२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नागरिकतामा माइतीको थर भएका महिलाले राष्ट्रिय परिचयपत्रमा श्रीमान्‌को थर राख्न किन मिल्दैन ?



काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा नागरिकहरूले अनेकौं दुविधा झेल्नु परिरहेको हुन्छ । त्यस मध्येको एउटा हो, श्रीमान्‌को थर । खासगरी सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यस सम्बन्धी विधि र प्रक्रिया बारे विभिन्न टीकाटिप्पणी समेत सुनिन थालेका छन् । 

यदि माइतीकै थरमा नागरिकता बनेको छ र त्यही थर राखेर राष्ट्रिय परिचयपत्र बनाउने हो भने कुनै समस्या हुँदैन । तर माइतीको थर राखेर नागरिकता बनाइसकेका महिलाले विवाहपछि श्रीमान्‌को थरसहितको राष्ट्रिय परिचय पत्र बनाउन चाहे के गर्ने ?

यदि कुनै महिलाको नागरिकतामा आफ्नो श्रीमान्‌को थर छैन भने राष्ट्रिय परिचय पत्रमा पनि त्यस्तो थर राख्न मिल्दैन । यदि त्यस्ता महिलाले आफ्नो श्रीमान्‌को थर राष्ट्रिय परिचयपत्रमा राख्न चाहेको खण्डमा विकल्प भने खुला छ ।

त्यसका लागि पहिला नागरिकता संशोधन गरी आफ्नो श्रीमान्‌को थर राख्नु पर्ने हुन्छ । यसरी बनेको संशोधित नागरिकताको आधारमा महिलाले आफ्नो श्रीमान्‌को थर भएको राष्ट्रिय परिचयपत्र बनाउन सक्छन् । 

राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधिले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्दा नागरिकतालाई नै मुख्य आधारको रूपमा लिनुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा नाम थर नागरिकताभन्दा फरक पर्ने गरी राष्ट्रिय परिचय पत्र बनाउन मिल्दैन ।

तर नागरिकतामा श्रीमान्/श्रीमतीको नाम उल्लेख नभएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र वा नाता प्रमाणित, पेन्सन, राहदानी, जग्गा धनी प्रमाणपुर्जा, बसाइँसराइ, छोराछोरीको जन्म दर्ता प्रमाणपत्रमा उल्लिखित नाताको आधारमा राष्ट्रिय परिचयपत्रमा श्रीमान्/श्रीमतीको नाम भने राख्न मिल्छ । तर एउटै व्यक्तिको एकभन्दा बढी श्रीमतीको नाम भने राष्ट्रिय परिचयपत्रमा राख्न मिल्दैन । 

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ६ : ५६ बजे