१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

८० बर्ष कटेका जेष्ठहरूलाई दमकमा सम्मान


१६ पुस २०७६, बुधबार  

0
Shares

794707715198fa8b40ed1d5184469c21.0

दमक १६, पुस / झापाको कमल गाँउपालिका ६ स्थित चुलोङ टोलमा बुधबार स्थानीय ७ जना ज्येष्ठहरुलाई सम्मान गरिएको छ । इमानसिंह चेम्जोङ्ग स्मृति प्रतिष्ठान कमल ५ ले आज इतिहासकार स्व. इमानसिंह चेम्जोङको ११७ औ जन्मजयन्तीका अवसर पारेर ८० वर्ष माथिका तीन महिलासहित ७ जनालाई सम्मान गरिएको प्रतिष्ठानका सचिव उमेश तुम्रोकले जानकारी दिए । प्रतिष्ठान चार महिना अघि मात्र विधानत दर्ता भएको थियो ।

कमल ५ का वडाध्यक्ष डम्बरवहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ८८ बर्षिय कुमार चेम्जोङ ,८६ बर्षिय छविलाल सम्बाहाम्फे,८४ बर्षिय पूर्णकुमार तुम्रोक,८७ बर्षिया रनमाया सम्बाहाम्फे,८६ बर्षिया नरमाया चोङबाङ्ग,८४ बर्षिय गबान सम्बाहाम्फे र ८२ बर्षिया फूलमाया माङमुलाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ज्येष्ठलाई नगद जनही रु ५ सय भने स्थानीय युवा आइतहाङ सम्बाहाम्फेले उपलव्ध गराएका थिए ।

कार्यक्रममा वक्ताहरुले इतिहासकार स्व.चेम्जोङ्गको भाषा,लिपी लगायतका क्षेत्रमा पुरयाँएको योगदानका बारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष निरौलाले इतिहासकार चेम्जोङ्गले लिम्बु समुदाय मात्र नभएर नेपाली समाज विकासका लागि अमूल्य योगदान पुरयाँएको उल्लेख गरेका थिए । स्व.चेम्जोङ्गको योगदानलाई उजागर गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानलाई स्थानीय सरकारबाट सदैव सहयोग पुरयाँउने वडाध्यक्ष निरौलाले प्रतिवद्धता जनाएका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद तुम्रोकले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशिष्ट अतिथीका रुपमा थाकथाकु माबोहाङ चेम्जोङ्ग वंश उत्थान संघका केन्द्रीय महासचिव जितेन्द्र राज चेम्जोङ्गले स्व. चेम्जोङ्गको योगदान कुनै जाति,समुदाय विशेषको नहुने भन्दै राज्यले उतिकै सम्मान गर्नुपर्ने औल्याए । त्यस्तै प्रतिठानका अध्यक्ष वीरवहादुर चेम्जोङ्गले इतिहासकार स्व. इमानसिंहको जीवनीमाथि प्रकाश पार्नुका साथै प्रतिष्ठानको भावी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्ग दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ्ग, कमल ५ का वडासदस्य निहाङ्ग लावती, सामाजिक अगुवा एमपी चेम्जोङ्ग लगायतको उपस्थिति रहेको थियो ।

१ जनवरी १९०४ मा जन्मिएका इमानसिंहको १९७८ अक्टोवर ८ मा भारतको दार्जिलिङ्गमा निधन भएको थियो । पाँचथरको वसागुबाट कालेम्पोङको रिङकेबुङ बसाइँ गएका मेघवरसिंह र दावापुहाङ्मा चेम्जोङका सन्तान उनले लिम्बू जातिका मुन्धुम (सामाजिक इतिहास ), इतिहास, भाषा, संस्कृति र संस्कार र दर्शन सम्बन्धी १४ वटा पुस्तक प्रकाशनमा ल्याएका थिए ।याए । उनले १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्यालयमा किरात इतिहास तथा संस्कृतिविद्का रूपमा काम गरेका थिए । त्यस्तै २०५५ सालमा तत्कालीन सरकारले चेम्जोङको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउनुका साथै उनको जीवनी कक्षा १० को नेपाली पुस्तकमा समावेश गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ३२ बजे