९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्वर्गीय केशवकुमार बुढाथोकीको राजनीतिक जीवन



बिष्णु पौडेल, दमक/  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनले सिंगो झापा जिल्ला र नेपाली कांग्रेस पार्टी शोकमा डुबेको छ ।

झापाको शनिश्चरे स्थायी घर भएका बुढाथोकीको ८० बर्षको उमेरमा सोमबार राती करिब साढे ११ बजे विराटनगरमा निधन भएको हो ।  उहाँको आज कन्काई नदीमा अन्त्येष्टी गरिएको छ । स्वर्गीय बुढाथोकीको पार्थिव शरिरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका छन । पार्टी सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे लगायतले पनि शोक वक्तव्य निकालेर उहाँको निधनमा दुख व्यक्त गरेका छन ।
उहाँप्रति नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि श्रद्धाञ्जली दिनु भएको छ ।

उहाँ प्रोस्टेडको समस्याबाट पीडित हुनुहुन्थ्यो ।  पछिल्लो समय उहाँको मृगौलामा समेत समस्या देखिएपछि पाँच दिनदेखि विराटनगरको विराट टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँका श्रीमती गीता, दुई छोराबुहारीहरु आनन्दं र शिशिरं दुई छोरी ममतां र कविता तीन जना नाति र छ जना नातिनी छन् ।

भुँइमान्छेका कुमार दाई 

पञ्चायत कालदेखि संबैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतात्मक व्यवस्थाको समेत भरपुर उपयोग गर्ने भाग्यशाली नेताका रुपमा दर्ज भएका बुढाथोकी प्रभावशाली र हक्की स्वभावका नेताका रुपमा पहिचान बनाउन सफल हुनुभयो ।
नेता बुढाथोकी झापाका गाउँ गाउँसम्म भुइँ मान्छेहरुका माझ कुमार दाईको नामले चिनिनु भएको थियो ।
आफना नजिक मानिने कार्यकर्ता र आम सर्वसाधारण जनतामाझ समान किसिमको व्यवहार गर्ने स्वभावका उनी धेरैजसोलाई काँधमा धाप मारेर सुमसुम्याउँदै कडा स्वरमा बोल्ने गर्नुहुन्थ्यो ।
कसैको कुनै कुरामा चित्त नबुझे ठाडो प्रतिवाद गर्ने र आफना कुरा स्पष्ट रुपमा राख्ने स्वभावका कारण उहाँसँग हत्तपत्त कोही नजिक गएर पनि बोल्न सक्दैनन थिए । कोही उनको नजिक आए उसलाई अंकमाल गरेर ठाडो सम्बोधन गर्दै बोल्ने उनको विशेषता मन पराउनेहरु पनि थुप्रैछन झापामा ।

पञ्चायतदेखि संविधान सभा हुँदै गणतन्त्र सम्म बुढाथोकी
पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नु भएका नेता बुढाथोकी तत्कालिन राजा विरेन्द्रसँग विद्रोह गरेर चर्चामा आउनु भएको थियो । राष्ट्रिय पञ्चायत सदस्यबाट निष्काशनमा पर्नुभएका उहाँ जलस्रोत सहायक मन्त्री र जिल्ला पञ्चायतको सभापति पनि बन्नु भएको थियो ।
२०४६ सालमा पञ्चायत शासन विरुद्ध विद्रोह गर्दै शुरु भएको जनआन्दोलनपछि बहुदलीय व्यवस्थाका लागि नेतृत्व गरेको नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका नेता बुढाथोकी २०५१ सालमा झापाको पश्चीम भुगोल तत्कालिन झापा ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नु भयो ।
उहाँले त्यो निर्वाचनमा जनताको मतबाट जित्न नसके पनि कांग्रेस पार्टी भित्र कार्यकर्ताको मन जितेर अनुमोदित हुनुभयो ।
नेपाली कांग्रेस दोश्रो पटक विभाजन हुँदा २०५९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । नेता बुढाथोकी देउवा पक्षमा रहनु भयो ।
त्यसबेलाको संस्थापन पक्ष पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले देउवालाई कारवाही गरेपछि २०५९ साल असार ४ गते देउवाकै नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक नामक पार्टी स्थापना भयो । बुढाथोकी कांग्रेस झापा ( प्रजातान्त्रिक)को जिल्ला सभापति बन्नु भयो । पाँच बर्ष पछि फेरी दुवै पार्टीबीच एकीकरण भयो ।

