२२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026

लोकतन्त्रका अथक योद्धा तुर्सा हेमरम : आदिवासी आन्दोलन र प्रजातान्त्रिक संघर्षको उज्यालो नक्षत्र



सुरुङ्गा २१, पुस / संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरण समेत भोगेका आदिवासी नेता स्व. तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ ।२९औं तुर्सा हेमरम स्मृति दिवसका अवसरमा आइतबार तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसर कनकाईमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमहरुको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राख्नुभयो ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व. तुर्सा हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको कृतिलाई अमर बनाइराख्न प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो । प्रतिष्ठानको गतिविधि र भावी कार्यक्रमको बारेमा जानकारी गराउँदै भवन निर्माण कार्य समाप्त भइसकेपछि यसको ब्यबस्थापनको जिम्मेवारी समुदायमै हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं र कन्काई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रजतन्त्र सेनानी  आदिवासी नेता सुरेश बास्के, उमा सिटौला, मनोज बस्नेत, अर्जुन बोहोरा, तुर्सा हेमरमका परिवारजन लगायत कांग्रेसका नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो।कार्यक्रममा स्व. हेमरमका नाति सुन्दरले  बाजेको योगदानको स्मरण गर्दै  परिवारको तर्फबाट सुझाव प्रस्तुत गर्नुभएको थियो भने स्व. तुर्साको जीवनी वाचन सदस्य शिवकुमार कंडेलले गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष टिका मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गर्नुभएको रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

लोकतन्त्रका अथक योद्धा तुर्सा हेमरम : आदिवासी आन्दोलन र प्रजातान्त्रिक संघर्षको उज्यालो नक्षत्र

नेपालमा प्रजातन्त्र स्थापनाका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोग्ने झापाली योद्धा तुर्सा हेमरम सबै झापालीका लागि आदर्श नेताका रूपमा रहेका छन् । पिछडिएको जातिबाट उदाएका लोकतन्त्रवादी नेता हेमरम सबै प्रजातन्त्रवादीका हृदयमा अनुकरणीय छाप छाड्न सफल नेता हुन् । उनी आज यस संसारमा छैनन्, तर उनको लोकतन्त्रप्रतिको आस्था, मानवताप्रतिको विश्वास, स्वतन्त्रताप्रतिको समर्पण र आम देशवासीप्रतिको स्नेह उनलाई चिन्ने, उनको बारे थाहा पाउने, उनीसँगै काम गरेका हरेकका मनमस्तिष्कमा अमिट भएर रहेका छन् ।

तुर्साको आदर्श नपछ्याएका कारण आज नेपाली कांग्रेस र मुलुकले समस्या व्यहोर्नुपरेकोमा दुईमत हुन सक्दैन । २०४६ सालको जनान्दोलनपछि सबैभन्दा बढी समय नेपाली कांग्रेस सत्तामा बसेको छ, तर जनअपेक्षित उपलब्धि प्राप्त हुन सकेन । लोकतन्त्रका सबल र उज्याला पक्षलाई धुलीसात् पारेर दुर्गुण र विसंगतिको महारोगले आक्रान्त बनाएको र मुलुकले हजारौं नेपालीको हत्या र हिंसाको कहालीलाग्दा कहर वास्तवमा तुर्सा जस्ता इमान्दार, सादगी र लोकतन्त्रप्रति अटुट आस्था राख्ने नेताका आदर्शलाई भुलेर र बेवास्ता गरेर आएको हो । अझै पनि नेपाली जनता भोक, रोग, अशिक्षा, वेरोजगारी र असुरक्षाको चपेटामा पर्न अभिषप्त छन्, यसको सबैभन्दा ठूलो दोषको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ ।

भारतको हालको झारखण्ड राज्यको दुम्का जिल्लामा जन्मेका तुर्सा हेमरमले वी.पी. कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रुपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर चार÷पाँच वर्षको उमेरमा नेपाल आएका थिए । हेमरमलाई प्रसिद्ध समाजवादी चिन्तक सी.के. प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । तुर्सा सबैका प्रिय थिए । सीकेसँगको संसर्गमा संकोच नभएको, भेदभाव नगरिएको र समस्यामा आर्थिक, भौतिक र वैचारिक सहयोग पाएको हेमरम बताउने गर्थे । हेमरमले २००६ सालमा वीपीलाई भेटेका थिए । राणाशासन विरोधी सशस्त्र संघर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली कांग्रेसको छातामुनि हेमरम क्रियाशील रहे ।

