६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापा प्रहरीले ४ महिनामा ६ सय भन्दा बढी आराेपीलाई पक्राउ


६ पुस २०७५, शुक्रबार  

0
Shares

crime-news
दमक ७, पुस /
जिल्ला प्रहरी कार्यालय झापाले चालु वर्षको चार महिनामा ६ सय २३ जना आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीले यो अवधिमा १ करोड २५ लाख ४६ हजार ४ सय ९३ रुपैयाँका चोरी तस्करीका सामग्री तथा नगद नियन्त्रणमा लिएको हाे । प्रहरीले साउनदेखि कार्तिक मसान्तसम्म सबैभन्दा बढी गम्भीर अपराधका घटनामा संलग्नलाई पक्राउ गरेको छ ।

गम्भीर अपराधमा संलग्न एक सय ६०, गुण्डागर्दीमा संलग्न एक सय १०, यौनजन्य घटनामा संलग्न एक सय ५, लागूऔषध नियन्त्रणअन्तर्गत ९८, विभिन्न समयमा भएका फैसला कार्यान्वयनअन्तर्गत फरार रहेकामध्ये ९७ र तासजुवा नियन्त्रण अभियानअन्तर्गत ५३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
यस अवधिमा भन्सार चोरी तस्करी गरी ल्याइएका एक करोड १० लाख ७७ हजार ३४ रुपैयाँ बराबरको सामग्री, तीन लाख मूल्य बराबरको ढुंगा, गिटी, बालुवा र काठ, ७ लाख ९६ हजार ३ सय २४ रुपैयाँ बराबरको पटका तथा तास खेलिरहेको ठाउँबाट मानिस पक्राउ गर्दा नगद तीन लाख ७३ हजार एक सय ३५ रुपैयाँ गरी कुल एक करोड २५ लाख ४६ हजार ४ सय ९३ रुपैयाँ बराबरको सामग्री तथा नगद बरामद गरेको एसपी ढकालले बताए ।
यो अवधिमा प्रहरीले डाइजेपाम, लुपिजेसिक र फेनारगन तीन हजार ४ सय ३४ एम्पुल, नुफिन ४ एम्पुल, नाइट्रोसन तीन सय ३३ चक्की, ब्राउन सुगर एक सय २३.९१ ग्राम, पियोमिन १४ थान, चरेस १ केजी ५ सय ग्रामलगायतका लागूऔषध बरामद गरेको प्रहरीको चौमासिक प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको १५ स्थानीय तहमध्ये बिर्तामोड, दमक र अर्जुनधारा नगरपालिकामा यौनजन्य घटनाहरू बढी हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । गत वर्ष बिर्तामोडमा सबैभन्दा बढी २१ वटा यौनजन्य घटना भएका थिए । दमकमा १३ र अर्जुनधारामा ११ वटा यौनजन्य घटना भएका थिए ।
मेचीनगरमा ८, कमल र बाह्रदशी गाउँपालिकामा ७/७, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा ६/६, शिवसताक्षी नगरपालिकामा ५, कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा ४/४ वटा यौनजन्य घटना घटेका थिए ।
हल्दिबारी गाउँपालिकामा ३ तथा गौरादह नगरपालिका र कचनकवल गाउँपालिकामा २/२ वटा यौनजन्य घटना घटेका थिए । गत वर्ष झापा गाउँपालिकामा भने यौनजन्य कुनै घटना नघटेको जिल्ला प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष अपराधका घटना भने मेचीनगर नगरपालिकामा सबैभन्दा बढी भएको थियो । मेचीनगरमा २ सय ६३, दमकमा २ सय १८, बिर्तामोडमा २ सय ३, कनकाईमा एक सय ९३, अर्जुनधारामा १ सय ७४, कमलमा एक सय ५५, बुद्धशान्तिमा ८४, भद्रपुरमा ८२, हल्दिबारीमा ६९, शिवसताक्षीमा ५६, गौरीगञ्जमा ४९, गौरादहमा ४३, कचनकवलमा ४१, झापामा ३७ र बाह्रदशीमा २१ वटा अपराधका घटना भएका थिए ।
ईकान्तिपुरबाट

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ८ : ५८ बजे