
कचनकवल ३१, वैशाख / स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले कचनकवल गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको औपचारिक रूपमा विमोचन गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले विमोचन गरेका हुन् । स्थानीय पाठ्यक्रममा स्थानीय इतिहास, संस्कृति, भाषा र सामाजिक संरचनालाई समेटेको गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजवंशीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, वडाध्यक्षहरू, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल लगायत सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, पाठ्यक्रम निर्माण समिति सदस्य, , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।
कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलोपटक स्थानीय स्तरमै पाठ्यक्रम निर्माण गरी सोही अनुरूप पाठ्यपुस्तक प्रकाशन गरेको हो। स्थानीय पाठ्यक्रम निर्माण समिति सदस्य कर्ण बहादुर राजवँशीले स्थानीय पाठ्यक्रम निर्माणको माध्यमबाट शिक्षा प्रणालीलाई बालमैत्री, व्यवहारिक र स्थानीय आवश्यकताअनुकूल बनाउने लक्ष्य बनाउने लक्ष्य लिएको बताए ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले यस प्रयासलाई उदाहरणीय र अनुकरणीय कदम भन्दै अन्य पालिकाहरूलाई समेत यस्तै अभ्यास गर्न प्रेरणा दिने बताए। स्थानीय पाठ्यक्रममा समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, वेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।
कचनकवल ज्ञानमाला शृङ्खला कक्षा १ देखि कक्षा ८ सम्मको स्थानिय पाठ्यक्रमको रुपमा निमार्ण गरिएको उक्त पाठ्यपुस्तकमा स्थानिय ठाउँहरुको परिवेश, सामाजिक रितिथिति र परम्परा, रमाइला ठाउँ र घुमफिर, कृषि, उद्योग र आयआर्जन, सिप, स्थानिय खेलकुद र मनोरञ्जन, व्यक्तित्व विकास, स्वस्थ्य, नैतिकतालगायतका विषयवस्तुहरुसमेत समेटिएका छन् । उक्त गाउँपालिकामा बसोबास गर्ने राजवंशी, गन्गाई , सन्थाल, माझि,मुस्लिम,कुमाल समुदायको परिचय, रहनसहन,चाडपर्व, धार्मिक स्थल, थान मन्दिर,खानेकुरा, पहिरन, बाजागाजा,हाट बजारबारे परिचयसहित महत्व र सम्बन्धबारे उल्लेख गरिएको स्थानिय पाठ्यक्रम निमार्ण समितिका सदस्य कर्ण राजवंशीले बताए ।








