१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

विपन्न परिवारको आफ्नै घरको सपना साकार, गौरीगंजमा २५ घर हस्तान्तरण



गौरीगंज ११, मंसिर / वर्षौंदेखि असुरक्षित र जीर्ण घरमा कष्टकर जीवन बिताउँदै आएका गौरीगंजका २५ विपन्न परिवारको आफ्नै सुरक्षित घरमा बस्ने सपना साकार भएको छ ।
झापाको गौरीगंज गाउँपालिकामा शौचालयसहित तीन कोठे पक्की घर निर्माण गरी २५ विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ।
गौरीगंज गाउँपालिका, हेबिट्याट फर नेपाल र सहारा नेपालको त्रिपक्षीय साझेदारीमा निर्माण सम्पन्न भएका घरहरू आज आयोजित एक विशेष कार्यक्रमबीच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।
गौरीगंज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले रिबन काटेर नवनिर्मित घरमा गृहप्रवेश गराउँदै लाभग्राही परिवारलाई घर हस्तान्तरण गर्नुभयो।
गौरीगंज गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विजय सिंह गन्गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पूजन न्यौपाने कुँवर, प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, वडा नम्बर ३ का अध्यक्ष श्रवण गिरीलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै, सहारा नेपालका अध्यक्ष भरत कुमार गिरी, उपाध्यक्ष सोमनाथ तिम्सिना, कोषाध्यक्ष श्याम कुमार प्रधान, कार्यक्रम संयोजक भीमप्रसाद भेटवाल तथा हेबिट्याट फर नेपालका विजयप्रसाद गुप्ताको समेत उपस्थिति रहेको थियो । यस वर्ष निर्माण सम्पन्न भएका २५ घरमध्ये गौरीगंज गाउँपालिका वडा नम्बर २ मा ८ वटा, वडा नम्बर ४ मा ८ वटा र वडा नम्बर ५ मा ९ वटा घर वितरण गरिएको हो । शौचालयसहित तीन कोठे घर प्राप्त गरेपछि विपन्न परिवारले अब सुरक्षित र सम्मानजनक आवासमा जीवन बिताउने अवसर पाएका छन् । आवास केवल चार भित्ताको संरचना मात्र होइन, यो परिवारको सुरक्षा, स्वास्थ्य, आत्मसम्मान र सुन्दर भविष्यसँग जोडिएको विषय हो ।
स्थानीय सरकार, सामाजिक संस्था र विकास साझेदारबीचको सहकार्यले विपन्न नागरिकको जीवनमा कसरी प्रत्यक्ष परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण गौरीगंजको यो अभियान बनेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शुक्रबार  ७ : २६ बजे