१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

नातिको पाला बाजेको चाला


३० चैत्र २०७६, आइतबार  

0
Shares

20200412_165435

इन्द्रसिंह राजवंशी /
महाब्याधी कोरोना भाइरसको महाविपत्तिबाट विश्वको सम्पूर्ण मानव जगत यतिबेला आक्रान्त बनेको छ । सबैमा एउटै त्रास छ— आफू कसरी बाँच्ने ? अनि घरपरिवार, समाज ,देश र समग्र मानव सृष्टिलाई कसरी जोगाउने ? लकडाउनको समयमा घरमा जोगिएर बसेपनि मानिसहरु भयमुक्त बन्न सकेका छैनन् । कोरोनारुपी महाकाल कतिखेर आइपुग्ने हो भनेर सबैलाई सन्त्रासले छाएको छ ।
कोरोनाको महामारीबाट जोगिन लकडाउनमा बसेका मानिसको जीवनशैलीको बारेमा मलाई केही कुरा लेख्न मन लाग्यो । सामाजिक सञ्जालमा प्रायः सबैले पुराना तस्वीरहरु पोष्ट गरिरहेको पाउँछु । मोबाइल फोनमा संसार देख्नेहरुले यतिखेर पुराना फोटो एल्बमबाट खोजेर खुइलिसकेको तस्वीर सामाजिक सञ्जालमा हाल्न थालेका छन् । यो केको प्रतीक हो ? कतै कोरोना भाइरसले फेरि ढुंगे युग फर्काउन लागेको त होइन ? एक लाखभन्दा बढीको ज्यान लिइसकेको वैश्विक महामारी कोरोनालाई नियन्त्रण गर्न विज्ञान जगतले नसकिरहेको अबस्थामा आधुनिक युग समाप्त भएर जाने पो हो कि ? यिनै परिस्थितिजन्य कुआशंकाहरुले मेरो दिमागमा यतिखेर घर गरिरहेको छ । पुराना फोटोसँगै विगतको याद दिलाउने ढिकी जातो चलाएको भिडियो पनि फेसबुकेहरुले पोष्ट गरेका छन् । दुरदिन ल्याएको भन्दै विज्ञान र वैज्ञानिकलाई सराप्नेहरु पनि प्रशस्तै छन् । अहिलेका परिवर्तित समाजका मानिसहरुले अपनाउन खोजेको त्यस्तो पुरातन सोच र ब्यबहारलाई हेर्दा यो कुनै कुराको पूर्वसंकेत हो वा कोरोना संकटकाल कटाउने मेलो ? बुझ्न सकिरहेको छुइनँ ।
मानिसहरु कोरोना कहरका कारण करिव तीन सातादेखि लकडाउनमा छन् । कोरोना भाइरसको जोखिमका कारण घरभित्रै लगातार बस्न बाध्य छन् उनीहरु । लकडाउनमा नजरबन्दजस्तो भोगाइ भोग्दै आएका कारण वाक्क दिक्क भएर अन्टसन्ट बोलेको र गरेको पनि हुनसक्छन् र हो पनि । तर, एउटा कुरा चाहिँ साँचो हो कि कोरोनाले विगतका केही भोगाइलाई पुनरावृति गराएको छ । चैत ११ देखि बैशाख ३ सम्म लम्बिएको र अझै लम्बिने लकडाउनका कारण खाद्यान्न अभावको सामना मानिसहरुले गरिरहेका छन् । अहिले भोकमरी नलागेपनि यस्तै रहे केही दिनपछि गरिव विपन्नहरु पक्कै अनिकालमा पर्न सक्छन् । मानिससँग पैसा छैन, भएपनि किनेर खान सकिरहेका छैनन् । अहिलेको परिस्थितिले ढुंगे युगको आभास गराएको छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरुले उहिलेको विनिमय प्रथालाई अवलम्वन गरेर जीविकोपार्जन गरिरहेका छन् । दैनिक उपभोग्य वस्तुको परिपूर्तिका लागि यतिवेला ढुंगे युगको विनिमय संस्कारले प्रशय पाएको छ । खाद्यान्न, सब्जी एकअर्कासँग साटासाट गरिरहेका उनीहरुले यस्तै अबस्था रहे अरु आबश्यकता पनि त्यसरी नै पूरा गर्नुपर्ने हुन्छ । छिमेकीलाई आफ्नो दिएर र आफूसँग नभएको छिमेकीबाट लिएर गर्जो नटारेको भए धेरैजनाको बाह्र बज्थ्यो होला । कोरोना संकटकालले निम्त्याउने अबको आर्थिक मन्दीमा हाम्रो जस्तो विकासोन्मूख राष्ट्रका लागि विनिमय प्रणाली अझ महत्वपूर्ण सावित हुनेछ ।
ईतिहासका पाना पल्टाउँदै जाने हो भने समयको अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपि समयकाल बित्दै जाँदा जब खेतीपाती गर्ने युगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यस समयमा पैसाको चलनचल्ती नै थिएन । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनीहरुबीच वस्तु विनिमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुश्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एकअर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो ।

समयको लामो कालखण्डपछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पुँजी निर्माण गर्न ज्यादै सजिलो बनायो ।
वस्तु विनिमयलाई हेर्दा अहिले अब्यबहारिक लाग्न सक्छ । तर , विनिमय गरेरै अझै धेरैले ब्यबहार चलाइरहेका छन् । अहिले पनि धेरै वस्तुको सट्टापट्टा र एक्सचेन्ज हुने गरेको छ । खासगरी यो अप्ठ्यारो परिस्थितिमा ‘उहिलेको बाजेको चाला’ अहिलेको नातिको पालामा गर्नु परेको हो । विनिमय प्रथा मात्र होइन, अन्य भोगाइले पनि हामीलाई बुढो बाजे बनाएको छ ।

ग्यास नपाउँदा महिलाहरु धुँवा खाँदै दाउरामा भात पकाउन बाध्य छन् । त्यसैगरी सैलुनमा आरामले कपाल दारी काट्दै आएका पुरुषहरुलाई घरमा हजाम बोलाएर अनुहार सिगार्नु परिरहेको छ । हजामलाई घरमा बोलाएर कपाल दारी काट्ने पाली प्रथा उहिल्यै अन्त्य भइसकेको थियो । हामी आधुनिकतातर्फ अगाडि बढेपनि विगतका कुराहरुलाई चटक्कै छोड्न सक्दैनौँ र छोड्नु पनि हुँदैन । समयचक्रले हरेक कुरालाई विस्थापन र प्रतिस्थापन गरिरहेको हुन्छ । समय, काल र परिस्थिति सधैँ समान हुँदैन । त्यसमा युग परिवर्तनलाई पनि हेर्ने गरिएको छ । हिन्दु धर्म अनुसार सत्य, द्वापर र त्रेतायुगपछि अहिले कलियुग आएको छ । ती चारै युग मानिसकै लागि बनेको हो । युग परिवर्तन काल्पनिक कुरा भएपनि मानव जगतले अनुकुलता र प्रतिकुलता दुवै अबस्थाको सामना गर्न सक्नु पर्छ र गर्दै आएको पनि छ । कोरोनाले निम्त्याएको संकटकालले धेरै कुरा सिकाएको छ र याद पनि दिलाएको छ । हामीलाई हाम्रो बाजेको संझना आएजस्तै हाम्रा नाति पनातिहरुले पनि हामीले भोगेको भोगाइ र अहिलेको कोरोना संकटलाई त्यसरी नै संझिने छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : १४ बजे