पार्टी एकीकरणपछि पहिलो संविधान सभाको निर्वाचन २०६४ मा बुढाथोकीले झापाको तत्कालिन क्षेत्र नं ५ मा कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने मौका पाउनु भयो र निर्वाचन पनि जितेर देखाउनु भयो । पहिलो संविधान सभा चुनावमा कांग्रेसले देशैभर नराम्रोसँग पराजय ब्यहोर्दै गर्दा झापाका तत्कालिन निर्वाचन क्षेत्रहरु ७ वटा थिए । जसमध्ये क्षेत्र नं ५ मा मात्रै कांग्रेसको जित गराएर झापा जिल्ला लाल किल्ला हुनबाट जोगाउनु भएको थियो बुढाथोकीले ।
त्यसबेला उहाँसँग तत्कालिन नेकपा माओवादीका हर्क खडका निकटतम प्रतिद्धन्द्धी बन्नु भएको थियो ।

संविधान सभा विघटनपछि २०७० मा भएको निर्वाचनमा उहाँले साविक झापा ५ कै भुगोल हालको क्षेत्र नं ४ बाट संविधान सभा सदस्यका रुपमा निर्वाचित हुनुभयो ।
७० को निर्वाचनमा भने सो क्षेत्रमा उहाँसँग चुनावी मुकाबिलाका लागि नेकपा एमालेले व्यवसायी नेता एलपी साँवालाई उतारेर टक्कर दिने प्रयास गरेको थियो ।

साँवा र बुढाथोकीबीचको कडा चुनावी टक्करमा बुढाथोकीले बाजी मारेर संविधान सभामार्फत जारी भएको नेपाली जनताको संविधान पारित गर्ने सुनौलो अवसरको उपयोग गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न योगदान दिनु भयो ।
उहाँ २०७२ मा मुलुकको संविधान जारी पश्चात २०७३ बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नु भयो । त्यसो त उहाँ जलस्रोत सहायक मन्त्री भइसक्नु भएको थियो । फुल मन्त्रीको रुपमा भने सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भयो ।

भारतको पढाइ अंग्रेजी बोलाइ
२०२४ सालमा, विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा प्रवेश गर्नुभएका उहाँ विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने गर्नुहुन्थ्यो ।
सो क्रममा उहाँले नौ महिना जेल जीवन बिताउनु परेको पनि उहाँका निकटस्थहरु बताउँछन ।
पञ्चायतमा लागेर युवक संगठनको झापा जिल्ला सभापति समेत भई राष्ट्रिय पञ्चायतमा विजयी हुनुभएका बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए ।
भारतको दार्जीलिङ्मा अध्ययन गरेका कारण बुढाथोकीले बोल्ने बाक्यहरुमा धेरै अंग्रेजी शब्द मिक्स हुने गर्थे ।

युवालाई चुनौती दिएका पाका नेता
निडर र हक्की स्वभावका बुढाथोकी गत बर्षको मसिंरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा दुई हजार ५४ मत ल्याएर केन्द्रीय समिति सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो ।
युवा नेतृत्वको बहस पार्टी भित्र चर्कोरुपमा उठिरहेका बेला केन्द्रिय सदस्यमा ७८ बर्ष नाघिसकेका पाका नेता बुढाथोकी अधिक मतसहित निर्वाचित भएबाट उहाँको देशव्यापी लोकप्रियताको पारदर्शी मापन भएको मान्न सकिन्छ ।
गत साउनमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा कडा रुपमा प्रस्तुत भएर कांग्रेस भित्र थप चर्चामा आउनु भएका स्वर्गीय बुढाथोकीको अभाव कांग्रेसको पुस्तौं पुस्ता सम्म खडकिरहने निश्चित छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ११ : ४१ बजे