इन्द्रसिंह राजवंशी,
बिर्तामोड / यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त छ । जताततै भय र आशंकाले ब्याप्त बनाएको छ । ग्रामीणभन्दा शहरी जनताले अलि बढी असुरक्षित महसुस गरिरहेका छन् । विकसितभन्दा अल्पविकसित देशहरु कम प्रभावित भएका छन् । भन्नुपर्दा — गरिबभन्दा धनीहरु बढी कोरोनाको शिकार भएका छन् । यद्यपि रोगले राष्ट्रियता,धर्म,सम्प्रदाय, जात, वर्ग, लिङ्ग,उमेर केही पनि भन्दैन । विकासोन्मूख राष्ट्र नेपाल पनि यो विश्वव्यापी महामारीबाट अछुतो रहन सकेन ।
नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिसकेको पुष्टि भइसकेको छ । कोरोनाको उपचारमा लाग्नुभन्दा रोग भित्रन नदिनु सजिलो र उत्तम उपाय थियो । कोरोनाबाट बच्नका लागि सरसफाइमा ध्यान दिनुपर्ने जनचेतना फैलाउने काम ब्यापक भइरहेको छ ।
पूर्वी तराईमा आदिमकालदेखि बसोबासित राजवंशी समुदायमा हेर्ने हो भने हात धुने परम्परागत जातीय संस्कार नै रहेको छ । बाहिरबाट कोही आएको खण्डमा हातखुट्टा धुन लगाएर मात्र घरभित्र पस्न र खानेकुरा खान दिने प्रचलन रही आएको छ । अतिथि देवो भवः मा अगाडि रहेको राजवंशी जातिमा हात धुने परम्परालाई अतिथि सत्कारमा खासरुपमा लिने गरिन्छ ।
घरमा पाहुना आएपछि बस्न दिने अनि लोटा तथा बाल्टिनमा पानी ल्याएर हातखुट्टा धुन लगाउने संस्कार रहेको हो । बिशेष पाहुनालाई हातखुट्टा आफै धोइदिनेसमेत गर्छन् । पाहुना आएर बस्नेबित्तिकै झर्केको थालमा खुट्टा राख्न लगाएर झर्केको लोटाको पानीले हातखुट्टा धोइदिने संस्कार रहेको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी बताउँछन् । ‘यो अतिथि सत्कारभित्रको पहिलो कर्तव्य हो’उनी भन्छन् ,‘त्यसपछि अन्य सत्कार गर्ने गरिन्छ ।’ ‘पाहुनालाई हातखुट्टा धोइदिनका लागि पहिला ढोगेर प्रस्ताव गर्ने अनि अनुमति लिइसकेपछि एक—एक गरेर धुने गरिन्छ’ उनले भने ।
पाहुना आएर बस्नेबित्तिकै झर्केको थालमा खुट्टा राख्न लगाएर झर्केको लोटाको पानीले हातखुट्टा धोइदिने संस्कार रहेको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी बताउँछन् । ‘यो अतिथि सत्कारभित्रको पहिलो कर्तव्य हो’उनी भन्छन् ,‘त्यसपछि अन्य सत्कार गर्ने गरिन्छ ।’ ‘पाहुनालाई हातखुट्टा धोइदिनका लागि पहिला ढोगेर प्रस्ताव गर्ने अनि अनुमति लिइसकेपछि एक—एक गरेर धुने गरिन्छ’ उनले भने ।
कतिपयले धोइदिन लगाउने र कतिपयले आफै धुने गरेको लखनलालले बताए । वैवाहिक सम्बन्धका लागि केटा र केटी हेर्न आउने पाहुनालाई यो सत्कार राजवंशी जातिमा अनिबार्य मानिन्छ ।
बाहिरबाट फोहोरमैला भएर आउने पाहुनालाई हातखुट्टा धुन लगाउने संस्कार सरसफाइका निम्ति अत्याबश्यक र महत्वपूर्ण भएको शहरी स्वास्थ्य केन्द्र बिर्तामोड— १० सैनिकबजारकी अहेब बानु राजवंशी बताउँछिन् ।उनी भन्छिन् ‘यस्ता संस्कारलाई कहिल्यै छोड्नु हुँदैन ।’ पाहुना राति बसेको खण्डमा भोलिपल्ट खाना खुवाउनुअघि नुहाउन लगाउने र नुहाइसकेपछि शरीरमा दल्न तोरीको तेल दिने संस्कार पनि रहेको लखनलालले बताए । त्यसैगरी राजवंशी जातिको मृत्युसंस्कारमा पनि हात धुने परम्परा छ ।
परिवारका सदस्यको मृत्यु भएमा नातागोता, छरछिमेक र मलामी तीन दिनपछि तीनसिनानमा खोलामा नुहाएर चोखिने गर्छन् । खोलाबाट कर्म सकेर दिवंगत परिवारको घरमा फर्किदा हातखुट्टा धोएर र आगो तापेर मात्र घर छिर्नुपर्ने परम्परा रहेको हो । ‘दिवंगत परिवारको आँगन बाहिर भाँडोमा पानी र धुनी बालेर राखिएको हुन्छ’ लखनलालले भने,‘त्यो पानीले हातखुट्टा धुने अनि आगोमा हात सेकेपछि मात्र घरभित्र छिर्न पाइन्छ ।’ १२ दिनको कर्मकाण्ड बाह्रघाटमा पनि खोलाबाट फर्केर आउँदा सोही अनुसार हात धुनुपर्ने र सेक्नुपर्ने चलन रहेको लखनलालले थपे ।
घाटबाट फर्केकाहरुलाई शुद्ध पार्न त्यो परम्परा चलेको भएपनि स्वास्थ्य र सरसफाइको हिसाबले महत्वपूर्ण रहेको पत्रकार अर्जुन राजवंशी बताउँछन् । राजवंशी जातिमा केही संस्कार संस्कृतिलाई अहिले अंगिकार गर्न नसक्ने खालको भएपनि केही संस्कार बैज्ञानिक कारणले अरु जातिको लागि अनुसरणयुक्त भएको अर्जुनको भनाइ छ । हरेक शुभकार्य गर्नुभन्दा अघि हात धुनुपर्ने संस्कार पनि रहेको उनले बताए ।