३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रधानमन्त्रीले भने– ‘दुवै छिमेकसँग सम्बन्धको आ–आफ्नै महत्त्व’


१४ चैत्र २०७२, आइतबार  

0
Shares

चैत्र १४ / kp-sharma-oli प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग नेपालको सम्बन्ध एकै स्थानमा राखेर दाँज्न नमिल्ने बताएका छन् ।

दुवै छिमेकसँग नेपालको आ–आफ्नै प्रकारको सम्बन्ध र महत्त्व रहेको उनले बताए । चीनको ८ दिने भ्रमण सकेर आइतबार अपराहन स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘छिमेकीहरूसँगको सम्बन्ध एकअर्कामा तुलना नगर्ने हाम्रो स्पष्ट नीति छ । सबै मित्र राष्ट्रहरूसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजानुपर्छ ।’

उनले चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताए । पारवहन, यातायात, भौतिक पूर्वाधार, लगानी, ऊर्जा, पर्यटनजस्ता विषयमा भएका छलफल र सम्झौता/समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका नै तयार भएको प्रधानमन्त्रीले बताए ।

‘नेपालको विकास हामी आफैंले गर्ने हो । पुनर्निर्माण र समग्र विकासका लागि मित्र राष्ट्रहरूसँग सहमतिमा पुगेका विषयको प्रभावकारी कार्यान्वयनतर्फ हामी जानैपर्छ,’ प्रधानमन्त्रीले भने, ‘अबका दिनमा हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्वतोमुखी प्रगति हुने मेरो विश्वास छ ।’

प्रधानमन्त्रीले चीनसँग भएका सम्झौता कार्यान्वयन प्रभावकारी रूपमा अघि बढ्ने पनि बताए । ‘इन्धन आपूर्ति र तेस्रो मुलुकसँग व्यापारका लागि अब हामीले आफ्नोतर्फबाट काम गर्नुपर्ने हुन्छ । त्यसमा चीनले सघाउने निश्चित छ । इन्धन भण्डारण र रेलले नेपाल जोड्ने उनीहरूको पनि प्राथमिकता नै हो,’ उनले भने ।

चीनले अहिले छिमेकसँगको सम्पर्कमा ध्यान दिएको बताउँदै ओलीले भने, ‘पारवहन सम्झौता र रेलले नेपाल जोड्ने विषय यो भ्रमणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । नेपाल–चीन विद्यमान आर्थिक सहयोगको दायरासमेत फराकिलो पारेको छ ।’ चीनले नेपालको संविधानलाई ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गर्दै यसको जगमा नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकास हासिल गर्ने अपेक्षा राखेको प्रधानमन्त्री ओलीले बताए । उनले सन् २०१६ भित्र चीनका राष्ट्रपति वा प्रधानमन्त्रीस्तरमा नेपालको भ्रमण हुने र त्यस बेलासम्म दुईपक्षीय धेरै काम अघि बढिसक्ने पनि बताए ।

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र मुलुकको आर्थिक विकासका लागि आर्थिक सहयोगको दीर्घकालीन खाका तयार गर्ने आफ्नो उद्देश्य भ्रमणबाट पूरा भएको ओलीले बताए । विमानस्थलमा लिखित मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण निकै सफल भएको र बोआओ फोरममा दिएको सम्बोधन र भेटघाट पनि महत्त्वपूर्ण रहेको बताए । उनले आफूले विभिन्न प्रान्तमा गरेको भ्रमण र भेटघाटले पनि दुई मुलुकको सम्बन्ध र प्रान्तीय सम्बन्ध उचाइमा पुगेको दाबी गरे । उनले चीनबाट लगानी भित्रिने विषय अब आशंकामा नरहेको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भने भ्रमणमा भएको पारवहन तथा यातायात सम्झौता अहिले लागू भइसकेको बताए । ‘सम्झौतासँगै पारवहन तथा यातायात सुविधा पाउने विषय लागू भइसकेको हो । यसमा कुनै समयसीमा हुँदैन । नेपालले कसरी बढी उपयोग गर्ने भन्ने विषय हामीले गर्ने कार्यमा निर्भर गर्छ,’ उनले भने । मन्त्री थापाले उत्तरतिरको पूर्वाधार बनाउने लगायतको काममा सरकार अब लाग्ने पनि बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच १० बुँदे सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो ।

http://bit.ly/1Tcb3Db

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ३ : ३३ बजे