१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रतुवा खाेलामा बाँसकाे तटबन्ध, वर्षामा पनि पुलबाट नागरिकलाई हिडाउन गाउँपालिकाकाे प्रयास


२७ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200609_201254

गाैरीगंज २७, जेठ / गाैरीगंज गाउँपालिकाले झापा र माेरङ्ग जाेड्ने रतुवा खाेलाकाे पुलकाे पुर्वपट्टी बाटाेकाे भागकाे उत्तरपट्टी तटबन्ध निर्माण कार्य शुरू गरेकाे छ ।
गाउँपालिकाले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ वालुगाउँमा रहेकाे प्रगतिशिल युवा क्लबले बाँसकाे तटबन्ध निर्माण गर्ने कार्य जिम्मा लिएकाे हाे ।
पुर्व पश्चिम बाटाेकाे उत्तरपट्टी छेउ – छेउ करिब २ सय ५० मिटर बाँसकाे तटबन्ध र बाटाेमा माटाे र गिट्टी अाेछ्याउन कार्यका लागि ६ लाख ५० हजार रूपैयाँमा जिम्मा लिएकाे क्लबका अध्यक्ष अर्जुन कार्कीले बताए ।
दैनिक २५ जना भन्दा बढी युवाहरू तटबन्ध निर्माण कार्यमा खटिरहेकाेले ५/६ दिनमा कार्य सकाउने क्लबका अध्यक्ष कार्कीले बताए । खाेलाकाे कटानबाट पुल पुर्वपट्टिकाे भागलाई बचाउन युवा क्लबले हरप्रयास गर्ने र आवतजावतमा कुनै समस्या नअाउन वर्षातमा पनि २४ सै घण्टा खटिने उनकाे भनाई थियाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यस वर्षकाे वर्षातमा पनि पुलमाथिबाट नागरिकहरू आवतजावत गर्न सकाेस भनेर गाउँपालिकाले पुलकाे पुर्वपट्टीकाे भागमा तटबन्धकाे कार्य शुरू गरेकाे बताए । पुल अधुराे भएकाेले वर्षायाममा नागरिकहरू अावतजावतमा कठिनाई झेल्दै अाएकाे हुनाले यस वर्षकाे वर्षातमा पुल माथिबाट नागरिकहरू आवतजावत गर्न सकिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । ‘हामीले प्रयास गरेका हाैँ, ठुलै पानी आयाे भने त कस्काे के लाग्छ र ? अध्यक्ष श्रेष्ठ भन्छन् – ‘यसपालिकाे बर्षामा खाेलाकाे कटानबाट बाटाेलाई टिकाउन सके ठुलाे उपलब्धि हुने थियाे ।’ उनका अनुसार पुल मुनि छेउमा करिब १० मिटर ढुंगा जाली अाेछ्याई बाटाेलाई अझ बलियाे पार्ने याेजना रहेकाे छ ।

पुल निर्माण ५ वर्षअघि भइसकेको थियाे । ठेकेदारले इस्टिमेट र सम्झौताअनुसार काम सकेका हुन् । तर पुलमाथिबाट आउजाउ हुन सकेको थिएन । पुल खोला बीचमा ठिङरिङ्ग थियाे । तर गाैरीगंज गाउँपालिकाकाले पुलकाे पुर्व तर्फ र रतुवामाई नगरपालिकाले पश्चिम तर्फबाट पुलकाे उचाई बराबरकाे बाटाे खनी नागरिकलाई अावतजावतमा सजिलाे बनाए पछि यहाँका स्थानिय मात्र हाेइन आवतजावत गर्ने जाे काेही पनि खुशी व्यक्त गरेका छन् ।
आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर लम्बाइको पुल निर्माण गरेको छ । तर खोला पुलमुनिबाट नभई पुल पूर्वपट्टिबाट बगिरहेको थियाे ।
आयोजनाले उक्त पुल आव २०६४/०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर पुल ९ करोडमा निर्माण गरेको निर्माण कम्पनीले जनाएको छ । पुलको लम्बाइ भन्दा खोलाको चौडाइ ठूलो भएकाले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम गरेको छैन ।

निर्माण सम्पन्न भइसक्दा पनि पुल सञ्चालनमा ल्याउन नसक्दा सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर आयोजनाको कार्यालय प्रमुख कैलाश साहले विभागको निर्देशनअनुसार काम नगर्दा पुल बेकाम्मे बनेको हो ।
पुल हुलाकी राजमार्गअन्तर्गत पर्दछ । झापा र मोरङका दक्षिणी भेगका बासिन्दाका लागि उक्त पुल अत्यन्त आवश्यक छ । पुल नहुँदा झापाका साविक गौरीगन्ज, खजुरगाछी, कोहबरा, कोरोबारी तथा मोरङका साविकका सिजुवा, इटहरा, झुर्किया, महादेवालगायतका गाविसका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । हिउँदमा केही सहज भए पनि बर्खाका बेला डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्थ्याे  ।

हुलाकी राजमार्गअन्तर्गत गौरीगन्जदेखि विराटनगर ४५ किलोमिटरको दूरीमा पर्दछ । उक्त पुल सञ्चालनमा आए गौरीगन्जबाट करिब एक घण्टामा प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तर अहिले घुमेर पूर्वपश्चिम राजमार्ग हुँदै विराटनगर पुग्न झन्डै एक सय किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  २ : ३४ बजे