१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्षितिज नाट्य समूहका कलाकार कृषिकर्ममा


८ भाद्र २०७७, सोमबार  

0
Shares

बिर्तामोड, भदौ ८ । क्षितिज नाट्य समूह झापाका कलाकार यतिवेला  सामुहिक कृषि तथा फलफूल खेती व्यवसायमा जुटेका छन्  । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरु कृषिकर्ममा जुटेका हुन् ।
बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य  समूह झापाले सामुहिक धानखेती, अग्र्यानिक सागसब्जी तथा ड्रागनफ्रुट खेती र व्यवसायिक सयपत्री फूल खेती गरिरहेको क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण अभियानका अभियन्ता रंगकर्मी माधव कल्पितले जानकारी दिए ।

  बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड रुपैयाँको लागतमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माणाधीन झापा नाटक घरको निर्माण कार्य कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारणबाट आर्थिक अभाव भएर केही समयका लागि स्थगन हुन पुगेपछि क्षितिज नाट्य समूह झापाका कलाकारहरु व्यवसायिक कृषिकर्ममा जुटेको उनले वताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण अहिलेको अबस्थामा आम समुदायलाई मनोरञ्जनभन्दा पनि सिर्जनात्मक कर्मको आवश्यकता भएकाले लकडाउनलाई अवसरको रुपमा सदुपयोग गर्दै समाजमा सिर्जनात्मक उदाहरण प्रस्तुत गर्ने उद्देश्यले व्यवसायिक सामूहिक कृषिकर्ममा जुटेको क्षितिज नाट्य समूह झापाकी उपाध्यक्ष तथा कलाकार सुजना खतिवडाले बताइन् ।
बिर्तामोडको हनुमान सेन्ट्रलमा इलाम कोसेली भण्डार नामक अग्र्यानिक  व्यवसाय समेत सञ्चालन गरिरहेकी उपाध्यक्ष खतिवडाले लकडाउनलाई मानसिक त्रासको रुपमा नलिएर अवसरको रुपमा सदुपयोग गर्दै कृषि कर्म गरे आत्मनिर्भर हुनुका साथै शरीर स्वस्थ भएर कोरोना भाइरस जस्ता महामारीबाट बच्न सकिने बताइन् ।
क्षितिज नाट्य समूह झापाले झापा नाटक घर परिसरको १० कठ्ठा जमिनमा धान खेती, दुई कठ्ठामा ड्रागनफ्रुट खेती, दुई कठ्ठामा सयपत्री फूल खेती र सहारा नेपालको सहकार्यमा निर्मित एकथान टनेलमा सागसब्जी तथा बेर्ना उत्पादन कार्य अगाडि बढाइरहेको क्षितिज नाट्य समूह झापाका केन्द्रीय माधव कल्पितले जानकारी  दिए ।

  क्षितिज  नाट्य  समूहले अमेगा तीन र एन्टिअक्सिडेन्ट जस्ता दुर्लभ तत्व भएको घरका करेसावारी तथा बरण्डामा नै गमलामा समेत लगाउन र फलाउन सकिने ड्रागनफ्रुट खेतीेलाई दुई कठ्ठा जमिनमा लगाएर यसै वर्षबाट व्यावसायिक रुपमा ड्रागनफ्रुटको खेतीे शुरु गरेको र ड्रागनफ्रुट, एबोकाडो, किवी लगायतका फलफूलका बिरुवा समेत बिक्री गर्दै आएको क्षितिज नाट्य समूहका बरिष्ठ  उपाध्यक्ष हरिप्रसाद भण्डारीले बताए ।  
समुद्र सतहबाट १२ सय मिटरसम्मको उचाइमा लगाउन सकिने ड्रागनफ्रुटको खेती बिशेषतः अरेवियन र खाडी राष्ट्रहरुको मरुभूमि र सुख्खा ठाउँमा गरिने भए पनि नेपालको हावापानीमा समेत यसको खेती हुन थालेपछि क्षितिज  नाट्य समूहले ब्यावसायिक रुपमा नै यसको खेती शुरु गरेको अभियन्ता माधव कल्पित बताउँछन् । झापा नाटक घर परिसरमा रहेको डेमोबाट हाल कृषक तथा संघ–संस्थाले ड्रागनफ्रुटको बिरुवा लैजाने गरेको उनले बताए ।
मल र बालुवाको समिश्रणमा घरको पेटी र गमलामा पनि ड्रागनफ्रुटको बिरुवा लगाउन सकिने र बिरुवा रोपेको १८ महिनादेखि २४ महिनाबाट आम्दानि दिने यस फलको पाँच सयदेखि आठ सयसम्म बजार मूल्य रहेको, तीन सय ग्रामदेखि १२ सय ग्रामसम्मको एउटै फल लाग्ने यसको बिरुवाले शुरुका तीन बर्षसम्म १५–२० वटासम्म फल दिने र सो पश्चात् ५०–६० केजीसम्म एउटै बोटबाट आम्दानी हुने गरेको ड्रागन फुटका कृषि बिशेषज्ञ  डिल्ली गुरागाँईले जानकारी दिए ।
उनले एक कठ्ठा जमिनमा एक सय २० वटासम्म ड्रागनफ्रुटको बिरुवा लगाउन सकिने र एक बर्षबाट नै सो बिरुवाबाटै अरु बिरुवा समेत उत्पादन हुन सक्ने भएकाले झापामा यसको व्यवसायिक खेती शुरु भएको बताए ।   क्षितिज नाट्य समूहले कोरोना भाइरसको महामारीका कारण कोही कलाकार पनि भोकभोकै बाँच्नु नपरोस् भनेर क्षितिज नाट्य समूह झापाका कलाकार व्यवसायिक सामुहिक कृषि कर्ममा जुटेको जनाएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ०२ बजे