१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाइजोको पीडा : मण्डपमै बेहुली छोडेर अर्को विहेको तयारी



विराटनगर । झण्डै २ वर्ष अगाडि दाइजो नदिएको निहुँमा मण्डपमै बेहुली छोडेर हिँडेका मोरङको जहदा गाउँपालिका ४ कविलासाका लक्ष्मण राजवंशीले अर्को विवाह गर्न लागेको खुलेको छ । राजवंशीले २ वर्ष अगाडि २०७६ साल जेठ ३ गते जहदा ३ जयरामपुरकी सुमित्रा राजवंशीसँग विवाह गरेका थिए ।

विवाहमा दाइजोस्वरुप १ तोला सुनको सिक्री, अपाचे मोटरसाइकल र डाइनिङ टेबल माग गरेका थिए, उनले । तर, बेहुली पक्षको आर्थिक विपन्नताका कारण होण्डाको साइन मोटरसाइकल मात्रै दिए भने १ तोलाको सुनको सिक्री र डाइनिङ टेबुल दिन सकेनन् । त्यसपछि बेहुलापक्षले बेहुली सुमित्रालाई विवाहको अन्तिम समयमा आएर मण्डपमै छोडेर हिँडेको थियो ।

मण्डपमै बेहुली छोडेपछि पीडित पक्षले जिल्ला अदालत मोरङमा उजुरी पनि दिए । उक्त उजुरीको अहिलेसम्म कुनै छिनोफानो भएको छैन । तर, लक्ष्मणले भने पुनः अर्को विवाहको तयारी गरेका छन् । उनले वैशाख २९ गते बुधबारका लागि कटहरी गाउँपालिका २ की लिलाकुमारी राजवंशीसँग विवाहको तयारी गरेका छन् ।

‘यही २०७८ साल वैशाख २९ गते बुधबारका दिन दिवा लग्नमा सु–सम्पन्न हुने निश्चय भएको हुँदा उक्त शुभ अवसरमा उपस्थित भई नव वर–वधुलाई आशीर्वाद प्रदान गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौं,’ उक्त कार्डमा उल्लेख छ । कार्ड छपाएर छरछिमेक र आफन्तलाई कार्ड पनि वितरण गरिरहेका छन् भने पीडित पक्ष न्यायको लागि के गर्ने भन्ने विषयमा अलमलमा परेको छ ।

यसअघि मण्डपमै छोडिएकी पीडित सुमित्रा राजवंशीले आफू अन्यायमा परेको बताइन् । उनले केटाको विवाह रोक्न माग गरेकी छिन् । ‘मलाई उसले दहेज नदिएको भनेर मण्डपमै छोडेर हिँड्यो,’ उनले भनिन्, ‘सबै प्रमाण आफूसँग छ, तर अहिले पुनः उसले विवाहको तयारी गरेको छ, अदालतमा दिएको निवेदनको विषयमा पनि अहिलेसम्म टुंगो लागेको छैन ।’

कानून अनुसार विवाहमा दाइजो लिने दिने दुबैलाई सजाय हुने व्यवस्था छ । तर, यो घटनाले अझै दाइजो प्रथा पूर्णरुपमा उन्मूलन हुन नसकेको देखाउँछ । कानून अनुसार विवाहमा लेनदेन गर्न नहुने प्रष्ट उल्लेख छ ।

२०७५ भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिताको दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ । ‘आफ्नो परम्परादेखि चलीआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ सो दफाको उपदफा (१) मा उल्लेख छ । उक्त कानूनको उल्लङ्घन भएमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

सोही दफाको उपदफा ३ मा कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न नपाइने उल्लेख छ । त्यस्तो गरेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँँँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

अपराध संहिता अनुसार बहुविवाह गर्नेलाई पनि दण्ड सजायको व्यवस्था गरेको छ । उक्त ऐनको दफा १७५ को उपदफा (१) मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नपाउने उल्लेख छ । त्यस्तै उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने उल्लेख छ ।

उपदफा (४) मा उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यस्तै उपदफा १ बमोजिमको विवाह गरेको भए स्वतः बदर हुने कानूनमा प्रष्ट उल्लेख छ । (प्रशिक्षार्थी पत्रकार   स्मृति  तिम्सिना, हाम्राेमत अनलाईन पत्रिकाबाट साभार )

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : ४३ बजे