१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बर्खामा देशभर धेरै वर्षाकोे प्रक्षेपण



असार–साउनमा औसतभन्दा कम पानी पर्ने, त्यसपछि धेरै पानी पर्ने मौसम विभागको आकलन

यो बर्खामा देशभर समग्रमा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अघिल्लो वर्ष बर्खामा औसतभन्दा कम पानी परेको थियो । 

यसपटक भने मध्यनेपालमा कास्की, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङको दक्षिणी भेग, म्याग्दी र बागलुङको पूर्वी क्षेत्र,  गुल्मीको पूर्वी–उत्तरी तथा तनहुँ र गोरखाको पश्चिम र उत्तरी भेगमा धेरै पानी पर्ने सम्भावना छ । त्यस्तै, पूर्वी नेपालमा सप्तरी, सिराहाको आधाभन्दा धेरै भाग, सर्लाही, महोत्तरी र धनुषाको दक्षिणी क्षेत्र, सुनसरीको पश्चिमी र उदयपुरको दक्षिणी क्षेत्रमा धेरै वर्षाको आकलन गरिएको छ ।

औसत पानी पर्ने आकलन गरिएका क्षेत्रमा पश्चिम नेपालमा दार्चुला, बैतडी  र बझाङको पूरै क्षेत्र, बाजुरा र हुम्लाकोे पश्चिमी क्षेत्र, डोटीको उत्तरी भेग, डडेल्धुराको पश्चिम–उत्तर क्षेत्र  रहेका छन् । त्यस्तै, मध्य र पूर्वी नेपालमा रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा र उदयपुरमा औसत वर्षाको सम्भावना छ । काभ्रेको पूर्वी, ताप्लेजुङ र तेह्रथुमको पश्चिमी, संखुवासभा, सोलुखुम्बु, दोलखा र रामेछापको दक्षिणी क्षेत्र, सर्लाहीको पूर्वी तथा महोत्तरी, धनुषा, सिराहा र सुनसरीको उत्तरी क्षेत्रमा पनि औसत वर्षाको सम्भावना देखिन्छ ।

‘औसत  र औसतभन्दा पनि धेरै पानी पर्नेबाहेक क्षेत्रमा औसतभन्दा केही धेरै वर्षा हुने देखिएको छ । वर्षा औसतभन्दा धेरै भए पनि अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी हुने देखिन्छ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने ।

नेपाल मात्र होइन, यसपटक दक्षिण एसियाली मुलुकमै औसतभन्दा धेरै वर्षाको आकलन दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) ले गरेको थियो । नेपालले सन् २०२० देखि विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुनी प्रक्षेपण गर्ने गरेको छ । गत वर्ष मनसुन सिजनमा प्रशान्त महासागरमा एलनिनोको अवस्था विकसित हुँदा वर्षा कम भएको थियो । अघिल्लो बर्खामा आकलन गरेअनुसार नै औसतभन्दा कम वर्षा भएको थियो । एक हजार ४७२ मिलिमिटर (८५.५ प्रतिशत) वर्षा भएको थियो । नेपालमा वार्षिक वर्षाको ८०.५% अर्थात् एक हजार ३७४.१ मिलिमिटर वर्षा हुन्छ । सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ । तर, कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर पनि नेपालले प्रक्षेपण गर्न सकेको छैन ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : १९ बजे