२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुरु हुँदै



झापा, पुष २३ । नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि कचनकवल – सगरमाथा जागरण अभियान शुरु हुँदैछ ।

नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान शुरु हुन लागेको हो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ,कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरुले अभियान शुभारम्भ गर्ने भएका छन् । अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गिताप्रसाद भट्टराईले जानकारी दिए । अभियानमा धेरै नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ ।

सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए । उनले संगठन सुदृढीकरण,ऐतिहासिक खोज,सम्वृद्धिको आधार , जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्धेश्य राखेर अभियान संचालन गर्न लागिएको जानकारी दिए । अभियानले नेपालको होचो भूभाग कचनकवलको समग्र विकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ। अभियान सात महिनासम्म चल्ने छ । ‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन्’ सभापति थापाले भने,‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो ।’ संगठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको बिश्वास छ ।

अभियानका लागि कचनकवल स्तम्भमा तयारी भइरहेको छ । समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ । अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : १३ बजे