५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

गाउँमा जनचेतना बढाउनुपर्ने देखिन्छ–
पुजन न्यौपाने ( कुँवर) उपाध्यक्ष गौरीगञ्ज गापा





कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकाससहित गौरीगञ्जको समुन्नति ‘ भन्ने मुल नारासहित आएको गौरीगञ्ज गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ ।
गाउँपालिकाले माध्यमिक तह अर्थात ११/ १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र एमबीबीएसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था मिलाइने जनप्रतिनिधिहरुले उदघोष गरिसकेका छन ।
गौरीगञ्ज गाउँपालिकासंगको सहकार्यमा यस गौरीगञ्ज मिडियाले प्रकाशनमा ल्याएको गौरीगञ्ज बुलेटिनका लागि प्रस्तुत छ गाउँपालिकाका विबिध बिषय र जनप्रतिनिधिहरुको भुमिकाका बिषयमा केन्द्रित भएर गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरसंग गरिएको कुराकानी
:
१ः गाउँपालिकामा तपाइँहरुले जिम्मेवारी सम्हाल्नु भएको ८ महिना बित्नै लागेको छ कसरी अघि बढिरहनु भएको छ ?
हामीले ३० बैशाखमा भएको निर्वाचनपछि परिणाम सार्वजनिक भएर पदभार सम्हाल्दा जेठको दोश्रो हप्ता अर्थात मध्य समय भएको थियो । हामीले जिम्मेवारी लिँदै गर्दा बर्षाले हाम्रो पालिकाको जनजिवन निक्कै अस्तव्यस्त थियो ।
यसैपनि हाम्रो पालिका भौगोलिक विकटता र प्राकृतिक रुपमानै खोला बाढीको चपेटामा परेको पालिका । बर्षाको असर अरु पालिकाहरुको तुलनामा स्वभाविक रुपले धेरै पर्ने नै भयो । हामीले जसोतसो बाढीको कहरबाट तत्कालका लागि भएपनि मुक्त बनाउने प्रयासमा जुटयौं ।
माथिल्लो तहका सरकार र यस क्षेत्रका सांसदहरुलाई स्थलगत रुपमै यहाँको अवस्थाका बारेमा जानकारी गराएर आगामी दिनमा यो समस्याको समाधानका लागि ध्यानाकर्षण गराउने काम गर्योै । हामीले तत्कालिन अवस्थामा एकातिर अघिल्लो आर्थिक बर्षका अघिल्ला जनप्रतिनिधिहरुबाट ल्याइएका योजना तथा कामहरुको अनुगमन गरेर भुक्तानी दिनुपर्ने, अर्कोतिर चालू आर्थिक बर्षका लागि बार्षिक बजेट तथा कार्यक्रमहरु तय गर्नुपर्ने दोहोरो जिम्मेवारी पूरा गर्यौ । हामीले ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँको बजेट कार्यक्रम ल्याइयौं ।
त्यसलगत्तै सिंगो देशनै चाडपर्व र राष्ट्रिय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा केन्द्रित भयो । निर्वाचन आचारसहिंताको बन्धनबाट हामी पनि अलग हुन सक्ने कुरा भएन तर पनि त्यसबीचमा पनि हामीलाई चुप लागेर बस्ने छुट थिएन किनकी हामी जिम्मेवारीमै थियौं ।

गाउँपालिकाका तत्कालिन कामलाई कसरी अघि बढाइरहनु भएको छ ?
हामीले अस्ति बर्षे अधिवेशनमा ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गरेका छौं । मसिनो ढंगबाट यसलाई हामीले केलाउने काम पनि गरिरहेका छौं । विशेष मैंले बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएपनि एक्लै ति कार्यक्रमहरु ल्याइएका होइनन हामीले साझा रुपमानै छलफल गरेर बोर्ड तथा कार्यपालिकाबाट पास गरेर ल्याएका योजना तथा कार्यक्रमहरु हुन । त्यसकारण यि कार्यक्रमहरुको जस अपजसको भागीदार पनि हामी साझा रुपमानै हुने हो । प्रस्तुत कार्यक्रमहरुलाई सफलतापूर्वक कार्यन्वयन गर्ने गराउने कुरामा हाम्रो जोड रहेको छ ।

