२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

बस्नेतको निधनले अधुरै रहने भयो डोमालालको घर र शालिक



झापा, बैशाख २६ । गत वर्षको फागुनमा छैठौं संस्करणको झापा गोल्डकप सम्पन्न गर्नेबित्तिकै अध्यक्ष विनोद बस्नेत अर्को पवित्र काममा लागिहाले । त्यो थियो– जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको सालिक र घर निर्माण गरिदिने । दाता डोमालाल राजवंशी र राजवंशी परिवारलाई उपेक्षा गरेको उनलाई मन परेन । भुइँमान्छेका लागि सँधै मरिमट्ने स्वभाव भएका सामाजिक व्यक्तित्व बस्नेतले डोमालालको परिवारको दुःख हेर्न सकेनन् । त्यही भएर डोमालालको घर र सालिक बनाइदिने अभियानमा उनी जुटिहाले ।

स्व. डोमालालका सन्तानका लागि बस्नेतले आफैबाट आर्थिक सहयोग गर्ने घोषणा गरे । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाए । डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिए ।

घरसंगै बस्नेतले डोमालालको सालिक बनाउने अठोट पनि लिए । उनले पवन राजवंशीलाई डोमालाल राजवंशीको स्केच बनाउन लगाई सोही स्केच अनुसारको अर्धकदको सिंगमरमरको सालिक भारतबाट बनाएर ल्याए । निर्माण भएर आएको सो सालिक बिगत ६ महिनादेखि झापा गोल्डकपको सचिवालयमा काठको बाकसभित्र थन्किरहेको छ । जग्गा व्यवस्थापन हुन नसक्दा निर्माण गरेर ल्याएको डोमालालको सालिक अलपत्र परेको हो । त्यस्तै घरको लागि आर्थिक सहयोग गर्ने दाताहरु तयार भएपनि नगरपालिकाले ठाउँ नदेखाइदिँदा घर निर्माण पनि शुरु हुन सकेन । आफूले बोलेको र प्रयास गरेको काम पूरा गर्न नसक्दा उनी चिन्तित देखिन्थे । ‘वडा कार्यालय र नगरपालिकाले जग्गा छुट्याइदिएको भए आजभोलि नै घर शुरु हुन्थ्यो ’ उनी भन्ने गर्थे ।

बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे । समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको थियो । डोमालालकी छोरी सम्पत्तिको गुजाराका लागि थप नगद सहयोग गर्ने उनले योजना बनाएका थिए ।

तिनै युवा समाजसेवी बस्नेतको आज निधन भएको छ । उनको अकल्पनीय निधनले डोमालालको घर र सालिक बनाउने योजना अलपत्र परेको छ । अब निवर्तमान अध्यक्ष बस्नेतको सो सपना पूरा गर्ने जिम्मेवारी हालका अध्यक्ष केदार गिरीमाथि आइपुगेको छ । बस्नेतको सो सपना अधुरो रहन नदिने गिरीले बताए ।

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् । (प्रतिदिन दैनिक अनलाइन संस्करणबाट साभार)

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ३९ बजे