१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

धेरै मानिस सकारात्मक हुन सकेको देखिँदैन । किन ?


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

20200218_183913

रामचन्द्र उप्रेती,

समाजमा अलि अगुवाको भूमिकामा भएका कसै प्रति पनि धेरै मानिस सकारात्मक हुन सकेको देखिँदैन । किन ? अलि अगुवा भूमिकामा भएका कसैले केही राम्रो काम गरेछन् भने पनि समाजले शंकाको नजरले हेर्छ । केही पाए होला अनि त गरे । यस्तो भावना समाजमा व्याप्त किन भयो ? केही हात लागी नभइकन काम गर्ने मानिसको खडेरी परेकै हो ?

यहाँ केही हँुदैन । यहाँ गर्न लायक कुनै काम छैन । यहाँ केही राम्रो छैन, केही हँुदैन । यो समाजमा कोही राम्रो मान्छे छैनन् । देशमा कोही राम्रो नेता छैनन् । यहाँ कुनै राम्रो कर्मचारी छैनन् । धेरैको मनमा यस्तो भावना हुन्छ । कसैले व्यक्त गर्छन् र कसैले गर्दैनन् । तर, निरासा जताततै छ । किन ? यहाँ राम्रो केही भएकै छैन । हरेक दिन यहाँ भ्रष्टचार मात्रै हुन्छ । खराब मात्रै हुन्छ । यहाँ सबै लुट्नमात्रै जान्दछन् । यहाँ कोही आउँछन् भने ती लुट्न मात्रै आउँछन् ।
राम्रो खोइ के भएको छ ? सबै खराबै खराब मात्रै त छ । लुटतन्त्र, ठगी, भ्रष्टाचार, जताततै भत्केको–बिग्रेको मात्रै छ । जताततै फोहर छ, दुर्गन्ध छ । दुर्घटना, बलत्कार, सामाजिक असुरक्षा, महँगी आदिले समाज आक्रान्त छ । राजनीतिक नेताका स्वार्थ, झगडा, गुटउपगुट आदिले आम मानिसलाई निरास बनाएको छ । महन्त, साधुसन्त, उच्च ओहदाका मानिसमा नैतिक पतनको शृङ्खला जारी छ– आदि–इत्यादि ।

माथि लेखिएका कुरा समाजमा जताततै सुन्न, हेर्न पाइन्छ । यस्तै–यस्तै कुराको चर्चा हुने गर्छ । के भएको यस्तै मात्रै हो त ? राम्रो केही भएकै छैन ? यदि समाजमा माथि लेखिए जस्तो नराम्रै–नराम्रो मात्रै भएको भए समाज भयंकर निराशा र अराजकतामा फसिसकेको हुने थियो । जताततै लुटपाट, अराजकता, कोलाहलको अवस्था हुने थियो । तर, त्यस्तै त भएको छैन । किन यति निराशा छ त समाजमा ?

समाजमा कस्ता घटना, विचार र समाचार तेज गतिमा दौडिन्छन् ? आम मानिसको चासो कस्ता समाचार र घटनामा बढी हुन्छ ? यसबारेमा हामीले कहिल्यै गहिरिएर सोचेका छौं ? बजारमा चोर समातेको, कुटेको देखिएमा रमिता हेर्नेको घुइँचो हुन्छ । तर, उसले किन चोर्न पुग्यो ? नकुटेको भए हुँदैनथ्यो ? भनेर कमैले सोधी–खोजी गर्छन् । मानौं कुनै पत्रिकामा दुईवटा फोटोसहितको समाचार छापिएको रहेछ । एउटा कसैले भ्रष्टाचार गरेको र अर्को कसैले पुरस्कार पाएको । पाठकको नजरमा पहिला कुन समाचार पर्छ ? कुन पहिला पढिन्छ ? यो कमैले सोचेका छौं । पुल भत्केको समाचार पनि छ र पुल बनेको समाचार पनि छ कुन पहिला पढिन्छ ? नेतालाई मोसो दलेको समाचार पनि छ र नेताको अभिनन्दन गरेको र माला लगाएको समाचार पनि छ । कुन पहिला पढिन्छ ? विद्यार्थीले स्कूल कलेजमा ताला लगाएको समाचार पनि छ र सृजनात्मक कार्य गरेको समाचार पनि छ । पहिला कुन पढिन्छ ? यस्तै यस्तै ।

