४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इँटा उद्योग सञ्चालनमा ल्याउन लागेको भन्दै स्थानीयको विरोध


१० भाद्र २०७४, शनिबार  

0
Shares

vatta

गौरीगंज / झापाको गौरादह-६ स्थित हेङगाटोलीमा बस्तीको ५० मिटर आसपासा इँटा उद्योग सञ्चालनमा ल्याउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन्।गौरादह ७ का विनोद साह र गौरीगञ्ज ६ का अरुण साहले स्थानीयको मन्जुरीविना शिवम् इँटा उद्योग सञ्चालन गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। इँटा उद्योग स्थापना गर्दा मानवबस्तीबाट करिब १ किलोमिटरको दूरीमा स्थापना गर्नुपर्ने नियम भए पनि उक्त इँटा उद्योग मानवबस्तीबाट ५० मिटरको फरकमा स्थापना गर्न लागेको स्थानीयको आरोप छ। उद्योग सञ्चालकहरुले घरेलु उद्योगमा दर्तासमेत गराएर प्रक्रिया अघि बढाएको भन्दै यो कार्य रोक्न स्थानीयले आग्रह गरेका हुन्। अधिकांश आदिवासी बसोवास गर्ने उक्त स्थानमा स्थानीयलाई लोभमा परेर जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याउन लागेको स्थानीय श्रीप्रसाद राजवंशीले बताए। उनले भने, ‘यहाँका सोझा आदिवासीलाई जग्गाको भाउ केही महँगो दिएर तथा लोभ देखाएर उद्योग स्थापना गर्न खोजिँदै छ।’ उनले उक्त उद्योग सञ्चालनमा आएमा आफूहरुको उठिवास नै लाग्ने बताए। उनले भने, ‘यहाँ उद्योग सञ्चालनमा आयो भने हाम्रो उठिवास नै लाग्छ, खेतीयोग्य जमिन मासिन्छ, हामीलाई इँटाभट्टाका कारण विभिन्न रोग लाग्छ, त्यसैले हामीले विरोध जनाएका हौं, यहाँ इँटाभट्टा सञ्चालन गर्न दिँदैनौं।’ उनले यहाँका स्थानीयको दैनिकी धानखेतीबाटै चलेको भन्दै इँटाभट्टा सञ्चालनमा आए खेतीयोग्य जमिन सखाप हुने बताए। उनले भने, ‘ इँटाले खेतीमा धेरै असर गर्छ, यदि यहाँ उद्योग खोल्ने हो भने हामी त यहाँ छोडेर गए पनि हुन्छ, हाम्रो मुख्य खाने मेलो भनेकै यही खेती हो।’ उनले अझै पनि भट्टा सञ्चालकहरुले विभिन्न लोभ देखाइरहेको बताए। उनले भने, ‘अहिले पनि धेरै लोभ देखाएका छन्, कहिले रोजगार दिन्छौं भन्छन् त कहिले मन्दिरहरुलाई इँटा निःशुल्क दिन्छौं भन्छन्, हामी नै त्यहाँ बस्न नसकेपछि किन चाहियो मन्दिर, गाउँमै बस्न नसक्ने भएपछि हामीलाई किन चाहियो रोजगार?’ उनीहरुले आफूहरु कुनै पनि हालतमा इँटा उद्योग सञ्चालनमा आउन नदिने बताए। उनीहरुले उद्योग स्थापनाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै यसलाई रोक लगाउन माग गर्दै अदालतमा निवेदनसमेत दिएको बताएका छन्। उनीहरुले यहाँ इँटा उद्योग सञ्चालनमा ल्याउन उद्योग विकास झापाको पटकपटक निवेदन दिँदासमेत अटेर गरेको आरोप लगाए। मृत्यु भइसकेको