१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाद्वारा ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत


११ श्रावण २०७७, आइतबार  

0
Shares

photo1

गौरीगंज ११, साउन / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को लागि घाटा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वजेट,  नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष२०७७ /७८ का लागि गाउँपालिकाको अनुमानित आय ४२ करोड ७२ लाख १३ हजार १ सय २० रुपैयाँ र ४६ करोड ५१ हजार ५० लाख रुपैयाँको अनुमानित व्यय निस्केपछि घाटा वजेट प्रस्तुत भएको हो । संघिय सरकारबाट प्राप्त हुने अनुदान गत आर्थिक वर्ष भन्दा ४ करोड ५० लाख रुपैयाँ कम र कोरोना महामारीका कारण १ करोड ७ लाख ४३ हजार ८ सय पचास रुपैयाँ खर्च भएकोले घाटा बजेट प्रस्तुत गर्न बाध्य भएको बताइएको छ । वजेट सार्वजनिक कार्याक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा र प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल, अधिकृत विरेन्द्र खडका, नारायण प्रसाद चंदरासमेत उपस्थिति थिए ।
गाउँपालिकाले आर्थिक विकास अन्तर्गत कृषि विकास कार्यक्रममा ७५ लाख, पशु विकासमा ३५ लाख, पर्यटन विकासमा २५ लाख, सहकारी तथा वित्तिय क्षेत्रमा ५ लाख रुपैयाँ विनियोज गरेको छ भने शिक्षामा १ करोड, युवा तथा खेलकुदमा २० लाख, स्वास्थ्यमा ७५ लाख, खानेपानी संरचना निर्माणमा १५ लाख, पुण सरसफाईमा १० लाख, सस्कृति प्रबद्र्वनमा २५ लाख रुपैयाँ छुट्टाइएको छ ।

त्यसैगरी  लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला विकासमा १० लाख, बालबालिका शर्षिकमा ५ लाख, जेष्ठ नागरिकमा ४ लाख रुपैयाँ, अपांगता ३ लाख, दलित शिर्षकमा ३लाख, आदिवासी जनजाती शिर्षकमा ५ लाख, मधेशी मुस्लिम पिछडा वर्ग शिर्षकमा ३ लाख, शिशु तथा सुत्केरी स्याहार कार्यक्रममा ७ लाख ५० हजार छुट्याएको छ । पुर्वाधार विकास अन्तर्गत सिंचाई संरचना निर्माणमा १० लाख, सडक तथा पुल पुलेसा झोलुङ्गे पुल २ लाख ७० हजार, भवन निर्माणमा १ करोड रुपैयाँ, सहरी विकास (बजार निर्माण) ६० लाख, विपन्न आवासमा ७५ लाख, विद्युत विस्तारमा २५ लाख, नविकरणीय उर्जामा १५ लाख रुपैयाँ छुट्टाइएको पत्रकार सम्मेलनमा जनाइएको थियो । वन वातावरण तथा विपद व्यवस्थापनमा ९१ लाख, सुशासन तथा संस्थागत विकास शिर्षकमा १० लाख रुपैयाँ रहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा १ करोड ७ लाख ४३ हजार
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गौरीगंज गाउँपालिकाले १ करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च भएको हिसावकिताव सार्वजनिक गरेको छ । गाउँपालिकाले सुचना प्रसारण, सार्वजनिक स्थलमा हात धुने स्थानको निर्माण, वडावासीहरुलाई मास्क र सावुन वितरण, सुरक्षाकर्मीलाई साइकल, चामल,तेल र दाल खरिद, राहत सामग्री वितरण गाडि भाडा तथा प्याकेजिङ्ग, स्वास्थ्य संस्था मार्फत आकस्मिक रुपमा गरिएको खर्च, राती बस्दाको खाना तथा खाजामसमेत, बजार स्वंयसेवक खर्च, सुरक्षाकर्मी व्यवस्थापन खर्च, एम्बुलेन्स सम्बन्धि खर्च, क्वारेन्टाइन स्थल स्वयंसेवक पारिश्रमिक खर्च, गाडी भाडा नाकाबाट क्मवारेन्टाइनसम्म ल्याउँदा र क्वारेन्टाइनबाट अस्पतालसम्म लैजादा लागेको खर्च शिर्षकमा खर्च गरेको छ । गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न दाता तथा संघसंस्थाहरुले राहत सामग्रीसहित नगद सहयोग गरेको थियो । योजनाबाट रकमान्तर भएको ४२ लाख रुपैयाँसहित नगद ९० लाख ८५ हजार ५ सय ७६ रुपैयाँ गाउँपालिकाको विपत्त व्यवस्थापन कोषमा जम्मा भएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

वडा स्तरिय वजेट

गौरीगंज गाउँपालिकामा रहेको ६ वडा वडाहरुलाई आर्थिक वर्ष २०७७/७८ का लागि वडा स्तरिय बजेट विनियोजन गरेको छ ।
वार्ड नं. १ लाई ८० लाख, वार्ड नं. २ लाई ७२ लाख, वार्ड नं. ३ लाई ६४ लाख, वार्ड नं. ४ लाई ६० लाख, वार्ड नं. ५ लाई ६० लाख र वार्ड नं. ६ लाई ६४ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।

मृत्तक परिवारलाई समवेदना पत्रसहित १० हजार रुपैयाँ
नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुनु पर्ने अनुदानमा कटौती भएकोले गौरीगंज गाउँपालिकाको आर्थिक वर्ष पनि ०७७/७८ को नीति तथा कार्यक्रममा पनि प्रभाव परेको बताइएको थियो । पत्रकार सम्मेलनमा दुःखको साथी भरोसा  राखौं गाउँपालिका माथि भन्ने नाराका साथ गाउँपालिकाले गाउँपालिका भरी कुनै परिवारमा मृत्यु शोक परेकामा राहत स्वरुप काजक्रिया वापत परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने
नयाँ व्यवसायीलाई कृषि व्यवसायका लागि १.५ करोड र पशुजन्य व्यवसाय १ करोडका लागि ५ प्रतिशत व्याज अनुदान गाउँपालिकाले दिने भएको छ ।
दिर्घ रोगीलाई ५ हजार उपचार खर्च दिइने
दिर्घ रोगीहरुका लागि उपचार खर्च सम्बन्धि मापदण्ड तयार गरी ५ हजार रुपैयाँ उपचार तथा औषधि खरिद खर्च वापत वितरण गरिने छ ।
निम्न वर्गका लागि साझेदारीमा स्वास्थ्य विमा
निम्न वर्गका १ सय ६० परिवारको लागि स्वास्थ्य विमा ७५ प्रतिशत र २५ प्रतिशत साझेदारी लागतमा स्वास्थ्य विमा गरिने जनाइएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ०५ बजे