प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरुको ठूलो यातना सहनु परेको थियो । उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् । २०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको नेपाली कांग्रेस पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्साले लोकतन्त्र, नेपाली कांगे्रस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । स्व. हेमरम मुलुकको समस्त विकासका लागि निष्ठावान र प्रजातन्त्रका इमान्दार सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए । उनी जातीय पहिचानप्रति अत्यन्तै सजग थिए । उनी सादा जीवन उच्च विचारका धनी थिए ।

तुर्सा २०२९ सालमा जेल परेर सात वर्षपछि मात्र रिहाइ भएका थिए । पछि सत्याग्रह आन्दोलनका बेला २०४२ सालमा पनि उनलाई छ महिना झापामा ल्याएर जेल हालिएको थियो । उनका समकालीनहरुले स्मरण गरेका छन्– जेलमा यातना दिँदा उनी भन्थे– ‘म माफी माग्दिन, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरु मलाई किन कुट्छौ ?’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए । नेपाली कांग्रेसभन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट विस्थापित गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरू परेका थिए । तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको कांग्रेसका पुराना नेताहरु बताउँछन् । हेमरमका शरीरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा कहिल्यै पनि पश्चाताप नगरेको उनलाई चिन्ने कांग्रेसीजनको भनाइ छ ।

मुलुक र मुलुकबासीको बृहत्तर हितका लागि सोच्न र काम गर्न ठूलो कुलघराना वा उपल्लो भनिने जातिमा जन्म लिइरहनुपर्दैन भन्ने उदाहरण तुर्सालाई मान्न सकिन्छ । आदिवासी सन्थाल जाति कै भएता पनि तुर्साले प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रही महत्वपूर्ण योगदान गरेका थिए । २०१५ सालको आमचुनावबाट १०९ सिट रहेको संसदमा ७४ सिटसहित दुई तिहाइ सिट जित्न सफल नेपाली कांग्रेसमा सबै तुर्सा जस्ता आस्थावान र इमान्दार नेता थिएनन् । नेपाली कांग्रेसभित्र आत्मघातीहरू पनि थिए । इतिहासमा दर्ज भइसकेको कुरा के हो भने २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई युवाहरूको कार्यक्रमस्थलबाटै सेनाले गिरफ्तार गरी कैयौं दिनसम्म बेपत्ता पारेर अन्त्यमा सुन्दरीजल जेलमा गैरकानूनी रूपमा बन्दी बनायो । त्यतिबेला सन्तनेता कृष्णप्रसाद भट्टराई, लौहपुरुष गणेशमान सिंह आदि जस्ता नेताहरूले वीपीलाई साथ दिए र प्रजातन्त्रको पक्षमा उभिए, राजाको सैनिक अधिनायकवादी शासनको विरोध गरे, तर नेपाली कांग्रेसका ७४ जना सांसद मध्ये ५५ जनाले राजाको कदमको स्वागत गरेका थिए ।

संसदमा चार सिट भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजङ्ग रायमाझीले राजा महेन्द्रको कदमलाई ‘प्रगतिशील कदम’ भनी वक्तव्य दिए र आफ्ना कमरेडहरूलाई दीपावली गर्न सुझाए । यस्तो बेलामा पनि आदर्शलाई बचाई राख्ने तुर्सा जस्ता लोकतन्त्रवादी नेताको आदर्शको चर्चा आजको सन्दर्भमा तीतो लाग्न सक्छ । तर, वास्तविकता भनेको तुर्सा जस्ता नेताको आदर्शलाई पाइतलामुनि कुल्चेकै कारणले आजको दुःख आइपरेको हो । सन् १९५० कै सेरोफेरोमा अंग्रेजको जञ्जिरबाट मुक्त भएको भारत, अमेरिकी र जापानी उपनिवेशबाट मुक्त भएको चीन, नयाँ राष्ट्रको रूपमा पुनःजीवन पाएको इजरायल लगायतका मुलुक विकासका सूचकांकमा धेरै प्रगति गरेका छन्, तर हाम्रो मुलुकले किन आशातीत उन्नति गर्न सकेन ? जनता सम्पन्न भएर मात्र नेता सम्पन्न हुनसक्छन् भन्नुभन्दा पनि नेता आफू मात्र सुखसुविधा लिने र मुलुकको सर्वाङ्गीण हित नसोचे कै कारणले नेपालको आजको दुर्दशा भएको हो ।

