६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

जनताको करबाट ब्राण्डेड समान मगाउनु अपराध हो


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

राष्ट्रपति, प्रधानमन्त्रीदेखि सभामुखसम्मले ब्राण्ड तोकेर सरकारलाई सामान किनाउँछन् । मन्त्रीहरु भने सरकार परिवर्तनपछि क्वाटर छाडेर जाँदा सरकारी सामान पनि सँगै बोकेर जान्छन् । यसै विषयको सेरोफेरोमा रहेर सरकारका पूर्वमुख्य सचिव विमल कोइरालासँग  गरेको कुराकानीःBimal-Koirala 1

उच्च सरकारी अधिकारीहरुले ब्राण्ड नै तोकेर सरकारको खर्चमा सामान मगाउने, क्वार्टरबाट निस्कँदा सरकारका सामान पनि बोकेर हिँड्ने, विशिष्ट पदाधिकारीको यस्तो गतिविधिलाई के भन्ने ?

यो राज्यस्रोतको अनैतिक दुरुपयोग हो । पदमा हुँदा पदाधिकारीको ध्यान राज्यलाई केही दिने भन्दा पनि राज्यबाट कति लिन सकिन्छ भन्नेमा केन्दि्रत भएको देख्छु । व्यक्तिगत खर्च गर्ने ठाउँमा पनि राज्य स्रोतबाट खर्च गर्छन् । आफ्नो घरको काम अफिसका मान्छेलाई गराउँछन् । आर्मी, प्रहरीका हाकिमहरुको घरमा त रिटायर्डपछि पनि काम गर्ने मान्छे राखेको हुन्छ । व्यक्तिगत फाइदाका लागि राज्य स्रोतको दोहन हो यो ।

ब्राण्ड तोकेर सामान मगाएका छन्, यस्तो मिल्छ ?

समानको ब्राण्ड नै तोक्ने त अपराध हो । गरिवले दुई छाक खान सकेको छैन, बालबच्चा पढाउन सकेको छैन । बच्चा बिरामी हुँदा उपचार गर्न नसकेर कति बच्चा मरे होलान् । त्यस्ता नागरिकले तिरेको करमा विशिष्ट पदाधिकारीका नाममा मोजमस्ती गर्नु अपराध नभए के हो ? यो जस्तो गम्भीर अपराध त केही हुँदैन ।

पूर्वमन्त्रीहरु पुलिस राखेर साइरन बजाउँदै हिँड्छन्, कानुनीरुपमा उनीहरुले साइरन बजाउने र सुरक्षाकर्मी राखेर हिँड्ने व्यवस्था नै छैन ।

ती पदाधिकारीहरुलाई राज्यकोषमा पैसा कसरी जम्मा हुन्छ भन्ने थाहा हुँदैन ?

सबैमा मैले शक्तिमा हुँदा राज्यको कति सम्पत्ति व्यक्तिगत बनाउन सक्छु भन्ने होड हुन्छ । मैले पदमा रहँदा कस्ता मान्छेका लागि काम गर्नुपर्ने हो, त्यस्तो फिल नै गर्दैनन् । राज्यको स्रोतको जति दोहन गरे म उति ठूलो मान्छे हुन्छु भन्ने भ्रम छ । तर यो भ्रममात्र हो । जनताले त उसलाई गाली गरिरहेका छन् । दुईपटि गार्ड राखेर कार्यकर्ता भेट्न जान्छ । त्यो ठूलो मान्छे हुने कुरा होइन, उसलाई आफुमाथि नै विश्वास भएन ।

चाँडै धनी बन्ने मानसिकताले यस्तो हुन्छ कि, अन्य कुनै सामाजिक कारण छ ?

म समाजको अरुभन्दा फरक मान्छे हुँ भन्ने देखाउन धेरैले राज्यकोषको दुरुपयोग गरेर रवाफ देखाउँछन् । म हिजोसम्म नागरिकमात्र थिएँ, भोलि पदबाट हटेपछि पनि फेरि त्यहीँ र्फकने हो भन्ने उनीहरुले बिर्सन्छन् । खासमा त्यो पैसा राज्यकोषमा कसरी जम्मा हुन्छ भन्ने कुरा राम्ररी बुझेकै छैनन् । यदि बुझेका हुन्थे भने त्यसरी दुरुपयोग गर्ने थिएनन् । म शक्ति हुँ, भिन्न मान्छे हुँ भन्ने महसुस भएपछि राज्य स्रोतको दोहन गर्छन् ।

हेर्नुस त पूर्वमन्त्रीहरु पुलिस राखेर साइरन बजाउँदै हिँड्छन् । कानुनीरुपमा उनीहरुले साइरन बजाउने र सुरक्षाकर्मी राखेर हिँड्ने व्यवस्था छैन । तर, हिँडिरहेकै छन्, कसले भन्ने यो कानुन विपरीत हो भनेर ?

सुरक्षा संवेदनशीलताका कारण सुरक्षाकर्मी लिनु परेको तर्क गर्छन् नि ?

उसोभए जनतालाई सुरक्षा थ्रेट छैन ? पदमा रहँदा जनताको काम गरेनन् अनि थ्रेट भयो । राम्रो काम गरेको भए जनताबाट वाह-वाह पाइहाल्थे नि । राम्रो काम नगर्ने, उसलाई गल्ती महसुस भइरहन्छ । हिजो आफुले गरेको गलत कामको डर भयो । अरु कुनै सुरक्षा थ्रेट होइन । जसले बढी गल्ती गर्छ, उति नै कमजोर हुन्छ । जति बढी कमजोर महसुस गर्छ, त्यति नै बढी सुविधा लिन्छ ।

तपाई मुख्य सचिवसमेत बन्नुभयो, तपाईलाई चाँही सुरक्षा थ्रेट भएन ?

पदमा हुँदा पनि नहुँदा पनि मैले त सुरक्षाका मान्छे लिइँन । अहिले पनि सडक पेटीमा एक्लै हिँडिरहेको हुन्छु । तर, आजसम्म मैले सुरक्षा थ्रेट महसुस गरेको छैन । एक्लै हिँड्छु खै त्यस्तो असुरक्षित महसुस गरेको छैन ।

विशिष्ट पदाधिकारीले ख्याल गर्नुपर्ने कुरा के हो ?

सरकारी ऐनले दिएको स्रोत र साधानको मात्र सुविधा दिनुपर्छ । मन्त्रीबाट हटेको दिन सुविधा लिनुहुँदैन भन्नेकुरा नेताहरुले सोच्दै सोचेनन् । राजनेता भनेको त जनताको विस्वास जितेर उनीहरुको मायाँ पाएर हुने हो । अनि त्यो जनतालाई अविस्वास गरेर पदबाट हटेपछि पनि प्रहरी राखेर कुदेर हुन्छ ?

यत्रा समस्या समाधानका लागि मुख्य सचिव हुँदा तपाईले किन सुधार खोज्नुभएन ?

सबै कुरा मुख्य सचिवले सुधारदिने होइन । हरेक कुराका लागि ऐन कानुन बनाएर पनि साध्य लाग्दैन । प्रचलन र मान्यताका आधारमा पनि चल्नुपर्छ । कानुनले केही बोलेको छैन भन्दैमा अतिरित्त दोहन गर्न त भएन नि ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १ : ०५ बजे