
कटहरी २३, पुस / कटहरी गाउँपालिका वार्ड नं. ४ अन्तर्गत पर्ने जुरीघाट टोलमा करिब ३० घरधुरी रिसिदेव समुदायका परिवार बसोबास गर्दै आएका छन्। भौगोलिक रूपमा गाउँपालिकाको एक भाग भए पनि विकास, सेवा र सुनुवाइका हिसाबले यो बस्ती अझै पनि किनारामा परेको अनुभूति यहाँका बासिन्दाहरूले गरिरहेका छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधार—तीनै क्षेत्रमा गहिरो समस्या बोकेको यो टोल आज बालश्रम र गरिबीको चक्रमा फसिरहेको छ।
जुरीघाट टोलका अधिकांश घरमुलीहरू नजिकैका फ्याक्ट्रीमा दिनमजदुरी गरेर परिवार पाल्छन्। मजदुरीबाट आउने आम्दानीले खान, लाउन र औषधोपचार गर्नै मुस्किल पर्छ। यही कमजोर आर्थिक अवस्थाको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा देखिएको छ। बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना कम हुनु, र चेतना भए पनि आर्थिक बाध्यताले गर्दा उनीहरू स्कुलभन्दा कामतर्फ धकेलिनु यहाँको साझा पीडा बनेको छ।
बस्तीमा धेरै बालबालिका विद्यालय भर्ना त हुन्छन्, तर नियमित हुँदैनन्। कतिपयले केही कक्षा पढेपछि बीचमै पढाइ छोड्छन्। आर्यन रिसिदेव त्यसको प्रतिनिधि उदाहरण हुन्। उनले कक्षा ३ सम्म पढे, त्यसपछि पढाइ छोड्नुपर्यो। “घरको अवस्था कमजोर थियो,” उनी भन्छन्, “आमाबुबालाई सहयोग गर्न फ्याक्ट्रीमा काम गर्न थालेँ।” बाल्यकालमै कामको बोझ बोक्न बाध्य आर्यनको कथा जुरीघाटमा अपवाद होइन, सामान्य अवस्था हो।

टोलमा विद्यालय जाने बालबालिकाको संख्या अत्यन्तै कम छ। स्थानीयका अनुसार करिब १२–१५ जना बालबालिका मात्र विद्यालय जान्छन्। बाँकी अधिकांश बालबालिका सानै उमेरमा फ्याक्ट्री वा मजदुरीमा लाग्ने गरेका छन्। यही अवस्थाले कक्षा ९ मा अध्ययनरत खुशी रिसिदेवलाई चिन्तित बनाएको छ। उनका बुवा–आमा दुवै फ्याक्ट्रीमा काम गर्छन्। “म पढ्दै छु,” खुशी भन्छिन्, “तर मेरो टोलका धेरै दाइबहिनीहरू स्कुल जाँदैनन्। उनीहरूको भविष्य के हुन्छ भन्ने सोचेर डर लाग्छ।”
शिक्षासँगै जुरीघाट टोलको भौतिक अवस्था पनि दयनीय छ। गाउँको सडक अत्यन्तै खराब छ। हिलो, धुलो र खाल्डाखुल्डीले भरिएको बाटो वर्षायाममा झनै जोखिमपूर्ण हुन्छ। अझ गम्भीर समस्या भनेको नालाको हो। नाला निर्माण नहुँदा फोहोर पानी सिधै घर–आँगनमा पस्ने गरेको छ। खुला नाला गन्हाएर बस्नै नसक्ने अवस्था भएको स्थानीयहरू बताउँछन्।

नाला फोहोर हुँदा झाडापखाला, ज्वरो, छालासम्बन्धी रोगजस्ता स्वास्थ्य समस्या बारम्बार देखिने गरेका छन्। फोहोर मैलाको व्यवस्थापनको कुनै प्रणाली छैन। नाला त्यसै उदाङ्गो छ, जसले विभिन्न रोग फैलिने जोखिम बढाएको छ। “नालाको पानी आँगनमै पस्छ,” खुशी भन्छिन्, “सफा पानी, सफा वातावरण भन्ने कुरा यहाँ कल्पनामै सीमित छ।”
यी सबै समस्याप्रति चिन्ता व्यक्त गर्दै आएकी छन् वार्ड नं. ४ की महिला दलित सदस्य मञ्जुदेवी रिसिदेव। उनले जुरीघाट टोलको सडक र नाला निर्माणको विषय पटक–पटक गाउँपालिका अध्यक्ष र सरोकारवालासँग उठाएको बताउँछिन्। “धेरै पटक कुरा राख्यौं,” उनी भन्छिन्, “तर कसैले चासो लिँदैन।” बजेट कहाँ र कसरी खर्च हुन्छ भन्ने जानकारीसमेत आफूहरूलाई नदिइने उनको गुनासो छ।
मञ्जुदेवीका अनुसार जनप्रतिनिधि भएर पनि आफूहरू निर्णय प्रक्रियामा केवल औपचारिक रूपमा सीमित बनाइएका छन्। “हामीलाई निर्णयमा बसालिन्छ, तर वास्तविक निर्णय हुँदैन,” उनी भन्छिन्, “हामी खाली हस्ताक्षर गर्ने साक्षी जस्तो भएका छौं।” सडकको विषयमा धेरै झगडा र बहस गरे पनि कसैले सुनुवाइ नगरेको उनको भनाइ छ। “सायद म दलित सदस्य भएर होला, मेरो कुरा गम्भीर रूपमा लिँदैनन्,” उनी पीडासाथ भन्छिन्।

शिक्षाको अवस्थाले चिन्तित बनेका अर्का स्थानीय श्मयल रिसिदेवले पनि आफ्नै प्रयासमा केही बालबालिकालाई ट्युसन पढाउने गरेका छन्। “टोलमा २–४ जना केटाकेटी मात्र नियमित पढ्छन्,” उनी भन्छन्, “प्रोत्साहन होस् भनेर मैले निःशुल्क ट्युसन पनि पढाएँ।” तर उनका अनुसार कुल १२–१५ जना बाहेक अधिकांश बालबालिका विद्यालय जाँदैनन्। “सानैदेखि फ्याक्ट्रीमा काम गर्न जान्छन्,” उनी भन्छन्, “यही कुरा सबैभन्दा ठूलो चिन्ता हो।”
जुरीघाट टोलको कथा एउटा बस्तीको मात्र होइन, यो दलित र सिमान्तकृत समुदायले भोग्दै आएको संरचनागत बेवास्ताको प्रतिनिधि चित्र हो। शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता आधारभूत अधिकार सुनिश्चित नगर्दा यहाँका बालबालिकाको भविष्य मजदुरी र अभावमै सीमित हुने खतरा बढ्दो छ।