आज झापा–मोरङमा सन्थाल जाति लोप हुँदै गएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो मुलुक विविधताबीच एकताको सुन्दर फुलबारी हो । फुलबारीका सबै फूलहरू उत्तिकै आकर्षक हुन्छन्, उत्तिकै महत्वपूर्ण हुन्छन् । सन्थालमा रहेको अशिक्षा, चेतनाको कमी र पिछडापनका कारण टाठाबाठा सामन्तहरूले उनीहरूलाई धपाए र आज अत्यन्तै सानो संख्यामा खुम्चिन बाध्य भएका छन्– उनीहरू । यो चिन्ता र चासोको विषय हो । यसमा राज्यपक्ष सबैभन्दा बढी सजग हुनुपर्छ । सबै आदिवासी तथा जनजातिको भाषा, संस्कृति र परम्पराको संरक्षणको लागि ध्यान दिनु राज्यको कर्तव्य हो । जननायक वीपी कोइराला समावेशिताको शुरुवात गर्ने सफल राजनेता भएकोमा नेपाली कांग्रेस विश्वास गर्छ । तसर्थ, तुर्सा हेमरमले सन्थाल जातिका लागि मात्र नभएर समग्र मुलुकका लागि र जनताको सुख–समृद्धिका लागि आफ्नो समस्त जीवन अर्पेको स्मरण गर्दै समस्त जातजाति, भाषाभाषीको संरक्षण र विकासका लागि राज्य जिम्मेवार हुन आवश्यक छ ।

तुर्साका आदर्श र सपनालाई सबैले पछ्याएर मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । वर्तमान नेपाली राजनीतिमा निष्ठा र आदर्शप्रतिको बफादारितामा कमी भइरहेको यथार्थबीच प्रजातान्त्रिक समाजवादका सच्चा अनुयायी रहेका तुर्साको जीवनबाट प्रेरणा लिनुपर्छ । तुर्साको जीवनीबाट नेपाली कांग्रेस मात्र होइन, सबै पार्टीका नेतृत्वले आत्मसमीक्षा गर्न र नैतिकताको पाठ सिक्न जरुरी छ । निष्ठा, क्रियाशीलता र निरन्तरता तुर्साका सबल पक्ष थिए । सादगीपन, समर्पण र मुलुकको माया उनका अनुशरणीय गुणहरू हुन् । नेपाली जनताको मत र मन दुवै जित्न तुर्साको आदर्शबाट सिक्न आवश्यक छ । २०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो । आज हामी श्रद्धाका साथ उनलाई सम्झिरहेका छौं । उनले आफ्नो सम्पूर्ण ऊर्जा, क्षमता, वैंश, सुखसुविधा र ऐश्वर्य त्यागेर आदर्श र निष्ठाको राजनीति गरे ।

तुर्सा हेमरम जस्ता निष्ठावान, संघर्षशील र लोकतन्त्रप्रति प्रतिबद्ध नेताहरूको आदर्श भुलेर गुटबन्दी, नातावाद, कृपावाद, अहम् र स्वार्थकेन्द्रित भएमा फेरि पनि लोकतन्त्र धरापमा पर्ने हो, तुर्साका सपनाहरू बिस्कुन बनेर सडकमा असरल्ल छरिने हुन् र नेपालको अहित चाहने शक्तिहरूको मुलुकमा रजाइँ चल्ने हो । तुर्सा हेमरमको जीवनी सबै राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने नागरिकहरूका लागि अनुकरणीय छ । हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरे । उनले सामाजिक, राजनीतिक काम गर्न चाहनेका हृदय–हृदयमा इमान्दारिताको मिसाल खडा गरेर गए, चेतनाको दीप प्रज्ज्वलित गरेर गए र व्यक्तिगत स्वार्थलाई तीलाञ्जलि दिएर सोच्ने जो कोहीका लागि तुर्सा प्रेरणापुञ्ज बनेर सबैका हृदयमा छन् र रहनेछन् । हेमरम नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्र हुन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : ५९ बजे