यो छोटो समयमा गाउँपालिका कार्यालय र गाउँपालिकाबासीका सन्दर्भमा तपाइँले के अनुभव गरिरहनु भएको छ ?
पक्कै पनि यो ८ , ९ महिनाको समय निक्कै नै कम समय हो कामको परिणाम देख्नका लागि । तथापी मेरो अनुभवमा पूर्वाधार बिकासका योजनाहरुको गुणस्तरमा जताततै गुनासोहरु आएका छन । योजनाहरुको उपयोगिताका बिषयमा पनि असन्तुष्टिहरु देखिएका छन । स्रोत साधनको अभावका कारण यहाँको कालोपत्रे गुणस्तर मापनमा नै विश्वास गर्न सकिने अवस्था छैन । भवन, ग्राभेल, कल्भर्ट, पूल पुलेसाहरुको निर्माणमा धेरै लापरवाही देखिन्छ । म योजनाहरुको अनुगमन गर्ने संयोजकको जिम्मेवारीमा समेत रहेकाले फिल्डमा मैंले त्यो पाएको छु । यसलाई करेक्सन गर्न आवश्यक छ । हाम्रो गाउँपालिका टिम, यसका नेतृत्वकर्ताहरु यसमा समयमै सजग भएर लागिएन भने भोलीका दिनमा नागरिकस्तरबाटनै विरोध हुन सक्ने, हाम्रो बजेट अनुपयोगी हुन सक्ने र प्रतिफल राम्रो नआउने खतरा देखिन्छ । यसले हाम्रो स्थानीय सरकार र यो व्यवस्थाप्रतिनै नागरिकहरुमा वितृष्णा उत्पन्न हुँदा ठुलो मुल्य चुकाउनु पर्ने आवस्था आउन सक्ने तर्फ हामी सजग हुनुपर्छ भन्ने लागेको छ ।

गाउँपालिकाको पूर्वाधार बिकासलाई छोडेर यहाँको सामाजिक बिकासको कोणबाट कस्तो पाइरहनु भएको छ ?

हाम्रो पालिका अन्य पालिकाहरुको तुलनामा ग्रामिण भुगोल, विपन्न नागरिकहरुको बसोबास धेरै भएको र सामाजिक बिकासमा पनि धिमा गतिले अघि बढिरहेको पालिका हो भन्ने बुझन गाह्रो छैन । यहाँका धेरै आमा, दिदीबहिनीहरु विबिध कारणले लामो समय सम्म पछाडी पारिनु भयो । यहाँको शैक्षिक अवस्था पनि अलि कमजोर हुँदा नागरिकहरुमा चेतनाको बिकास पनि ढिलो गरी हुने क्रममा छ । अभिभावक तहबाटनै कमि कम्जोरी रहँदा अझै पनि हाम्रो पालिकाका बालबालिकाहरु मौलिक हक तथा आधारभूत अधिकारहरुबाट बञ्चित छन । हिंसा पीडित महिला दिदीबहिनीहरु न्यायको लागि माथिल्लो निकाय सम्म पुग्न नसक्ने भएका कारण हिंसा सहेरै बसेका घटनाहरु पनि समाजमा देखिएका छन । पारिवारिक बेमेल, सामाजिक बहिष्करण , हिंसा, आत्मनिर्भरताको कमि जस्ता सामाजिक समस्याहरु यहाँ देखिएका छन । त्यसकारण मेरो अनुभवमा यहाँको सामाजिक बिकासका निम्ति अझै पनि राज्यका उपल्लो तहका निकायहरु, दातृ निकायहरु र सामाजिक संघ संस्थाहरुले जनचेतनाका कार्यक्रमहरुलाई हाम्रो पालिकामा बढाउनु पर्ने आवश्यकता मैंले देखेको छु । र म त्यसै अनुसार माथिल्लो तह सम्म पनि कुराकानी गरेर त्यस किसिमका कार्यक्रमहरुका लागि पहल गरिरहेकी छु ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : ०२ बजे