३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापामा चुनावी गतिविधि तीव्र


२८ फाल्गुन २०७३, शनिबार  

0
Shares

nagrpalika2
पार्थ मण्डल,
भद्रपुर /

आसन्न स्थानीय तह निर्वाचन २०७४लाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय झापाले चुनावी गतिविधि कार्यलाई तीव्रता दिएको छ ।
सरकारले निर्वाचन आयोगमा स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाएसँगै आयोगले झापामा पनि स्थानीय तहको प्रतिवेदन पठाइसकेकोले चुनावी गतिविधिलाई तीव्रता दिएको निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए । निर्वाचन आयोगले पठाएको स्थानीय तह पुनर्संरचना अन्तरगत झापामा ८ नगरपालिका र ७ गाउँपालिकासहित १५ वटा स्थानीय तहमा १३१ वडा संख्या नै कायम भइसकेको निर्वाचन अधिकारी आचार्यले बताए ।
आयोगले पठाएको प्रतिवेदनमा १५ वटा स्थानीय तहमा १५ वटै मुख्य निर्वाचन केन्द्र रहने उल्लेख गरिएको छ । तोकिएको प्रस्तावित निर्वाचन गराउने केन्द्रहरु मध्ये मेचीनगरमा मेची नगरपालिका केन्द्र, दमकमा दमक नगरपालिका केन्द्र, भद्रपुरमा भद्रपुर नगरपालिका केन्द्र, विर्तामोडमा बिर्तामोड नगरपालिका केन्द्र, कनकाईमा कनकाई नगरपालिका केन्द्र, शनिअर्जुनमा शनिअर्जुन नगरपालिका केन्द्र, शिवसताक्षीमा शिवसताक्षी नगरपालिका केन्द्र, गौरादहमा गौरादह नगरपालिका केन्द्र हुनेछ ।
त्यस्तै गाउँपालिकाहरु मध्ये कमल गाउँपालिकामा तोपगाछी गाविस केन्द्र, गौरीगञ्जमा गौरीगञ्ज गाउँपालिका केन्द्र, बाह्रदशी गाउँपालिकामा चकचकी गाविस केन्द्र, झापा गाउँपालिकामा टाघनडुब्बा गाविस केन्द्र, बुद्धशान्ति गाउँपालिकामा बुधवारे गाविस केन्द्र, हल्दिवारी गाउँपालिका जलथल गाविस केन्द्र र कचनकवल गाउँपालिकामा बनियानी गाविस केन्द्र तोकिएको छ । आयोगले तह अन्तरगतको केन्द्र तोकेर पठाइसकेको छ । अब, निर्वाचन स्थल र निर्वाचन केन्द्र तोक्न बाँकी रहेको निर्वाचन अधिकारी आचार्यले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिको बैठकले उपयुक्त स्थान पहिचान गरी निर्वाचन स्थल र केन्द्र छनौट गरी आयोगमा पठाउने र आयोगले स्वीकृत गरेपछि कार्यान्वयन हुने प्रावधान रहेको उनले बताए । संविधानसभाको निर्वाचनमा झापामा २७६ निर्वाचनस्थल र अस्थायी गरी ७५५ निर्वाचन केन्द्र रहेको थियो । सोही स्थल र केन्द्रलाई नै छनौट गरी तोकिने सम्भावना छ । त्यसपछि मात्र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा व्यवस्थाको टुंगो लाग्ने उनको भनाइ छ ।
आयोगबाट आधिकारिक मतदाता नामावली नआइसकेकोले झापाको मतदाता संख्या अहिले नै भन्न नमिल्ने उनले बताए । उनका अनुसार गत फागुन ९ गतेसम्म झापामा ५ लाख २१ हजार ८ सय ८३ जनाले मतदाता नामावली दर्ता गराएको देखिन्छ । जसमा नागरिकता लिएका १६ बर्षका नागरिकले पनि दर्ता गराएकोले आयोगले नै त्यसलाई छनौट गरी चैतको पहिलो साताभित्र झापामा मतादाता नामावली पठाइसक्ने निर्वाचन कार्यालय झापाले जनाएको छ । संविधानसभाको निर्वाचनमा झापामा ४ लाख ५४ हजार ४ सय ७६ मतदाता रहेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७३, शनिबार  ८ : ३६ बजे