१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अवैध सामान धमाधम बरामद हुदै


३१ आश्विन २०७४, मंगलबार  

0
Shares

police

गौरीगंज / चाडपर्व नजिकिएसँगै भारतका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
झापाका मेचीनगर, केचना, बाह्रदर्शी, गौरीगंज लगायतका स्थानबाट १६ लाख मूल्य बराबरको लत्ताकपडा, पटका, इलेक्ट्रोनिक्स सामान, भारतबाट ल्याइएका कुखुरा, अण्डा लगायतका सामान पक्राउ गरेको सशस्त्र प्रहरी कार्यालय झापाका प्रमुख एसपी रमेश सुवेदीले जानकारी दिए ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका सामानलाई पक्राउ गरेर भन्सार बुझाएको जनाइएको छ । सशस्त्र प्रहरी भन्सार गुल्म काँकरभिट्टाको टोलीले असोज १गते मेचीनगर–६ बाट १५ हजार मूल्य बराबारको लत्ताकपडा बरामद गरेको थियो । त्यस्तै असोज ४ गते सोही स्थानबाट २ लाख ८० हजार मूल्य बराबरका कस्मेटिक सामान तथा मोटर पाट्र्सका सामान बरामद गरेर मेची भन्सार कार्यालयमा बुझाएको एसपी सुवेदीले जानकारी दिए ।
यसैगरी इलाका प्रहरी कार्यालय गौरीगंजको गस्ती टोलीले अवैधरुपमा साइकलमा ल्याइराखेको पटका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक नारायण प्रसाद गौतम नेतृत्वको टोलीले नेपाल भारत सीमानजिक फत्तेपुरमा १० हजार रुपैया“ बराबरको पटाका बरामद गरेको हो ।

त्यस्तै असोज ६गते भद्रपुर नगरपालिका–२बाट ३८ हजार मूल्य बराबरको हार्डवेयरका समान बरामद गरेको थियो । सशस्त्र प्रहरीले सोही दिन बाह्रदशी–१बाट दुई हल राँगा चोरी गरेर लैजाँदै गरेको अवस्थामा दुई व्यक्तिसँगै चारवटा राँगा नियन्त्रणमा लिएको बताइएको छ । ४० हजार गोटाको राँगा पक्राउ गरेको र उक्त घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले असोज १८गते मेचीनगर–६बाट ४५ हजार मूल्यबराबरको किराना सामान पक्राउ गरेको थियो । त्यस्तै २० गते मेचीनगर–६बाटै एक लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा, २७ गते मेचीनगर–१० बाट एक लाख १२ हजारको लत्ताकपडा, २९गते मेचीनगर–६ बाटै १ लाख ५५ हजार मूल्य बराबरको इलेक्ट्रोनिक सामान तथा सिटी रिक्साका ब्याट्री बरामद गरेको बताइएको छ । सशस्त्र प्रहरीले असोज १३ गते मेचीनगर–६बाट २८ हजार मूल्य बराबरको लत्ताकपडा, २५ गते केचनाबाट २५ हजार मूल्य बराबरका अवैध सामानहरु बरामद गरेको बताइएको छ ।
सशस्त्र प्रहरी असोज महिनाको २५ गते मेचीनगर–१० बाट अवैध रुपमा राखिएको ४ लाख २० हजार मूल्य बराबरको सालको गोलिया काठ समेत बरामद गरेर जिल्ला वन कार्यालयमा बुझाएको जनाइएको छ । चाडपर्व नजिकिएसँगै बिस्फोटक पदार्थ भित्रिने क्रम बढेको सूचनाको आधारमा चेकजाँच गर्दा मेचीनगर–१०बाट असोज २८ गते ५० हजार मूल्य बराबरको विभिन्न प्रकारका पटका समेत बरामद गरेको एसपी सुवेदीले जानकारी दिए ।
तिहारमा बिस्फोटक पदार्थ धेरै भित्रिने भएकाले जिल्लाका सबै स्थानमा चेकजाँचलाई तीब्रता दिएको एसपी सुवेदीले बताए । उनका अनुसार केही दिनअघि मात्रै ठूलो परिमाणमा पटका बरामद भएको छ । सशस्त्र प्रहरीले भद्रपुरबाट एक लाख मूल्य बराबरको पटका बरामद गरेर नष्ट गरेको जनाएको छ ।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याएको ब्रोइलर कुखुरा तथा अण्डा समेत पक्राउ गरेर नष्ट गरेको छ । सोही क्रममा असोज १० गते मेचीनगर–६बाट १३ हजार मूल्य बराबरको ब्रोइलर कुखुरा तथा अण्डा बरामद गरेको थियो ।
त्यस्तै सोही दिन केचनाबाट ८ हजार मूल्य बराबरको कुखुराको चल्ला तथा अण्डा बरामद गरेर नष्ट गरेको बताइएको छ ।सशस्त्र प्रहरीले यसपटक चाडपर्व आउन अगाबैदेखि बिस्फोटक पदार्थ भित्रिने क्षेत्रमा चेकजाँचलाई कडाइ गरेकाले बिगतका वर्षहरुभन्दा कम मात्र नेपाल भित्रिएको दाबी गरेको छ । तिहार शुरु भएपछि झनै धेरै बिस्फोटक पदार्थ भित्रिने आशंकामा सीमावर्ती क्षेत्रमा चेकजाँचमा कडाइ गरेको एसपी सुवेदीले बताए ।

उनले बरामद भएका लत्ताकपडा तथा इलेक्ट्रोनिक सामानहरु मेची भन्सार कार्यालयमा बुझाएको जानकारी दिए । पटका, अवैध कुखुराको चल्ला तथा अण्डा लगायतका सामानहरु भने नष्ट गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजमार्ग तथा विभिन्न क्षेत्रमा चेकजाँचमा कडाइ गरे पनि भारतीय बजारहरुबाट अवैध रुपमा बिस्फोटक पदार्थ भित्रिने क्रम भने बढ्दै गएको स्थानीयको भनाइ छ । मंगलबार (आज) बाट नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भए पनि एक साता अगावैबाट बिर्तामोड लगायतका स्थानमा पटकाजन्य बिस्फोटक पदार्थ पड्काउन शुरु गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार  १२ : १९ बजे