मान्छेको सर्जिमिन हस्ताक्षर उक्त उद्योग सञ्चालन गर्न त्यस क्षेत्रमा विनोद र अरुणले करिब ५ बिघा जग्गासमेत खरिद गरेका छन्। उक्त स्थानमा सञ्चालन गर्न वरिपरिका सँधियारले स्वीकृति दिनुपर्छ। जसका लागि सर्जिमिन आवश्यक पर्छ सर्जिमिन गर्ने क्रममा वडा सचिवले सेटिङ गरेको स्थानीयले आरोप लगाएका छन्। सर्जिमिनका क्रममा सँधियारहरुलाई समेत जानकारी नदिई गरिएको स्थानीय श्यामलाल राजवंशीले बताए। उनले भने, ‘सिधा जनतालाई विभिन्न प्रलोभन देखाएर ल्याप्चे लगाउन लागाइएको छ, ल्याप्चे लगाउनेमा एकजना आँखा नदेख्ने पनि हुनुहुन्छ, उहाँलाई पढेरसमेत नसुनाई जबरजस्ती ल्याप्चे लगाउन लगाएका रहेछन्।’ ३१ साउनमा गरिएको सर्जिमिनमा अचम्मको कुरा त के छ भने ०५६ साल चैत्र ११ गते मृत्यु भएका उक्त जग्गाका सँधियार धामीलाल राजवंशीको समेत हस्ताक्षर भेटिएको छ। उक्त कार्यमा वडा नम्बर ६ का वडा सचिव खेम संग्रौलाले समेत सेटिङ गरेको आरोप लगाए। धामीलालको ल्याप्चे सर्जिमिनमा भेटेपछि जबरजस्ती सचिवले उद्योगलाई सिफारिस गर्न खोजेको भन्दै स्थानीयले सचिवमाथि आरोप लगाएका हुन्। स्थानीयले मृतक ताजपुरियाको ०५७ साल वैशाख ४ गते तत्कालीन कोहवरा गाविसमा दर्ता भएको मृत्यु दर्ता प्रमाण पत्रसमेत फेला पारेका छन्। उक्त स्थानमा १ सय ५० घरधुरी वसोबास गर्दै आएका छन्। स्थानीयहरु नगरपालिका तथा वडा कार्यालय जाँदा जनप्रतिनिधिहरुले हुन्छ मात्र भन्ने तर, काम नगर्ने गरेको भन्दै स्थानीय शन्तकुमार राजवंशीले आपत्ति जनाए। यता, वडा सचिव खेम संग्रौलाले तत्कालका लागि उद्योग सञ्चालनमा रोक लगाउने काम भएको भन्दै पन्छिन खोजे। उनीसँग मृत्यु भइसकेका मान्छेको नाम सर्जिमिनमा उल्लेख भएको भन्ने प्रश्न गर्दा उनले आफूलाई यकिन थाहा नभएको बताए। उनले भने,‘सर्जिमिन गर्दा फलानो मै हुँ भन्दै आए, त्यसकारण पनि यस्तो भएको हुनुपर्छ, मलाई यकिन थाहा भएन, दुईवटा नाम पनि हुन सक्छ।’ गौरादह नगरपालिकाका प्रमुख रोहित साहले भने तत्कालका लागि उद्योग सञ्चालनमा रोक लगाएको बताए। उनले भने, ‘स्थानीयले दिएको निवेदनका आधारमा तत्कालका लागि हामीले उद्योग सञ्चालनमा रोक लगाएका छौं, उद्योग स्थापनामा हाम्रो रोक होइन मापदण्डमा रहेर स्थापना गर्न पाइन्छ, अहिले तत्काल हामी बाढी प्रभावित क्षेत्रमा केन्द्रित छौं, अब त्यहाँ गएर के रहेछ हामी बुझ्छौं।’ सर्जिमिनमा मृत्यु भइसकेका धामीलालको ल्याप्चेका विषयमा भने आफूसमक्ष जानकारी नआएको शाहले बताए। उनले भने, ‘यसबारे मलाई जानकारी आएको छैन, के रहेछ म बुझ्छु।’

vatta2

चिरञ्जीवी घिमिरेबाट

प्रकाशित मिति : १० भाद्र २०७४, शनिबार  ११ : ३१ बजे