
आत्माराम राजवंशी
गौरीगंज १५, जेठ / गौरीगंज गाउँपालिका–२ साविक कोरोवारी गाविस–८, हेम्नाडाँगी । नेपाली समाजमा सन्थाल समुदायलाई प्रायः विपन्न, अशिक्षित र सिधा–सोझा नागरिकका रूपमा मात्र चिनिन्छ। तर यही समुदायभित्र जन्मिएका एक असल पात्र स्व. बहिरा टुडुले निस्वार्थ भावनाले समाजका लागि लाखौं मूल्य पर्ने जग्गा दान गरेर उदाहरणीय योगदान गरेका छन्।
वि.सं. २०४६ सालमा उनले देहात गाउँमा विद्यालय स्थापनाका लागि ५ कठ्ठा जग्गा निःशुल्क दान दिए। त्यसबेला देहात गाउँमा राज्यको पहुँच न्यून थियो। आधारभूत सेवा–सुविधाबाट वञ्चित गाउँमा बालबालिकाहरू शिक्षाको उज्यालोबाट टाढा थिए। त्यही अवस्था देखेर टुडुले आफैंले जोतेको, परिवारको भरणपोषण चलिरहेको मूल्यवान जग्गा विद्यालयको नाममा छाड्ने निर्णय गरे।
उनको योगदानबाट स्थापना भएको श्री जनकल्याण प्राथमिक विद्यालय अहिले कक्षा ५ सम्म सञ्चालनमा छ। सयौं बालबालिकाहरूले यहाँ शिक्षा हासिल गरिरहेका छन्। शिक्षाको औपचारिक ज्ञान प्राप्त नगरेका भए पनि बहिरा टुडुले शिक्षाको महत्त्वलाई गहिरो गरी बुझेका थिए। त्यसैले उनले आफ्नो सन्तानको मात्र होइन, सिङ्गो सन्थाल समुदायको भविष्यको चिन्ता गर्दै यस्तो कदम चाले।

शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित समुदायलाई शिक्षाको उज्यालोमा ल्याउने उनको योगदान सधैं सम्झनलायक छ। अहिले उनी हाम्रो माझ नरहे पनि उनका छोरा आइतबारे टुडु, बुहारी र नाति–नातिनीहरूको परिवार हेम्नाडाँगीमै बसोबास गर्दै आइरहेका छन्। परिवारले स्व। टुडुको स्मृतिलाई सम्मानपूर्वक जोगाउँदै आएका छन्।

समाजमा शिक्षाको आवश्यकता, भविष्य निर्माणको जग र सामूहिक चेतनाको स्तर उकास्ने प्रयासमा स्व। टुडुले जुन योगदान दिए, त्यसलाई केवल एक व्यक्तिगत निर्णय भनेर छुट्याउन सकिँदैन। यो सम्पूर्ण सन्थाल समुदायलाई शिक्षाको मूलधारमा जोड्ने प्रयत्न थियो। जब वर्तमान समयमा समाजसेवा शब्द धेरैलाई नाम र चर्चा कमाउने माध्यम बनेको छ, तर बहिरा टुडुजस्ता व्यक्तित्वहरू नै सच्चा प्रेरणा हुन्।

उनी न त राज्यबाट सम्मानित भए, न कुनै पुरस्कारले विभूषित। तर पनि उनी समाजको लागि बिर्सन नसकिने नाम बने। आजका पुस्ता र आउँदो पुस्ताले उनलाई स्मरण गर्नु जरुरी छ—एक सच्चा समाजसेवीका रूपमा, जसले जीवनमा आफ्नो भन्दा अरुको भलो हेर्न रुचाए।
उनीजस्ता निस्वार्थ योगदान गर्ने पात्रहरूको कथा लेखिँदै जानु पर्छ, पढिँदै जानु पर्छ र समाजले तिनबाट सिक्दै जानु पर्छ।

प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरियाको भनाई
स्व. बहिरा टुडुज्यूको योगदान बिना आज यो विद्यालयको कल्पना गर्न सकिँदैनथ्यो। उहाँले वि.सं. २०४६ सालमा निस्वार्थ रूपमा विद्यालय स्थापना गर्न पाँच कठ्ठा जग्गा दान गर्नुभएको थियो, जुन सच्चै समाज परिवर्तनको बीज थियो। गाउँमा राज्यको सेवा–सुविधा नपुगेको कठिन समयमा उहाँले शिक्षा जस्तो मूलभूत अधिकार सबै बालबालिकाले पाउनुपर्छ भन्ने गहिरो सोच राख्नु भयो। उहाँ स्वयं औपचारिक शिक्षा नपाएका भए पनि शिक्षाको महत्वलाई उहाँले जसरी बुझ्नुभयो – त्यो हामी सबैका लागि प्रेरणाको स्रोत हो। आज यहाँका सयौं बालबालिकाले शिक्षा पाउने अवसर पाएका छन्, त्यो उहाँकै कारण सम्भव भएको हो। विद्यालय परिवार उहाँप्रति सदैव ऋणी रहनेछ।
श्री जनकल्याण प्राथमिक विद्यालय शारीरिक रूपमा मात्र होइन, भौगोलिक रूपमा पनि निकै विकट ठाउँमा अवस्थित छ। विद्यालय पुग्न सहज सडक सञ्जाल छैन। गाउँका अधिकांश बालबालिकाहरूले विद्यालय जानको लागि खेतको साँघुरो आलीबाट हिँड्नुपर्छ, कतिपयले त खोला तर्नुपर्छ। विशेष गरी वर्षाको मौसममा खोलाहरूमा पानी बढ्दा आवागमन अत्यन्त कठिन हुन्छ।

विद्यालयको दक्षिणतर्फ बहने कन्काई खोला र पश्चिमपट्टि रहेको किष्णे खोलाले गाउँलाई घेराजस्तो बनाएको छ। यस्ता प्राकृतिक अवरोधका बाबजुद पनि यहाँका बालबालिकाले शिक्षाको ज्योति बाल्ने संघर्ष कहिल्यै रोकिएको छैन। बिहान चप्पल खोस्रिँदै, खुट्टा भिजाउँदै विद्यालय आइपुग्ने ती नानीहरूको अनुहारमा शिक्षाको भोक देख्न सकिन्छ।
त्यति कठिन बाटो पार गरेर आउने बालबालिकालाई पढाउने वातावरण बनाउने जिम्मेवारी विद्यालय प्रशासन र शिक्षकहरूमा आएको छ। प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया भन्छन्, – ‘यहाँका विद्यार्थीहरूका अनुहारमा जुन जिज्ञासा देखिन्छ, त्यो नै हामीलाई हरेक दिनको चुनौती पार गर्न प्रेरणा दिन्छ।’
विद्यालयको भौगोलिक कठिनाइले राज्यको ध्यान कम आकर्षित गरे पनि, समाजसेवी स्व. बहिरा टुडुजस्ता व्यक्तित्वहरूको दूरदृष्टिले यहाँ शिक्षाको आधार निर्माण भएको छ। अब समय आएको छ — यस्तो दुर्गम स्थानमा रहेको विद्यालयमा आवश्यक पूर्वाधार र सुविधाहरू पु¥याएर बालबालिकाको भविष्य अझ सुरक्षित कसरी बनाउने ?