समाचार विश्लेषण
आत्माराम राजवंशी
गौरीगंज / भारतीय राजनीतिमा परिवारवाद, विकृति र सत्ताका लागि नैतिकतामाथिको सौदा कुनै नयाँ विषय होइन। त्यसको सबैभन्दा ठुलो उदाहरण मानिँदै आएका छन् विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु प्रसाद यादव। राजनीतिक जीवनमा अनेक घोटालामा मुछिएका लालुलाई ‘भ्रष्टाचारको पर्याय’ भनिँदै आएको छ। तर, पछिल्लो कदमले उनले आफूलाई पूर्ण रूपमा खारेज गर्न खोज्नेहरुप्रति नैतिकताको एउटा उदाहरणीय जवाफ दिएका छन्।
आइतबार उनले आफ्नो जेठो छोरा तेजप्रताप यादवलाई छ वर्षका लागि पार्टीबाट मात्रै होइन, परिवारबाट पनि निष्कासित गर्ने घोषणा गरे। यो कदम भारत मात्र नभई नेपाल जस्ता देशका लागि पनि अनुकरणीय ठहरिएको छ। राजनीतिक र पारिवारिक सन्तुलनमा झुन्डिएका नेताहरूका लागि लालु यादवको निर्णय एक चुनौती बनेको छ।
तेजप्रताप यादव, जो बिहार विधानसभाका विधायकसमेत हुन्, उनी विगत केही समयदेखि व्यक्तिगत र सार्वजनिक व्यवहारका कारण विवादित बन्दै आएका थिए। शनिबार दिउँसो उनले एक युवतीसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै १२ वर्षदेखि प्रेममा रहेको बताएका थिए। पछि ती पोस्ट हटाउँदै फेसबुक ह्याक भएको दाबी गरे। तर, त्यो ‘ड्यामेज कन्ट्रोल’ को प्रयास कसैले पत्याएन – न परिवारले, न जनता वा मिडियाले।
लालु यादवले ‘विवाहबाहेकको सम्बन्ध’, ‘गैर जिम्मेवार व्यवहार’ र ‘परिवारका मूल्य विपरीत क्रियाकलाप’ लाई कारण देखाउँदै तेजप्रतापमाथि कठोर कारबाही गरे। एक हदसम्म राजनीतिक स्वार्थभन्दा माथि उठेर व्यक्तिगत नाताको गाँठो तोड्ने यस्तो निर्णय दक्षिण एशियाली राजनीतिक संस्कृतिमा एक ऐतिहासिक मोड हो।
नेपालमा पनि यस्ता विवाद नयाँ होइनन्। गिरीजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, ज्ञानेन्द्र शाह, कृष्णबहादुर महरा, रामबहादुर थापा जस्ता नेताहरू आफ्ना सन्तानका व्यवहार र निर्णयका कारण पटक–पटक आलोचित हुँदै आएका छन्। तर, तीमध्ये कसैले पनि स्पष्ट रूपमा आफ्ना सन्तानलाई कारबाही गरेको इतिहास छैन। उल्टै सन्तान मोहमा परेर उनीहरूको गलत क्रियाकलापको प्रत्यक्ष–अप्रत्यक्ष संरक्षण गरेका छन्।
यस्तो सन्दर्भमा लालु यादवको निर्णयले नेपाली राजनीतिक वृत्तलाई गहिरो प्रश्न गरेको छ— के हाम्रो नेतृत्वले पनि कुनै दिन यस्तै साहसी निर्णय लिन सक्छ? के नेताहरूले परिवार र सत्ताको सन्तुलन तोड्न सक्लान्?
नेपाली राजनीतिमा पारिवारिक उत्तराधिकारीको सत्तारोहण सामान्य भएको छ। बाबुको कुर्सी छोराले ओगट्ने, माताको सिफारिसमा छोरी मन्त्री बन्ने, परिवारकै आडमा राज्यकोष र पदको दुरुपयोग गर्ने प्रवृत्तिले नैतिकताको गम्भीर क्षय गरिरहेको छ। नेतृत्वको चाप परेपछि नेताहरूले ‘नैतिकता’को भाषण दिने तर व्यवहारमा विपरीत कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ।
त्यसैले अहिले लालु यादव जस्ता नेता, जसको आलोचना लामो समयदेखि गरिएको हो, उनीबाट नै नैतिकता र अनुशासनको सन्देश आउनु स्वयं दक्षिण एशियाली राजनीतिक संस्कृतिको विरोधाभास पनि हो र सम्भावनाको संकेत पनि। उनले आफैंलाई राजनीतिमा शुद्धिकरणका नयाँ मानक प्रस्तुत गर्ने अवसर दिएका छन्।
यस घटनाबाट एउटा स्पष्ट पाठ लिइन सकिन्छ— सत्तासीन नेता वा कुनै पनि पार्टीको नेतृत्वमा रहेकाले जब आफ्ना सन्तान वा आफन्तको अनुचित कार्यप्रति कठोर बन्न सक्दैन, तब उनीहरू आफ्नो नैतिक र राजनीतिक धरातल गुमाउन थाल्छन्।
आज नेपालको सन्दर्भमा यस्तो सवाल उब्जिनु स्वाभाविक छ— के कुनै नेताले अब लालु यादव बन्ने साहस देखाउनेछ? के कुनै नेताले आफ्ना सन्तानको गल्तीमाथि कारबाही गरेर ‘आदर्श’ को बाटो अँगाल्नेछ?
अहिलेसम्मको प्रवृत्ति हेर्दा यस्तो सम्भावनामा विश्वास गर्नु स्वप्नजस्तै लाग्न सक्छ। तर, नेतृत्वमा जब नैतिक निर्णयको आँट आउँछ, तब मात्रै समाज र राजनीतिमा वास्तविक परिवर्तन सम्भव हुन्छ। त्यसैले लालु यादवको यो कदम आलोचना मात्र होइन, अनुकरणको विषय पनि हो।
अब प्रश्न यत्ति हो — के नेपाली नेताहरूले पनि यस्तो आँट गर्नेछन्? कि सन्तान मोहकै दलदलमा फसेर ‘नैतिकता’को भाषणमा सीमित रहनेछन्?