३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

अाज छठ पर्व, सुर्य देवताकाे पुजा गरी मनाईँदै


२७ कार्तिक २०७५, मंगलबार  

0
Shares

chhat

काठमाडाैँ २७, कात्तिक / दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना ! वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।
विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।

तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ७३घढसनहार्इ खाय७३घढस, दोश्रो दिनलाई “खर्ना” भनिन्छ, तेश्रो दिनलाई “सँझिया अर्घ्य” छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई “विहनीया अर्घ्य” पारण भनिन्छ ।

अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफागर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेश्रो दिन “सँझिया घाट”अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको
पाइन्छ ।

छठ मन्त्र ः
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।

आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ ।

छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलार्इ श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरु फिजाएर राखिन्छ र पानीमा पसेर एक एक सामाग्रिलार्इ बाँसको चोयाले बनेको अर्को पारम्परीक सामाग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान पनि सोहि अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सुर्यलाई अर्घ्य चढाइन्छ । छठको ब्रत बस्नेले एक महिना अघिदेखि नै लसुन प्याजका साथै मांसाहारी आनीबानी बन्द गर्नुपर्दछ ।

जनकपुरको गंगासागर, धनुसागर, बिरगंजको बिन्दबासीनी, काठमाडौको रानीपोखरी, कुपण्डोल बाग्मती, बोक्सीदह लगायत तराई अनि मध्यपहाडी भेकका अधिकांश् जलाशयहरु छठ का उपलक्ष्यमा बिशेष सजाइएका छन् ।

छठ संगै चाडपर्वका लावालस्करहरु केही महिना मत्थर हुन्छन् , अब धानवाली काट्ने, दाउनी गर्ने अनि अन्न भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्न लाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभावस्वरुप भएको जनउक्ति छ भने द्रोपतीले पनि छठको व्रत लिएको कुरा पनि उल्लेखीत छ ।

प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको हामीसबैलाई शुभकामना । हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाकालागी सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरु ले उदाँउदो र अस्ताँउदो सूर्य लाई अर्घ दिँदा प्रकृती र मानव बिचको गहिरो अन्र्तसम्बन्ध लाई सनातन सस्कारले शदियौं देखि पूर्नपरिभाषीत गरिरहेको भान हुन्छ ।
हाम्राे पात्राे ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार  ३ : ३१ बजे