१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तयारी सुरु



झापाली व्यवसायी पनि जाने
झापा, पुष १२ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी २०८१ हुने भएको छ । यो दोस्रो पटक प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । पुस्तक प्रदर्शनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागी हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रदर्शनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थीलगायतको सहभागिता हुने छ । उनका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटालगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रदर्शनीको अवलोकन गर्ने छन् । उनले भने, ‘पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि यो कार्यक्रम महत्वपूर्ण हुने छ ।’

पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा यसअघि २०८० को मंसिरमा साविककै ठाउँमा पहिलो पुस्तक प्रदर्शनी भएको थियो ।

महासंघ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै पुष १७ देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने महासंघका केन्द्रीय सह कोषाध्यक्ष रविन बरालले बताए । उनले भने,‘ यो पुस्तक प्रदर्शनीमा करिव १ लाख जनाले अवलोकन गर्ने छन् ।
‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिवसागर शर्माले जानकारी दिएका छन् ।

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश, श्रीलंका, क्यानडा, इटाली, जिम्बाबेसहितका अधिकांश देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू निर्माण हुने छन् । देश तथा विदेशका एक सय पचासभन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट हुने महासंघका महासचिव बिष्णुप्रसाद पौडेलले बताए । उनले भने, ‘प्रदर्शनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ ।

महोत्सव नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरूबिच छलफल , बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ ।

प्रदर्शनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका ५ हजारभन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जनभन्दा बढी देशका प्रकाशकहरूले प्रदर्शनीमा सहभागिता जनाउने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ४१ बजे