समाजमा पाठकको रुची अनुसारका सूचना सम्प्रेशण गर्ने चलन छ । अझ सामाजिक सञ्जालमा लाइक धेरै पाउन, भिउबर बढाउन उटपट्याङ समाचार र घटना पोष्ट गर्ने चलन धेरै छ । राष्ट्रिय स्तरका समाचार गृहले समेत आलोचनात्मक र नकारात्मक समाचार नै पहिला पस्कने गरेको पाइन्छ । यसको कारण पाठकको रुचीलाई सम्बोधन गर्नु र धेरै पाठक, श्रोता, दर्शकको मन खिच्नु हो । यसका लागि सबैभन्दा पहिला कुनै पनि निकायको संस्थापनको विरोध पहिलो मसला बन्ने गरेको छ । घरमा छोराछोरीले बाबुआमाको बिरोध गर्ने, गुनासो गर्ने, कार्यालयमा हाकिमको, संघ–संस्थामा समितिको, वडामा वडाध्यक्ष र सदस्यको, स्थानीय तहमा पालिकाका प्रमुख उपप्रमुखको, प्रदेशमा प्रदेश सदस्य, मन्त्री र मुख्य मन्त्रीको, केन्द्रमा केन्द्रीय सरकारको ।

सबैभन्दा सजिलो काम अरुको गल्ति देखाउनु हो, अरुको विरोध गर्नु हो । विरोध धेरै सुनिन्छ, पढिन्छ र हेरिन्छ । हाम्रो समाजमा त्यो मानिस नेता भयो जसले चर्को स्वरमा अरुको धेरै विरोध गरेको छ । राजनीतिक पार्टीमा तिनै मानिसको प्रगति धेरै भयो जसले इमान्दार प्रयासमाभन्दा छलछाम् र षडयन्त्रलाई अपनाए । जसले धेरै पैसा खर्च गर्न सके तिनले चुनाव जितेर वैधानिक नेता भए । पालिका र वडा–वडामा बन्ने उपभोक्ता समितिमा बस्न दलभित्र झगडा हुने गरेको घटना सामान्य भए । यो राजनीतिक अवस्थाको कारण आम मानिसमा निराशा थपिन पुग्यो ।

राणा शासनको समय र पञ्चायतकालमा सत्ताको विरोध राजनीतिक कामको केन्द्र थियो । बहुदल आएपछि सबै समस्याको समाधान हुन्छ भन्ने भ्रम व्याप्त थियो । बहुदल आएपछि आपूm सम्बद्ध दलको सरकार भएपछि मात्रै समस्याको समाधान हुन्छ भनियो र दल बलियो बनाउने र सरकार बनाउने काममा लाग्नु राजनीतिक कामको केन्द्र बन्न पुग्यो । यसका लागि एकले अर्कोदल र नेतालाई सक्दो विरोध गर्ने संस्कार बन्न पुग्यो । यही कामका लागि तत्कालिन विद्रोही शक्ति माओवादीले संस्थापन पक्षको बिरोध मात्रै गरेन हिंसात्मक विद्रोह नै ग¥यो । यसले पनि समाजमा बिरोधको संस्कारलाई नै बल पुग्यो ।

नेपाली समाजले अपनाएको राजनीतिक व्यवस्था भनेको बहुदलीय व्यवस्था हो । यसको मूल चरित्र प्रतिद्वन्द्वी राजनीतिक शक्तिको विरोध नै हो । यसको अर्को विशेषता भनेको खुला समाज हो । खुला समाजमा अभिव्यक्ति स्वत्वन्त्रता हुन्छ । यसलाई खुम्चाउन, कुण्ठित गर्न पाइँदैन । त्यसैले यहाँ सबैले सबैथोक बोल्न, लेख्न, सुन्नसुनाउन पाउँछन् । प्रविधिको विकासले यसलाई अभैm धेरै फराकिलो पारिदिएको छ, सबैको पहुँचमा पुगेको छ । अब कुनै घटना, विचार, क्रिया, प्रतिक्रिया सिमित हुँदैनन्, नियन्त्रित हुँदैनन् । ती सबैका लागि खुल्ला छन् ।

