गौरीगंज / कांग्रेस आज चौबाटोमा उभिएको छ । चौबाटो भनेको चारओटा बाटो भेटिने ठाउँ हो, जहाँ जाने–नजाने, मोडिने–नमोडिने, उभिने–नउभिने सबै विकल्प खुला हुन्छन् । तर कांग्रेसको चौबाटो अलि फरक छ । यहाँ चारै बाटो बन्द छन् र पार्टी भने नक्सा समातेर ‘कुन बाटो बन्द भयो ?’ भनेर छलफल गरिरहेको छ । एक समय थियो, कांग्रेस नेपालको राजनीति मात्र होइन, नेपाली चेतनाको पनि केन्द्र थियो । देश प्रजातन्त्र खोज्दै हिँड्थ्यो, कांग्रेससँग भेटिन्थ्यो । स्वतन्त्रता चाहियो भने कांग्रेस, उदारता चाहियो भने कांग्रेस, बहुलता चाहियो भने कांग्रेस । आज चाहिँ कांग्रेस आफै कांग्रेस खोज्दै हिँडिरहेको छ । कहीँ कतै भेटिँदैन । कांग्रेस कहिलेकाहीँ सानेपामा, कहिलेकाहीँ बालुवाटारमा, कहिलेकाहीँ बूढानीलकण्ठको छायाँमा खोजिन्छ, तर हात लाग्छ त केवल ‘बैठकहरूको माइन्युटसँगै जलेका नोटहरू ।’ आज कांग्रेस हेर्दा राजनीति होइन, एउटा दीर्घकालीन ‘कन्फ्युजन प्रोजेक्ट’ जस्तो देखिन्छ । पार्टीका शीर्ष नेताहरू मानौं एउटै प्रश्नमा पीएचडी गर्दैछन्, ‘अब के गर्ने ?’ यसको उपप्रश्न हुन्छ, ‘नबोल्दा ठीक कि बोल्दा ?’ त्यसको उप–उपप्रश्न, ‘बोल्नै परे कसको जस्तो बोल्ने ?’ बीपीको जस्तो कि जीपीको ? सीपीको जस्तो कि केपीको ? यसै अन्योलको बीचमा देशमा क्रान्तिकारी बनेर जेन–जी आयो । नारा बोकेर, प्रश्न बोकेर, रिस बोकेर, आशा बोकेर, निराशा बोकेर । सडक ततायो, सत्ता तात्यो, सामाजिक सञ्जाल उम्लियो । तर कांग्रेस ? कांग्रेसले तत्काल बैठक बोलायो । बैठकले निर्णय गर्यो, अर्को बैठक बोलाउने । त्यो बैठकले निष्कर्ष निकाल्यो– स्थिति गम्भीर छ । अर्को बैठकले थप्यो, थप अध्ययन आवश्यक छ । देश डढिरहेको बेला कांग्रेस ‘स्टडी लिभ’मा गयो । कांग्रेसका लागि आज आन्दोलन भनेको रिस्की लगानी हो । समर्थन गर्यो भने सरकार रिसाउँछ । आलोचना गर्यो भने पुरानो गठबन्धन बिग्रिन्छ । मौन बस्यो भने जनता रिसाउँछन् । त्यसैले बोल्न चैं बोल्ने । तर त्यो बोलीले के हुँदै छ भन्ने कुनै संकेत नगर्ने । अर्थात् मौनताको पनि एउटा नयाँ आविष्कार गर्यो कांग्रेसले । अनि सबैभन्दा सुरक्षित नीति रोजियो, नडराउने, नडुब्ने, नउठ्ने । राजनीति होइन, ‘पोजिसन मेन्टेनेन्स ।’ आज कांग्रेसमा बीपी कोइराला दर्शन होइनन्, सजावट हुन् । गणेशमान सिंह स्मृति होइनन्, सेमिनारको उद्धरण हुन् । कृष्णप्रसाद भट्टराई आदर्श होइनन्, जयन्तीको मिति हुन् । कांग्रेस पार्टी कार्यालयमा विचारभन्दा फोटा ठूला छन् । फोटोहरू भित्तामा छन्, तर विचारहरू फ्रेममै बन्द छन् । कांग्रेस कहिलेकाहीँ उग्र कम्युनिष्टजस्तो देखिन्छ । कहिले कट्टर राजावादीसँग चोचोमोचो मिलाउँछ, कहिले उदारवादको किताब पल्टाएर ‘यो हाम्रो हो कि होइन ?’ भनेर सोध्छ । पार्टी यस्तो अवस्थामा छ कि उसलाई आफू कुन पार्टी हो भन्ने कुरा पनि कोर कमिटीको निर्णय कुर्नुपर्छ । कांग्रेसका ठूला मान्छे ब्रह्माजीको चार मुख चारतिर फर्केजस्ता चार÷पाँच थरी विचार बोलिरहेका हुन्छन् । पद पनि भागबन्डाभन्दा अंशबन्डा जस्तो छ । नेतृत्वको कुरा गर्दा कांग्रेसमा नेतृत्व छैन भन्न मिल्दैन । नेतृत्वमा धेरै छन्, यति धेरै कि एक–अर्कालाई बाटो छेक्छन् । सबै अगाडि बस्न चाहन्छन्, तर कसैले गाडी स्टार्ट गर्न चाहँदैन । स्टीयरिङ सबैले समातेका छन्, ब्रेक कसैले छोड्दैन । युवाले प्रश्न गर्छन्, ‘कांग्रेस, तपाईं कहाँ हुनुहुन्थ्यो ?’ कांग्रेस जवाफ दिन्छ, ‘हामी गहिरो अध्ययनमा थियौं ।’ युवाले फेरि सोध्छन्, ‘अब के गर्नुहुन्छ ?’ कांग्रेस भन्छ, ‘त्यसका लागि कार्यदल बनेको छ ।’ कार्यदल कांग्रेसको सबैभन्दा सफल आविष्कार हो । कार्यदलले समय खान्छ, प्रश्न थकाउँछ र निर्णय मार्छ । हवल्दार भनिएका गिरिजाप्रसाद कोइरालाले बरु १२ वर्षे सशस्त्र आन्दोलनलाई संविधानमा बदले । आजको कांग्रेस त्योभन्दा चर्को आन्दोलनलाई मौनतामा बदल्दै इतिहास बनाउँदै छ, इतिहासकै सबैभन्दा सुरक्षित अध्याय । कांग्रेसको न कसैसँग दुश्मनी, न कसैसँग मित्रता । सबैसँग फोटो छ, कसैसँग नीति छैन । मुख खोल्ला र केही बोल्ला कि भन्यो, ढुंगाको आवाज आउला कांग्रेसको धारणा आउन्न । एउटा कुरा भ्रममा नपरौं कि कांग्रेस र कांग्रेसी फरक हुन् । कांग्रेस डुबे पनि कांग्रेसी चाहिँ डुब्दैनन् । किनकि तिनले पार्टी डुबे पनि आफू उत्रने मेसो बनाइसकेका हुन्छन् । डुब्ने त कांग्रेसको विचार र लिगेसी मात्रै हो । आज कांग्रेस न सरकारको आत्मा हो, न प्रतिपक्षको आवाज । न सडकको साथी, न देशभन्दा माथि, न सत्ताको मालिक । ऊ ठ्याक्कै राजनीतिक ‘वेटिङ रुम’मा बसेको छ, नम्बर आउँछ कि भनेर कान ठाडा पारेर । देशलाई दिशा चाहिएको छ, कांग्रेससँग द्विविधा छ । देशलाई निर्णय चाहिएको छ, कांग्रेससँग डिस्क्लेमर छ । देशलाई नेतृत्व चाहिएको छ, कांग्रेससँग स्मृति छ । देशको भविष्यलाई डोर्याउने नायक चाहिएको छ, कांग्रेस आफै अन्धकारमा छ । जनतालाई स्पष्ट दृष्टि चाहिएको छ, कांग्रेस दृष्टिभ्रममा हराइरहेको छ । चाहिएको बेला निकास दिने कांग्रेस कतै विनाशतिर त छैन ? तर कथा यहाँ सकिँदैन । एक दिन कांग्रेसले फेरि ठूलो बैठक बोलायो । दुई दिन, तीन दिन, चार दिन । चिया सकियो, बिस्कुट फेरियो, भाषण ताषण भयो । अन्तिम दिन एक वरिष्ठ नेता उठे र गम्भीर स्वरमा भने, ‘साथीहरू, हामी चौबाटोमा उभिएका छौं ।’ सबैले टाउको हल्लाए । ‘अब के गर्ने ?’ कसैले सोध्यो । नेताले मुस्कुराउँदै भने, ‘हामी यहीँ बस्ने हो । किनकि हामी चारतारे कांग्रेस हौं । चार तारा, चार बाटाहरू, अर्थात् चौबाटो ।’ त्यो क्षण सबै ढुक्क भए । किनभने कांग्रेसले अन्ततः निर्णय गर्यो, न जाने, न मोडिने, न लड्ने, न लुक्ने । चौबाटोमै बस्ने । चौबाटोमा उभिएको सालिक झैं हुने । र, इतिहासले त्यो क्षणलाई यसरी लेख्नेछ, ‘नेपाली कांग्रेस फुट्दा पनि फुटेन, जुट्दा पनि जुटेन, बरु गिट्टीझैं थुप्रिरह्यो । हो, कांग्रेस चौबाटोमा हराएन । चौबाटोमै स्थायी बसोबास गर्यो ।









