँदैन ।

खुत्रुकेमा राख्ने

बैंकिङ पहुँच बढेसंगै पछिल्लो समय खुत्रुकेको प्रयोगमा कमी आएको छ । तर, पनि बचतको बानी बसाल्नका लागि खुत्रुकेको प्रयोग गर्न सकिन्छ  । यद्यपी बालबालिकाले खुत्रुकेको प्रयोग गर्न सरल हुने भएकोले पनि बचत गर्ने बानी विकासका लागि यो निकै महत्वपूर्ण मानिन्छ । दसैं तथा तिहारमा दक्षिणा स्वरुप पाएको थोरै रकम पनि आफ्नो खुसीले बालबालिकाले खुत्रुकेमा पैसा राख्दा बचत गर्ने बानी मात्रै विकास हुँदैन, बालबालिकामा आत्मसंतुष्टी पनि हुन्छ । बालबालिकालाई पैसा चाहिएको खण्डमा आफै झिक्न सक्ने हुँदा बचतको महत्व पनि उनीहरूले बुझ्नेछन् । बालबालिकाले मात्र होइन अन्य व्यक्तिहरुले पनि बचतको बानी बसाल्नका लागि खुत्रुकेको प्रयोग गर्न सकिन्छ ।

बालबालिकालाई पैसाको सदुपयोग बारे ज्ञान दिने अवसर 

बालबालिकालाई उनीहरुले पाएको दक्षिणाको पैसा कसरी सदुपयोग गर्ने भन्ने ज्ञान हुँदैन । जसले गर्दा बजार गएर नयाँ सामान किन्न खोज्ने र यहि बाहनामा झगडा गर्ने, पसलमा गएर अनावश्यक अस्वस्थकर खानेकुराहरु खाने गर्दछन् । जसले गर्दा दसंै अवधिभर मात्र नभएर पछि पनि बालबालिकामा पैसाको मोह बढ्न सक्छ । त्यसले गलत बाटोमा हिड्ने संभावाना प्रचुर रहन्छ । यसैले बालबालिकालाई प्रथा अनुसार दक्षिणा दिए पनि अभिभावकले दक्षिणा बचत गरिदिने वा कतै लगानी गर्न लगाउने वा त्यस किसिमका वातावरण तय गरिदिदा उपयुक्त हुन्छ । त्यसका लागि दसैं तिहार जस्ता चाडपर्व बालबालिकाहरुलाई बचत  र लगानी बारे ज्ञान दिने उचित समय पनि हो । 

कसरी आयो दक्षिणाको प्रचलन ?

भारत वर्षको गुरुकुलमा विद्यार्थी जब पढ्न जान्थे त्यतिबेला उसको परिवारको सेवा गर्दथे अथवा यदि सम्पन्न परिवारका भए केही शुल्क दिएर विद्या प्राप्त गर्दथे । प्रायः दिनेवाला कम संख्यामा हुन्थे र अधिकांश सेवासुश्रूणबाटै विद्या प्राप्त गर्दथे । यस्ता विद्यार्थी आफ्नो शिक्षा समाप्त गरेर जब घर जाने समय आउँथ्यो तब गुरुको सम्मान र श्रद्धास्वरुप केही भेटी अर्पित गर्दथे जसलाई दक्षिणा भनिन्थ्यो । पछि पछि गुरुदक्षिणाको नजिर नै बन्यो र अत्यन्त गरिब विद्यार्थीपनि केही न केही दक्षिणा दिन थाले ।

दक्षिणालाई विद्यानमा आवश्यक रुपबाट वैद्य मानिएको छ । पढ्ने विद्यार्थीले स्वेच्छाले दिने द्रव्य, फल, पुष्प र मिष्ठान्न र दक्षिणासहित गुरुको पुजा गर्ने गर्दछन् । कालिदासले पनि कैत्सका गुरु वरतंतुलाई दक्षिणा दिएको कथा हामीले पढेका छौं जुन कुरा रघुवंश, पण्चम्, २०-३० पेजमा छ ।

योसँगै अर्को जान्नैपर्ने कुरा, दक्षिणा धार्मिक क्रियाकलापको सम्बन्धसँगपनि जोडिन्छ । यज्ञ बिना दक्षिणाको पूर्ण नहुने र उसका कुनै फल हुँदैन । यज्ञ पूर्ण भएपछि ब्राम्हण र पुरोहितलाई तुरुन्त दक्षिणा दिइन्छ र उसलाई कुनैपनि अवस्थामा बाँकी राखिँदैन । बाँकी राख्यो भने समयको अनुपातबाट बढ्दै जान्छ । दक्षिणा नदिने ब्रह्मस्वापहारी, अशुचि, दरिद्र, पातकी, व्याधियुक्त तथा अन्य अनेक कष्टबाट ग्रस्त हुन्छ । उसको लक्ष्मी हराउँछिन्, अधोगति मिल्नेछ भनेर ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा चर्चा गरिएको पाइन्छ ।

यज्ञको दक्षिणा नदिने राजा हरिश्चन्द्रलाई विश्वामित्रले दण्डित गरे, यो कथा पुराणमा, मार्क अध्यायको पाना ७-८ मा चर्चा गरिएको छ । यसैकारण आजपनि हाम्रो समाजमा धार्मिक कार्य, यज्ञ र सांस्करिक अवसरमा मुख्य पक्षको रुपमा राखिएको छ । दक्षिणा स्वर्ण, रजत, सिक्का, अन्न, वस्त्र आदिको रुपमा दिने गरिन्छ । यजमानको श्रद्धा तथा वित्तीय स्थितिनुसार थोर–बढी हुनसक्छ । दक्षिणाको सम्बन्ध धार्मिक भाव उत्पन्न गर्ने सिलसिलामा दक्षिणाको यज्ञ पुरुषबाट स्त्रीको रुप हुँदै देवकथाको विकासक्रम भएको ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा उल्लेख गरिएको छ ।

दक्षिणालाई पछिल्लो समय वस्तुवादी बनाइएपनि परम्परालाई निरन्तरता दिइरहनु पनि चाडको आफ्नै मौलिकता बाँकी रहनु भएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १० : ०५ बजे