
आत्माराम राजवंशी /
नेपालका आदिवासी समुदायहरू आफ्नै मौलिक संस्कृति, भाषा र खानपानका कारण विशिष्ट पहिचान बोकेका छन् । राजवंशी, ताजपुरिया र गन्गाई समुदायको जीवनशैलीसँग गहिरोसँग जोडिएको विशेष परिकार भाक्का केवल खाना मात्र होइन, इतिहास, श्रम, प्रकृति र सामूहिक संस्कृतिको प्रतीक हो । आज पुस २९ गते ९ औं राष्ट्रिय भाक्का दिवस देशभर भव्य रूपमा मनाइँदैछ । यही अवसरमा राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आयोजनामा विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सांस्कृतिक लोक नाचगानसहित भाक्का निःशुल्क वितरण गर्दै वृहत् कार्यक्रम आयोजना गरिएको छ, जसले भाक्काको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।
भाक्का मूलतः चामलको पिठोबाट बनाइने सरल तर पोषिलो परिकार हो । कुनै मसला, तेल वा अतिरिक्त स्वाद नहाली भापमा पकाइने भाक्का स्वच्छ, सुपाच्य र स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ । चिसो मौसम, विशेष गरी हिउँदमा खाइने यो परिकार श्रमिक वर्ग, किसान र सामान्य परिवारको दैनिकीसँग जोडिएको छ । बिहानको नास्तादेखि पर्व–उत्सव, सामूहिक भेटघाट र सांस्कृतिक कार्यक्रममा भाक्काको अनिवार्य उपस्थिति रहँदै आएको छ ।
भाक्काको सबैभन्दा ठूलो विशेषता यसको सामूहिकता हो । भाक्का बनाउने प्रक्रिया एकल होइन, सामूहिक श्रम र सहकार्यको अभ्यास हो । घर–घरमा महिलाहरू भेला भएर पिठो तयार गर्ने, भाप दिने र बाँड्ने संस्कारले सामाजिक एकता र आपसी सम्बन्धलाई मजबुत बनाएको छ । यही कारण भाक्का केवल स्वाद होइन, समुदायको आत्मा हो ।
आजको आधुनिक जीवनशैली, फास्ट फुड संस्कार र बजारमुखी खानपानका कारण परम्परागत परिकारहरू संकटमा पर्दै गएका छन् । भाक्काजस्ता मौलिक परिकार संरक्षण नहुँदा केवल स्वाद हराउँदैन, आदिवासी पहिचान र सांस्कृतिक निरन्तरता नै कमजोर हुन्छ । यही सन्दर्भमा राष्ट्रिय भाक्का दिवसको महत्व अझ बढेको छ । यसले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्छ ।
भाक्काको संरक्षण र सम्बर्द्धनमा सरकारको उत्तरदायित्व अत्यन्त महत्वपूर्ण छ । सबैभन्दा पहिले भाक्कालाई आदिवासी समुदायको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा आधिकारिक मान्यता दिन आवश्यक छ । प्रदेश र स्थानीय सरकारले भाक्का प्रवर्द्धन कार्यक्रमलाई वार्षिक योजनामा समेट्नु पर्दछ । पर्यटन प्रवर्द्धनसँग जोडेर भाक्कालाई “लोकल फुड ब्रान्ड” का रूपमा विकास गर्न सकिन्छ ।
विद्यालय पाठ्यक्रम, सांस्कृतिक संग्रहालय, महोत्सव र होटल–रेस्टुरेन्टमा भाक्काको उपस्थिति सुनिश्चित गर्न सकिएमा यसको दीर्घकालीन संरक्षण सम्भव हुन्छ । भाक्का उत्पादन र व्यवसायीकरणमा संलग्न समुदायलाई तालिम, अनुदान र बजार पहुँच उपलब्ध गराउनु सरकारको कर्तव्य हो । यसले संस्कृतिको संरक्षणसँगै आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्याउँछ ।
आज विर्तामोडको डोमालाल राजवंशी रंगशालामा भाक्कासहित लोक नाचगान, सांस्कृतिक प्रदर्शन र सामूहिक सहभागिताले भाक्का दिवसलाई केवल उत्सव होइन, संस्कृतिक आन्दोलनको रूपमा उभ्याएको छ । यसले आदिवासी समुदायको आवाज, पहिचान र अधिकारलाई राज्यसामु स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।
भाक्का बाँच्नु भनेको आदिवासी इतिहास बाँच्नु हो । भाक्का जोगाउनु भनेको संस्कृति, श्रम र सामूहिकताको सम्मान गर्नु हो । राष्ट्रिय भाक्का दिवसले यही सन्देश दिन्छ— मौलिकता नै हाम्रो शक्ति हो ।