हामी अगाडि पर्दा नमस्कार गर्ने, माया गरेको देखाउने, प्रशंसा गर्ने तर पछाडि तिनै मानिसको उछित्तो काड्ने समाज र संस्कारमा छौं भन्दा अत्युक्ति हँुदैन । यस्तो कुरा राजनीतिक तथा सामाजिक व्यक्तित्वको धेरै गरिएला, तर घरकै र परिवारकै मानिसको समेत आलोचना गरेर आनन्द मान्ने समय र समाजमा छौं । माथि नै भनियो अर्काले गरेको कामको कमजोरी देखाउन र आलोचना गर्न एकदमै सजिलो काम हो । तर, अरुले गरेको नराम्रो देख्नेले तिनको आधाको आधा काम पनि राम्ररी गर्ने क्षमता राख्दैनन् ।

कुनै पनि संस्थापनको विरोध गर्ने शैलीमा धेरै समानता छ । संस्थापनले गरेका राम्रा कुराको कुनै चर्चा नगर्ने र गर्न बाँकी रहेका कुराको चर्चा गर्दा नै पुग्छ । अझ मिलाएर बोल्न सक्ने, चर्का कुरा गर्ने, आक्रमक बन्ने, संस्थापनले गरिरहेको काममा अवरोध गर्ने, व्यवधान खडा गर्ने मानिस चाडै चर्चाको शिखरमा पुग्छन् । हो त, कुरा त ठिकै गरो नि, भन्न त सकिन्छ, तर त्यही काम वा त्यस्तै काम विरोध गरेर चर्चा कमाएको मानिसलाई जिम्मा दिँदा त्यसले अपेक्षित नतिजा दिएका उदाहरण धेरै पाइँदैन ।

अहिले सामाजिक सत्तादेखि राजकीय सत्तासम्मका हर्ताकर्ता बनेका धेरै मानिस विगतमा अरुको विरोध गरेर चिनिएका मानिसको हातमा छ । समाजमा भएका बाँकी अगुवाहरुको पनि पृष्ठभूमि यस्तै नै हो । सारमा भन्दा लामो समयसम्म विरोधको भूमिकामा रहेकाहरु अहिले संस्थापनमा छन् । संस्थापन इतर जो छन् ती पनि विरोधको चेतबाटै प्रशिक्षित छन् ।

विरोध गरेर नेता भएकाहरु समाजिक तथा राजनीतिक सत्ताको संस्थापन र विरोधको चेत भएकाहरु नै खबरदारी गर्ने स्थानमा भएकाले हुनुपर्छ गर्नुपर्नेले पनि भने जति गर्न सकेका छैनन् । जति गरेका छन् त्यो पनि देख्नेले देख्दैनन् । भएको नदेख्ने र जे भएको छैन, हुन बाँकी छ त्यो मात्रै देख्ने चलन छ । अझ सार्वजनिक सूचना माध्यम र सामाजिक सञ्जालमा पाठक, श्रोता र दर्शकको ध्यान आकर्षित गर्ने गरी सस्ता सामग्रि पस्कने चेतले राम्रो केही भएकै छैन भन्ने भ्रम बेस्सरी परेको छ ।

