१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ताजपुरियाद्वारा स्वायत्त क्षेत्रको माग


८ मंसिर २०७३, बुधबार  

0
Shares

Tajpuriya photo

बिराटनगर / स्थानीय तहको पुनर्संरचना सिफारिसमा ताजपुरिया स्वायत्त क्षेत्रको माग नसमेटिएको भन्दै पूर्वी मोरङमा रहेका ताजपुरिया समुदायले मंगलबार स्थानीय विकास अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । महादेवा, झुर्किया, वरडंगा, इटहरा र गोविन्दपुर गाविसलाई मुख्य बसोबास क्षेत्र बनाउँदै आएका ताजपुरिया समुदायले स्वायत्त क्षेत्रको सट्टा रतुवामाई नगरपालिका सिफारिस गरिएको भन्दै विरोध जनाए ।
नेपालमा ताजपुरियाको संख्या १९ हजार २ सय १३ रहेको र त्यसमध्ये ६ हजार ४ सय ५८ जना मोरङमा रहेको ताजपुरिया समाज कल्याण परिषद मोरङका अध्यक्ष नारायण ताजपुरियाले जानकारी दिए । सघन बस्तीमा एकै ठाउँ बस्दै आएका लोपोन्मुख समुदायका लागि स्वायत्त क्षेत्र छुट्याउने संवैधानिक व्यवस्था भएपनि त्यसको विपरीत स्थानीय तहको पुनर्संरचना खाका सिफारिस भएको उनले बताए ।
स्थानीय विकास अधिकारीको संयोजकत्वमा हुने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मोरङ जिल्लामा एक महानगरपालिकासहित १० वटा नगरपालिका र छ वटा गाउँपालिका सिफारिस गरेको छ । लोपोन्मुख सूचिमा रहेका ताजपुरिया समुदायको बाहुल्यता रहेको क्षेत्रलाई रतुवामाई नगरपालिका भनेर सिफारिस गरिएकाले विरोधमा उत्रिनु परेको परिषदका सचिव शैलेन्द्र ताजपुरियाले बताए । आफ्नै भेषभूषामा जिविसमा जम्मा भएका उनीहरुले अग्राधिकारसहितको स्वायत्त क्षेत्र कायम नहुन्जेल आन्दोलनमा उत्रिने बताए ।
ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले प्राविधिक सहयोग समितिमा ताजपुरिया समुदायबारे कुनै पनि दलबाट स्पष्ट जानकारी नआएका कारण यस्तो समस्या आएको बताए । जिल्लाको पुनर्संरचना प्रतिवेदन हाल केन्द्रमा पठाइसके पनि ताजपुरिया समुदायको मागलाई प्राथमिकताका साथ पुनः जानकारी पठाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ८ मंसिर २०७३, बुधबार  ६ : २० बजे