
गौरीगंज ११, मंसिर / झापाको गौरीगंज गाउँपालिका–६ स्थित श्री खजुरगाछी माध्यमिक विद्यालयमा लामो समयदेखि शिक्षण सेवामा समर्पित शिक्षक शिवकुमार दास अनिवार्य अवकाश हुनुभएको छ। विद्यालयमा ३७ वर्ष ७ महिना ३ दिनसम्म निम्न माध्यमिक तहको शिक्षक पदमा रहेर सेवा गर्नुभएका दास मिति २०८३ मंसिर १० गतेदेखि अनिवार्य अवकाश हुनुभएको हो।
अवकाशको अवसरमा विद्यालय परिवारले उहाँलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानपूर्वक बिदाइ गरेको छ। विद्यालयका प्रधानाध्यापक गहेन्द्र विक्रम साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण यादवले संयुक्त रूपमा सम्मानपत्र तथा दोसल्ला प्रदान गर्नुभएको थियो। विद्यालयले उहाँलाई एक महिनाको तलब बराबरको रकमसमेत प्रदान गरेको जनाएको छ।
त्यसैगरी, खजुरगाछी माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजले पनि शिक्षक दासलाई सम्मानपत्र र दोसल्लासहित सम्मानपूर्वक बिदाइ गरेको छ। समाजका अध्यक्ष यादव प्रधान, उपाध्यक्ष झलक प्रसाईं, सचिव आत्माराम राजवंशी, कोषाध्यक्ष प्रकाश चन्द्रसिंह राजवंशी र सदस्य पुष्प प्रसाईंले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
यसै अवसरमा पूर्वविद्यार्थी समाजले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको छ। २०८२ सालको एसईई परीक्षामा ३.४३ जीपीए प्राप्त गरी विद्यालयबाट सर्वोत्कृष्ट अंकसहित उत्तीर्ण भएकी छात्रा गरिमा ताजपुरियालाई नगद ५ हजार १०० रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको छ।
त्यस्तै, कक्षा ११ बाट कक्षा १२ मा प्रवेश गर्दा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री प्रदान गरिएको थियो। विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रदान गरिएको नगद पुरस्कारको रकम समाजका सदस्य पुष्प प्रसाईंले सौजन्य गर्नुभएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
३७ वर्षभन्दा लामो समय शिक्षण पेसामा बिताउनुभएका शिक्षक दासको योगदानको कदर गर्दै विद्यालय र पूर्वविद्यार्थी समाजले गरेको सम्मानले शिक्षकप्रतिको आदर र शैक्षिक संस्थाप्रतिको पूर्वविद्यार्थीको जिम्मेवारीलाई समेत उजागर गरेको छ। साथै, उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यले विद्यालयको शैक्षिक वातावरण थप उत्साहजनक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