केही दिन पहिले डुइङ बिजनेसमा नेपाल गत वर्षभन्दा १७ अङ्कले माथि उक्लिएको सूचनालाई हाम्रा मिडियाले उडाउनु उडाए । त्यस्तै नेपालमा भ्रष्टाचार घटेको भन्ने सूचनालाई कान्तिपुर जस्तो मिडियाले प्रशासनमा भ्रष्टाचार उस्तै भन्ने शीर्षक दिएर समाचार बनायो । केही दिन अगाडि एउटा स्थानिय पत्रिकाले ‘ओमशान्तिका दिदीहरु जेलमा’ भनेर समाचार लेख्यो । वास्तविकतामा चाहिँ ओमशान्तिका दिदीहरु जेलमा भएका कैदीबन्दीलाई राखी बाँध्न जेलमा पुगेका रहेछन् । यसरी सकारात्मक कामलाई पनि नकारात्मक शीर्षक दिएर पाठकको ध्यान तान्नु हाम्रो मिडियाको चरित्र बनेको छ ।
तिनै तहका कुनै पनि सरकारले राम्रो गरेको समाचार सुनाउने, देखाउने आँट हत्तपत्त कुनै मिडियाले गर्दैनन् । गरिहालेछन् भने तिनलाई आरोप लाग्ने छ यिनले पैसा खाएर लेखेछन् । पाठकले शिर्षकभन्दा बढी पढ्ने छैनन् । टिभिका दर्शकले च्यानल बदल्ने छन् ।

फेरि सत्य के हो भने राम्रो जे भइरहेको छ त्यो समाचार होइन । जहाँ नराम्रो भएको छ त्यो मात्रै समाचार हो । जस्तै हरेक दिन लाखौ सवारीसाधन गन्तव्यमा पुग्छन् त्यो समाचार होइन । जुन पुग्दैन त्यो मात्रै समाचार हो । हरेक दिन दशांै हजार वित्तीय संस्थाले लाखौलाई सेवा दिइरहेका हुन्छन् । त्यो समाचार होइन जसले पैसा फिर्ता गर्न सकेन त्यो मात्रै समाचार हो । हरेक दिन दशौं हजार स्थानमा विकास निर्माणका काम भइरहेका छन् ती समाचार होइनन् जहाँको रोकियो र लामो समय काम भएन त्यो मात्रै समाचार हो, यस्तै–यस्तै । आफ्नो आँङको भैंसी नदेख्ने अर्काको आङ्को जुम्रो देख्ने भन्ने उखानको अर्थ बल्ल बुभेंm जस्तो लाग्छ । कुनै बहुलाले सडकमा गाउँमा अगुवाको विरोध गर्दै, तथानाम गालि गर्दै हिँडेछ भने ठीकै त भनो नि भन्ने समाज छ, तर कुनै सज्जनले चिया पसलमा बसेर फलानाले राम्रो गरेको छ भन्यो भने त्यसलाई फलानाको हनुमान भएको बिल्ला लागि हाल्छ ।

यति धेरै बिरोध र चर्को आलोचनाका बाबजुज समाज अगाडि बढिरहेको छ । देशमा केही हँुदैछ । दुई वर्ष, पाँच वर्ष, दश वर्ष, बीस वर्षअघिका तथ्याङ्क केलाएर हेरौं, समाजको स्तर अवस्थालाई हेरौं । तुलना गरौं समाज मिडियाले देखाए जस्तो निरासा र भद्रगोलको अवस्थामा छैन । विकास र सभ्यताको उकाली चढन सजिलो छैन । चुपचाप कर्म गर्नेहरुका कारण समाज अगाडि नै बढेको छ । विरोध गर्नेहरुको कारण कर्म गर्नेलाई सतर्क गराउँछ र गल्तीको संख्या कम हुन्छ । गल्ती विरोध गर्नेहरुले होइन कर्म गर्नेहरुबाट हुन्छ । त्यसैले विरोध र प्रगति एकअर्काका पुरक हुन् । विरोध देखेर न आत्तिन जरुरी छ न निराश हुन ।

समाजले सभ्यताको सिढि उक्लिँदै जाँदा नकारात्मक सोच र विरोध कम हुने अनुमान गर्न सकिन्छ । सकारात्मक सोच भएकाहरु अहिले पनि नकारात्मक सोच र विरोधलाई रुचीका साथ ग्रहण गर्दैनन् । सबै विरोध गल्ती गर्नेहरुलाई सुधार्ने नियतका सकारात्मक पनि हँुदैनन् । जुन विरोध मात्र विरोधका लागि र लोकप्रिय बन्नका लागि गरिन्छ त्यो साह्रै सस्तो कस्मेटिक समान जस्तो हो । जसले शुरुमा राम्रो लागे पनि अन्ततः हानी–नोक्सानी नै बढी गर्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ५६ बजे