१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आठमौजा छोटी भन्सार कार्यालय बैशाख महिना भित्रै सुचारु हुने



गौरीगंज २९, चैत / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज विहिवार छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गर्ने क्रममा कर्मचारीको व्यवस्थापन गर्ने बताएपछि बैशाख महिना भित्रै आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको हो ।
भन्सार कार्यालयको लागि दरबन्दी रहेपनि कोरोना महामारी शुरु भएपछि कर्मचारी नहुदाँ करिब ४ वर्षदेखि कार्यालय बन्द अवस्थामा रहेको थियो ।
कुनै बेला नेपाल सरकारले मन्त्रीस्तरिय वैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय गरेतापनि पछिल्लो करिब ४ वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो ।
लामो समयदेखि भन्सार कार्यालय सुचारु नहुदाँ स्थानिय नागरिकहरुले सास्ती भोगिरहेका थिए । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुने बताइन् । सकभर वैशाख महिना भित्रै यो छोटी भन्सार सुचारु हुनेमा ढुक्क भए हुन्छ, उनले भनिन –‘ त्यससंगै क्वारेन्टाइन अफिस र कर्मचारी खटिने छन् ।’
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले वैशाख महिना भित्रै कर्मचारी खटाइने बताए । उनले भने – ‘लामो समयसम्म यहाँ भन्सार नहुँदा स्थानिय व्यापारी र आम नागरिकलाई समस्या झेल्नु परेको थियो । तर यसमा सबैले साथ र सहयोग गरिदिनु पर्यो । ’
भन्सार हुदाँका बखत महिनामा ३० हजार देखि ५० हजारसम्म राजस्व संकलन हुने गरेको उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले बताए । दैनिक निर्वाधरुपमा नाकामा व्यापारी र व्यवसायीहरुलाई दुःख नपाए गौरीगंज बजार चम्कने आर्थिक गतिविधि पनि चलायमान हुने अध्यक्ष महतोले बताए । यस छोटी भन्सारमा सरकारले राजस्व उठेको आधारमा मात्र कर्मचारी राख्नु नहुने स्थानिय पत्रकार आत्मा राम राजवंशीको तर्क छ । उनले भने –यो पुरानो छोटी भन्सार हो र गौरीगंज गाउँपालिका धेरै सम्भावना बोकेको गाउँपालिका हो । ’ सुरक्षाकर्मीको एक रिपोर्ट अनुसार सीमामा नजिक भारतीय वजार फत्तेपुरमा नेपालीहरुले दैनिकरुपमा ३० लाख देखि ५० लाख रुपैयाँसम्मको व्यापार हुने गर्दछ । गौरीगंजमा हुलाकी सडकसंग जोडिएको, प्रशासनिक कार्यालयहरु भएको, फत्तेपुर सशस्त्र सिमा सुरक्षा वल प्रस्तावित गुल्म भएको, फत्तेपुर नाकासंग जोडिएको, अद्यौगिक पार्क नजिक रहेको, वैंक वित्तिय संस्थाहरु भएको, उद्योग विभिन्न जातजातिहरुको विविधता त्यसमा पनि अधिकांश आदिवासीहरुको बसोवास रहेको, गौरीगंज आफैंमा स्थानिय सरकार पनि भएकोले यहाँको बजार आर्थिकरुपमा धेरै चलायमान हुने पक्का पक्की छ । केही समय लाग्न सक्छ तर यहाँका आम नागरिक र ठाउँको सुनौलो भविष्य छ ।

वि.सं. २०७६ साल तिर मेची भन्सार कार्यालयका तत्कालिन प्रमुख टेकबहादुर अर्यालले भन्सार नाकाका लागि सबै प्रक्रिया अघि बढिसकेको बताएका थिए । भन्सार नाकाका लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि नेपाल सरकारले स्थानीयहरुलाई मुआब्जा दिएर भएपनि नाका स्थापना गर्न लागीपरेको उनले बताएका थिए । स्थानीय सरकार, सरोकारवाला, संघसंस्था र स्थानीयले चासो लिए चाँडोभन्दा चाँडो नाका स्थापना हुने भन्सार प्रमुख अर्यालले बताएका थिए ।

आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारले मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको उनले बताएका थिए । नाका बनाउन कम्तिमा ५ देखि ७ विगाहसम्म जग्गाको आवश्यकता रहेकोले जग्गाको व्यवस्थापन गर्न बस्ती नै अन्यत्रै सार्नु पर्ने देखिएको भन्दै त्यसका लागि सहयोग गर्न गौरीगंज गाउँपालिकाका तत्कालिन अध्यक्ष बाबुराजा श्रेष्ठले आग्रहसमेत गरेका थिए ।
नाका स्थापना भए गौरीगञ्जको मुहार फेरिने र आर्थिक गतिविधि बढेर राजश्व पनि संकलन हुने स्थानियहरु बताउँछन् । उनीहरुका अनुसार छोटी भन्सार भएकोले सो नाकाबाट अवैधानिक तरिकाबाट लाखौंको लत्ता कपडा, तेल, लसुन, चिनीलगायतका खाद्यवस्तुहरु नेपालतर्फ भित्रिरहेको छ ।
निरिक्षणका क्रममा गौरीगंज गाउँपालिका तत्कालिन अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायाण यादव, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. ५ का वडा अध्यक्ष विजय सिंह गन्गाईलगायतका जनप्रतिनिधि तथा स्थानियहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  २ : १४ बजे