१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

सिपले दिएको आत्मनिर्भरता : चन्द्रसूर्य सिप विकास संस्थाको प्रेरणादायी कथा



झापा जिल्लाको दमक नगरपालिका–९ मा सञ्चालित चन्द्रसूर्य सिप विकास संस्था आज धेरै गरिब तथा विपन्न परिवारका युवा–युवतीका लागि आशाको केन्द्र बनेको छ। सिप विकास तालिममार्फत उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै आएको यो संस्थाले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ।

वि.सं. २०८० सालमा चन्द्रसूर्य सिप विकास संस्थाबाट सञ्चालित व्युटिसियन तालिममा कमल गाउँपालिका–६ की मुन्ना मूर्मूलाई लुथरन संस्थाले सहभागि गराएको थियो। आर्थिक अवस्था कमजोर रहेको परिवारकी मुन्नाले छ महिने व्युटिसियन तालिम सफलतापूर्वक पूरा गरेपछि हाल सोही संस्थाबाट सञ्चालित व्युटिपार्लरमा काम गरिरहेकी छन्।

मुन्ना आमा–बुवा, एक वहिनी र एक भाइसँगै बस्दै आएकी छन्। खेतीपाती तथा कृषि पेशामा निर्भर परिवारको आम्दानी सीमित हुँदा घरखर्च चलाउन कठिनाइ थियो। पारिवारिक अवस्था कमजोर भए पनि मुन्नाले तालिमपछि पाएको रोजगारीले परिवारमा ठूलो राहत मिलेको छ। उनी घरको काममा सघाउने मात्र होइन, व्युटिपार्लरबाट कमाएको आम्दानीले आफ्नो खर्चसँगै घर खर्च पनि टार्दै आएकी छन्।

“काम पाएपछि म मात्र होइन, मेरो परिवार पनि खुशी छ,” मुन्ना भन्छिन्, “लुथरन संस्थाले निशुल्क तालिम दिलाएर मलाई आत्मनिर्भर बनाएकोमा म आभारी छु।”

मुन्ना मात्र होइन, कमल गाउँपालिका–१ की सालेना मूर्मूको कथा पनि उस्तै छ। सालेनालाई पनि लुथरन संस्थाले व्युटिसियन तालिममा सहभागि गराएपछि उनी सोही व्युटिपार्लरमा काम गर्न थालेकी हुन्। उनको पारिवारिक अवस्था पनि कमजोर रहेको छ। तर अहिले उनी तालिमबाट सिकेको सिप प्रयोग गरी कमाएको पैसाले घर खर्च र आफ्नो आवश्यकताहरू पूरा गरिरहेकी छन्।

सालेना भन्छिन्, “पहिला आम्दानीको कुनै स्रोत थिएन। अहिले आफ्नै मेहनतले कमाएको पैसाले घर चलाउन सक्दा आत्मविश्वास बढेको छ।”

चन्द्रसूर्य सिप विकास संस्थाले वि.सं. २०६३ सालदेखि सिप विकास तालिमअन्तर्गत व्युटिसियन तालिम सुरु गरेपछि हालसम्म सयौं युवा–युवतीले यसबाट लाभ लिइसकेका छन्। विशेषगरी गरिब, दलित तथा विपन्न समुदायका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिने तालिमले उनीहरूलाई रोजगारीको बाटो देखाएको छ।

संस्थाका अनुसार हालसम्म करिब सयौं महिलाले व्युटिसियन तालिम लिएर स्वदेशमै रोजगारी पाएका छन् भने केहीले आफ्नै व्युटिपार्लर सञ्चालनसमेत गरिरहेका छन्। यसले बेरोजगारी न्यूनीकरणसँगै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

लुथरन संस्थाद्वारा सञ्चालित चन्द्रसूर्य सिप विकास संस्था आज धेरैका लागि केवल तालिम दिने केन्द्र मात्र नभई जीवन परिवर्तन गर्ने माध्यम बनेको छ। आर्थिक अभावका कारण अवसरबाट वञ्चित युवाहरूलाई सिपमार्फत आत्मनिर्भर बनाउँदै आएको यो संस्थाको योगदान स्थानीय स्तरमा अत्यन्तै प्रशंसनीय रहेको छ।

सिप, आत्मविश्वास र अवसरको संगम बनेको चन्द्रसूर्य सिप विकास संस्था वास्तवमै धेरैको जीवनका लागि “जिवनदान” सावित हुँदै आएको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : २८ बजे