३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

गौरादहमा ‘स्मार्ट एजुकेशन – बारिस्ता एण्ड कम्प्युटर तालिम सेन्टर’ सञ्चालनमा



दमक ३, फागुन स्थानीयस्तरमै सीप सिकेर युवालाई स्वरोजगार बनाउने उद्देश्यले झापाको गौरादहमा स्मार्ट एजुकेशन – बारिस्ता एण्ड कम्प्युटर तालिम सेन्टर सञ्चालनमा आएको छ। गौरादह नगरपालिका वडा नं. १, डिपुस्थित उक्त संस्थाको आइतबार औपचारिक उद्घाटन गरिएको हो।

संविधान सभा सदस्य तथा सामाजिक–राजनीतिक व्यक्तित्व दीपक कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थाको उद्घाटन गरिएको हो। सो अवसरमा कार्कीले स्थानीयस्तरमा खुलेका यस्ता व्यवसायिक सीपमूलक तालिम केन्द्रहरूले नयाँ पुस्तालाई सकारात्मक दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएका यस्ता पहलहरू प्रशंसनीय रहेको बताए।

कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले स्थानीय सरकारले गर्नुपर्ने काममा स्मार्ट एजुकेशनले थप सहयोग पुर्‍याएको महसुस भएको बताए। उनले युवालाई आत्मनिर्भर बनाउन व्यवसायिक सीप तथा समयानुकूल प्रविधिमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै बारिस्ता र कम्प्युटर तालिमले त्यसमा महत्वपूर्ण योगदान दिने बताए।

त्यस्तै, गौरादह बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा शैक्षिक व्यक्तित्व भोजराज दाहालले युवालाई व्यवसायिक तथा स्वरोजगारको बाटोमा अघि बढाउन स्मार्ट एजुकेशनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

संस्थाका सञ्चालकहरूमध्ये फणीन्द्र दाहालले गौरादह, कोहोबरा, बैगुन्धुरा, गौरीगञ्जलगायतका क्षेत्रका युवाहरूले यस्ता सीप सिक्न दैनिक दमक र बिर्तामोडसम्म धाउनुपर्ने बाध्यता हटाउन गौरादहमै तालिम केन्द्र स्थापना गरिएको बताए। उनका अनुसार संस्थामा एकैपटक १५ जनाले विभिन्न स्वादका कफी बनाउने बारिस्ता तालिम तथा १५ जनाले कम्प्युटर सम्बन्धी विभिन्न कोर्सहरू अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ।

शैक्षिक क्षेत्रमा लगानी गर्दै फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाको संयुक्त लगानीमा उक्त संस्था स्थापना गरिएको हो। स्मार्ट एजुकेशनले स्थानीय युवालाई दक्ष जनशक्ति बनाउँदै रोजगारी र स्वरोजगारमा जोड्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ४१ बजे