१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिले युरिया मलकाे अभाव, अहिले किराकाे प्रकाेेप


१७ आश्विन २०७७, शनिबार  

0
Shares

 

चितवन/ 

युरिया मलको अभाव झेल्दै हुर्किएको धानमा रोग र कीराको प्रकोप बढ्न थालेपछि किसानहरू चिन्ता बनेका छन्। 

चितवनका फाँटहरूमा यतिखेर धानमा बाला लाग्न थालेको छ। तर धानबारीमा बढेको गबारो, फड्के र धोक्रे कीराले ती बालामा अन्न नलाग्नेदेखि बोट कुहिने, पात सुक्ने समस्या देखिएको छ।

केही हप्ताअघि देशभर धानमा हाल्ने युरिया मलको चरम अभाव देखिएको थियो। किसानहरूले घण्टौं लाइन बस्दा पनि चाहिँदो मल पाएका थिएनन्। त्यतिखेरको पीडा भुल्न नपाउँदै किसानलाई नयाँ समस्या आइलागेको हो।

धान बालीमा देखिएका कीरा, रोग किसानका लागि नयाँ भने होइनन्। तर यसपालि विगतमा भन्दा बढी क्षति हुन थालेपछि किसानमा चिन्ता थपिएको हो। 

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालकाअनुसार चितवनका खेतमा यसपालि देखिएझैं गबारोको प्रकोप यसअघि कहिल्यै देखिएको थिएन।
भरतपुर–२७ मेघौलीमा २२ कट्ठा जमिनमा धान खेती गर्दै आएका दण्डपाणि काफ्लेको ७५ प्रतिशत धान अहिले पहेंलै भएको छ। तर पाकेर होइन, कीराले खाएर सुकेपछि पहेंलो देखिएको हो। 

सधैं साबित्री नामको धान लगाउने उनले यसपालि पहिलो पटक बहुगुणी नामको धान लगाएका थिए। उनको धानमा कीराले खाने, पोको लाग्ने, धान होचो–अग्लो हुने समस्या देखिएको छ। 

‘हामीलाई सिफारिस गरिएको धानमै समस्या हो कि, अन्य कारण हो भनेर बुझ्दै छु’, काफ्ले भने, ‘यस्तो समस्या त कतै सुनेको देखेको पनि थिइनँ।’

मेघौलीकै कुमार गुरुङले ४ विघा जमिनमा लगाएको धानमा अहिले करिब ७ प्रतिशतमा यो समस्या देखिएको छ। 

३७ वर्षदेखि धान खेती गर्दै आएका गुरुङले यसपालि अनुदानको मल नपाएपछि कालोबजारबाट मल किनेर धानमा हालेका थिए। 

‘जसोतसो मल त पुर्‍याइयो भन्ने लागेको थियो तर गबारो कीराले क्षति पुर्‍याउन थाल्यो’, उनले भने, ‘यसको समाधान के हो, कसरी नियन्त्रण गर्ने मेसो पाउनै सकिएन।’

‘जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको धानमा यसपालि गबारोले क्षति पुर्‍याएको छ’, ढकालले सेतोपाटीसँग भने, ‘गबारो हाम्रो लागि नयाँ त होइन तर यसपालि धेरै ठाउँमा क्षति पुर्‍यायो।’ 

 

 

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : ५८ बजे